ऊनबाट बनेका सामग्रीले बजार पाएनन्
रुकुम । भौगलिक रुपमा विकट रुकुम-पूर्वका कृषकले पूर्खाैँदेखी भेडा बाख्रापालन गर्दै आएका छन ।
जिल्लाको माथिल्लो भेगमा मगर समुदायको बाहुल्यता छ । यी समुदायका नागरिकले भेडाको ऊनबाट विभिन्न सामग्री निर्माण गरेर आम्दानी गर्दै आएका छन् ।
पछिल्लो समय बढ्दो आधुनिकतासँगै ऊनबाट बनेका सामग्रीले बजार नपाउँदा भने राडीपाखी व्यवसाय सङ्कटमा परेको छ । पुथाउत्तरगंगा गाउँपालिका-१० तकसेराकी बिजुली बुढा आफुले थाहा पाउने भएदेखी भेडाको ऊनबाट बन्ने सामाग्री बनाउँदै आएका छन ।
घरमा भेडा बाख्रापालन हुने भएकाले उहाँ सानैबाट धागो कात्ने, राडीपाखी, पटुका, टोपी, पञ्जा, मोजा, गलैँचा, स्वीटर, घुम लगायतका सामाग्री बनाउछन । पहिला यी सामाग्रीले सहजै बजार पाउँथे ।
अहिले उत्पादन भएपनि बिक्री नहुँदा पेशा सङकटमा परेको बिजुली बताउछिन पुथाका अधिकांश ठाउँमा भेडापालन गरिन्छ भने भूमेका चारवटा वडामा पनि भेडाबाख्रा पालन हुँदै आएको छ ।
भेडाका ऊनबाट बनेका सामग्री बनाउने र बिक्री गर्ने गरेका स्थानीयवासीको रोजगारी त्यसैबाट भएको थियो । पछिल्लो समय आधुनिक प्रविधि र आयातित कपडाका कारण परम्परागत रूपमा हरेक घरमा बुनिँदै आएको राडी, पाखी र बख्खु विस्तारै लोप हुन थालेका छन् ।
जिल्लामा यी सामाग्री बुन्न महिला बढी सक्रिय छन् । परम्परागत यो पेशालाई उद्योगको रुपमा स्थापना गर्ने उनीहरुको चाहना छ । यसमा सरकारले सहयोग गर्नुपर्ने पृथा –११ कि सीता बुढा मगरको भनाइ छ । भेडाको रौँबाट ऊन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य कठिन त छँदैछ र त्यसका लागि समय पनि लामो लाग्छ ।
पुराना पुस्ताले गाउँमै बुनिएको कपडाहरू प्रयोग गर्दै आएपनि नयाँ पुस्ताले प्रयोग नगर्ने र पेसा संरक्षणमा पनि चासो नदेखाएको कारण भविष्यमा राडी, पाखी र बख्खुहरू देख्न नपाइने स्थानीयबासीको चिन्ता छ ।