सप्तकोशीको कटान रोक्न भारतसँग सहमति गरेर अघि बढ्ने गृहमन्त्रीकाे प्रतिवद्धता – Nepal Press

सप्तकोशीको कटान रोक्न भारतसँग सहमति गरेर अघि बढ्ने गृहमन्त्रीकाे प्रतिवद्धता

उदयपुर । गृहमन्त्री रमेश लेखकले उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । मंगलवार अनुगमन गर्दै उनले सप्तकोशी नदीको कटान स्थायी रुपमा रोक्न मित्रराष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

गृहमन्त्री लेखकले मंगलबार नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँज र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरेका हुन् ।

स्थलगत अनुगमनका क्रममा उनले भने, ‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालिन योजनासहित सरकारले कदम चाल्छ ।’

तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भए पनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो ।

तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि तीन किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको गृहमन्त्री रमेश लेखकले बताए ।

अनुगमनमा नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नं १ का सांसद डा.नारायण खड्काले समेत कटान क्षेत्रको अनुगमन गरेका थिए ।

वर्षेनी सप्तकाशीको बाढीले तटीय क्षेत्रमा कटान गर्दैआएको छ । कटानका कारण यहाँ सयौँ परिवार विस्थापित भएका बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताए ।

उनले भने, ‘तत्काल उच्च जोखिम रहेको तीन किलोमिटर क्षेत्रमा यसै वर्षदेखि अस्थायीरुपमा भए पनि तटबन्धको योजना अघि बढाउन गृहमन्त्री लेखकमार्फत सरकारको ध्यानाकर्षण गराएका छौँ ।’

गृहमन्त्री लेखकले मंगलबार नै सप्तकोशी नदी कटानको अवलोकनपछि त्रियुगा नदीको कटान क्षेत्रको अनुगमन गर्नुभएको सांसद डा.खड्काले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर