प्रेम परियार: दिनभर समाजशास्त्रको शिक्षक, बिहानसाँझ उध्रेका कपडाको सूचिकार – Nepal Press

प्रेम परियार: दिनभर समाजशास्त्रको शिक्षक, बिहानसाँझ उध्रेका कपडाको सूचिकार

‘विदेश हापेर यो पेशा गरेको हुँ, रुढिवादी समाजमा अशुभ मानिएको अफ्ठेरो कामबाट कमाउन सकिन्छ भन्ने सन्देश दिने अभियान हो’

रुपन्देही । दिनभर विद्यालयमा अध्यापन गर्ने शिक्षकले साँझबिहान अरुका उध्रेका कपडा सिलाएर बसेको र त्यसैलाई व्यवसायिक रुपमा अगाडि बढाएको धेरैलाई विश्वास नलाग्नसक्छ ।

तर, बुटवलमा दिनभर विद्यालयमा अध्यापन गर्ने एक युवकले गलत संस्कार रहेको पसलमा उध्रेका कपडा सिलाए अशुभ हुन्छ भन्ने भ्रम तोडेर यसबाट बलियो आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं.५ फोक्सिङ्, लितुङमा स्थायी घर भएका २९ वर्षीय प्रेम परियारले दिनभर बुटवलस्थित दीप बोर्डिङ स्कुलमा अध्यापन गर्छन् भने, बाँकी समयमा उध्रेका कपडा सिलाएर बस्ने नयाँ पसल संचालन गरेका छन् ।

अहिले तिलोत्तमा ३ योगीकुटीमा रहेको उनको यो पसलमा सानो काम लिएर गएपनि भीडभाड हुन थालेको छ । उनले पसलको नाम नै ‘उध्रेको टेलर्स’ राखेका छन् ।

गाउँमा हजुरबुवाको पालादेखि नै कपडा सिलाउने काम भएकाले यो काम उनले सानैमा सिकेका थिए तर, त्यो व्यवसायिक थिएन अहिले उनले यसलाई व्यवसायिक रुपमै अगाडि बढाएका छन् ।

अझै रोचक कुरा त धेरै सिलाई व्यवसायीहरुले उध्रेको कपडा सिलाए अशुभ हुन्छ भनेर यसबाट आफ्ना नियमित ग्राहकहरुको पनि मन दुखाइरहेका हुन्छन् भने आफ्नो पनि राम्रो आम्दानी हुने बाटो गुमाइरहेका हुन्छन् ।

‘उध्रेको कपडा सिलाएर राम्रो आम्दानी हुन्छ नि, यस्तोमा नि के शुभ र अशुभ हुन्छ ? गलत संस्कारको सोच हो । सेवाग्राहीको सेवा नि भयो, उध्रेको कपडा बनाउँदा नगद रकम आउँछ । तर त्यो भ्रम चिर्न यस्तो काम गरेको हुँ ।’ उनले भने–‘अहिलेसम्म मैले दिउँसोमा भान्जीलाई राखेर चलाएको छु दिनभर म पठाउन जान्छु, अब गाउँबाट बुवाआमा ल्याएर यसलाई थप व्यवस्थित रुपमा चलाउँछु ।पुर्खाैली पेशलाई पनि व्यवसायिक बनाएर चलाए चल्नसक्दो रहेछ, कमाई राम्रो हुने रहेछ, निराश भएर मात्रै हुँदैन ।’

त्यसबाट उपभोक्ताले पनि कपडामा भएको सानो समस्याका कारण अर्को किनेर त्यसलाई त्यसै थन्काएर राख्न बाध्य भएका हुन्छन् । समाजशास्त्रको विद्यार्थी भएकाले प्रेमले यो सबै विषयलाई ध्यानमा राखेर यस्तो पसल संचालनमा ल्याएको बताउँछन् ।

‘मेरो पुर्खादेखि नै सिलाउने काम गर्दै आउनुभएको छ, म दिनभर पढाउँछु, साँझबिहान यस्तो पेशा चलाएको छु जसले मलाई निकै सन्तुष्ट दिलाएको छ, आर्थिक रुपमा राम्रो सहयोग भएको छ’ उनले भने–‘टेलर्स चलाएका धेरै साथीहरुले यस्तो पुरानो कपडा सिलाए अशुभ हुन्छ भन्ने गलत सस्कार बोकेर आम्दानीको बाटो गुमाएका छन्, ग्राहकलाई चित्त दुखाएका छन् र बजारमा उनीहरुले अर्को कपडा किन्नुपरेको छ, अनावश्यक खर्च थपिएको छ, त्यो सबै चिर्नका लागि मैले यो अभियान थालेको हुँ ।’

काम गर्दै पढ्दै गरेका प्रेमले पढाईलाई पनि निरन्तरता राखेका छन् । मानविकी संकायअन्तर्गत समाजशास्त्रबाट एमए प्रथम वर्ष र एललबी दोस्रो वर्षमा अध्यनरत छन् उनी ।

एक दिदी दुई दाइमध्ये सबैको बिहे भएपनि उनको भने भएको छैन । परिवारमा माइलो दाले बाहेक सबैले सिलाई व्यवसाय नै गरेका छन् । तर उनले जस्तो यस्तो उद्रेको, फाटेका कपडा सिलाएर भने कोही पनि बसेका छैनन् । प्लस टु गाउँमा पढेका प्रेम त्यसपछिको अध्ययन र रोजगारी खोज्न शहर पसेका हुन् ।

अहिले पनि मुख्य पेशा शिक्षण रहेका उनले बुटवलको दीप बोर्डिङ्गमा कक्षा ८ र ९ का विद्यार्थीलाई सामाजिक विषय अध्यापन गर्छन् । २०७० सालको एसएलसीमा गाउँकै जनकल्याण माविबाट प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि सोही विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका प्रेमले बुटवल बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्र र अर्थशास्त्र विषयमा स्नातक गरेका हुन् ।

थप उच्चशिक्षाका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट समाजशास्त्रमा तेस्रो सेमेष्टर पूरा गरेपनि स्नातकोत्तरको पढाइ पूरा गर्न भ्याएनन् । अहिले बुटवल बहुमुखी क्याम्पसमा समाजशास्त्र विषयमा नै भर्ना भएका छन् । पढाइ उनको रुचिको विषय हो र साहित्यमा पनि उत्तिकै लगाव राख्छन् ।

तर, आर्थिक स्रोत जुटाउनका लागि र परिवारलाई व्यवस्थित बनाउनका लागि उनले यो व्यवसाय थालेको बताउँछन् । ‘मलाई विदेश जाने रहर थियो, प्रयास पनि गरेँ तर अब सबै छाडेर पढाउने र यही पेशालाई स्थायी बनाएर बस्ने निधो गरेँ, अब विदेश जाँदैन ।’ प्रेमले भने ।

दिउँसो पढाउने साँझ,विहान आफ्नै टेलर्समा समय,श्रम र सीप खन्याउँदा निकै आनन्द भएको उनले सुनाउँछन् । ‘उध्रेको सिलाउने काम । फिटिङ गराउने । टाँक हाल्नेदेखि पुराना कपडा टाल्ने । भद्दा कपडालाई घटाउनेदेखि साना लुगामा मान्छेलाई अटाउन हाल्ने काममा राम्रो आम्दानी हुने रहेछ’ उनले भने–‘यसका सेवाग्राही पनि धेरै रहेछन्, यो काम धेरैले नगर्दा धेरैको अफ्ठेरो टरेको पाएँ, आर्थिक रुपमा उनीहरुलाई पनि धेरै सहज भएको पाएँ ।’

प्रेमले सहरमा उध्रेको लुगा सिलाउने ठाउँ नदेखिपछि यस्तो टेलर्सको कन्सेप्ट तयार गरेर केही समय सोही विषयमा अध्ययन गरेपछि उध्रेको टेलर्स खोलेको बताउँछन् । सुरुवाती महिनामा राम्रो आम्दानी भएपछि चार हजार पाँच सय रुपैयाँको घर भाडा तिर्न उनलाई सहज भयो र त्यसपछि आत्मविश्वास बढेको हो ।

प्रेमले भने –‘विदेश जान धेरैपटक खुट्टा उचालेको मान्छे हुँ, अब यो काम थालेपछि विदेश जानु परेन, अब यसैलाई ब्राण्ड बनाउँछु, होम डेलिभरी सुरु गरेको छु, राम्रो आम्दानी छ ।’

यसको राम्रो प्रचारप्रसार भएमा नयाँ लुगा सिलाउने दाँजोमा कमाउन सक्ने उनको बुझाई छ । ‘टेलर्सका सूचीकारले उध्रिएको कपडा विहानै ल्याएमा अशुभ मान्छन् र दिनभर फाटेकै लुगा सिउनुपर्ने र आम्दानी उचित नहुने भएकाले उध्रेका लुगा सिलाउँदैनन्’– प्रेमले भने–‘अब ती पुरातन कुरा मानेर व्यवसाय चल्दैन, कमाउनका लागि खुला हुनुपर्दछ ।’

उनका बाबाआमाले टेलर्स चलाउँदाका तीतो अनुभव त्यस्तो रहेछ । उध्रेको लुगा सिलाउने कामलाई तल्लोस्तरको काम र अशुभ सोच्नेहरुलाई “उध्रेको टेलर्स“ खोलेर च्यालेन्ज दिएको पुरानो तर नयाँ सोचका साथ काम गर्ने शैली देखेर धेरैलाई अचम्म लाग्नेगरेको उनको भनाइ छ ।
न्यूतम १० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म सर्ट,पाईन्ट,कोट उध्रेमा सिलाएको ज्याला लिने प्रेमले बताए ।

उध्रेको सिलाएरमात्र आफ्नो टेलर्स चल्छ वा बन्द हुने हो ? प्रेमलाई ठूलो चुनौती छ । तर पछिल्लो अनुभवले उनलाई उत्साह थपेर गाउँबाट बुवाआमालाई बोलाइसकेका छन् । ‘गाउँबाट बुवाआमा १८ गते नै आउने कुरा छ, उहाँहरु आएपछि पसल थप व्यवस्थित हुनेछ, मैले पनि पढाउने, पढ्ने कामलाई निरन्तरता दिनेछु, यो पसलमा पनि समय दिनेछु ।’ उनले भने ।

दुई दाजु र एउटी दिदीकी कान्छो भाइ प्रेम, पढ्न र बोल्न खुबै जानेका छन् । उनका बाबा सहनाई बजाउन माहिर छन् । गाउँमै लुगा सिलाएर आफ्नै पौरखमा बाँचेका उनका बाबाआमालाई सहरमै सुख गरि राख्न प्रेम आफ्नै कर्ममा गतिशील छन् ।

केही समय उनले आफ्नै गाउँपालिकामा कृषि संयोजकका रुपमा करार सेवा पनि गरेका थिए तर यो दीर्घकालीन भएन । यतिबेला आफ्नो पढाइ र पढाउने कामदेखि बाँकी रहेको समय उध्रेको लुगामा नै खर्चिएका छन् । पुख्र्याैली पेसाका रुपमा सिकेको आफ्नो ज्ञान,सीपलाई प्रेमले आधुनिक र प्रतिष्ठित तरिकाले आयआर्जनसँग जोडेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर