प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- कांग्रेसले तपाईंलाई प्रधानमन्त्री बनाउँदा संवैधानिक हुने, ओलीलाई बनाउँदा असंवैधानिक ?
‘संसद छलेर अघिल्लो वैशाखमा अध्यादेश ल्याउने माओवादी र रास्वपाका सांसदहरुले अहिलेको अध्यादेशको विरोध गर्न नैतिकरुपमा मिल्दैन’


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार अप्राकृतिक र असंवैधानिक ढंगले गठन भएको भन्ने माओवादी अध्यक्ष प्रचण्डको आरोपको खण्डन गरेका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले संविधानको उही धाराबाट कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा संवैधानिक हुने अनि सोही प्रक्रियाबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक भनी प्रश्न गरे ।
शर्माले भने– कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक हुने अनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी अप्राकृतिक भयो ? संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रचण्डलाई कांग्रेसलाई प्रधानमन्त्री बनाउँदा संवैधानिक भयो, अनि सोही धारा को सोही उपधारा बमोजिम ओलीजीलाई बनाउँदा कसरी असंवैधानिक भयो ? सायद उहाँले पछि ब्याख्या गर्नुहोला । तर उहाँको आवेगात्मक अभिव्यक्ति हो यो ।
महामन्त्री शर्माले अध्यादेशको सन्दर्भमा पनि प्रचण्डदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले दोहोरो चरित्र देखाएको बताए । अघिल्लो वर्ष वैशाखमा लगानी सहजीकरण अध्यादेश प्रचण्डको नेतृत्वको सरकारले ल्याउँदा विपक्षमा रहेको कांग्रेसले विरोध नगरेको स्मरण उनले गराए ।
त्यसबेला संसद अधिवेशन भन्दा ६ दिन पहिले अध्यादेश ल्याउने नयाँ र पुराना दलले नै अहिले चोर बाटोबाट अध्यादेश ल्याएको भन्नु दोहोरो चरित्र रहेको उनको भनाइ थियो ।
संसदमा बोलिने आवेगात्मक शैलीले नागरिकको भरोसामा असर पर्यो । विधायकी क्रममा योग्यता प्रस्तुत गरेनौ प्रधानमन्त्री र सरकार बनाउन मात्रै भयो संसद भयो । बिधेयक पारित गर्ने काम संसदले गर्न सकेन । भ्रष्टाचार निवारण ऐन २०७६ मा पेश भएर अहिलेसम्म किन आएन ? आजको प्रमुख प्रतिपक्षलाई दुधले नुहाइदिउ भनेको संसदमा आएदेखि सधै सरकारमा ।
भ्रष्टाचार, शिक्षा, अख्तियार, कर्मचारी विधेयक अहिलेको संसदबाट टुग्याएर अघि बढ्नुपर्छ । दोहोरो मापदण्डको दायरा पनि भत्काउनुपर्छ । बर्तमान सरकार असंवैधानिक तर यस अघिको सरकार कसरी संवैधानिक ? काँग्रेस र माओवादी मिल्दा प्राकृतिक अहिले एमाले काँग्रेस मिल्दा कसरी अप्राकृतिक ? यो परिस्थितिको आवश्यकता हो । हामीले अहिलेको सरकार प्राकृतिक भएको भनेर दाबा गरिरहेका छैनौ । के संवैधानिक पनि छैन र ?
संविधानको व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बन्दा संवैधानिक अनि त्यसै संवैधानिक व्यवस्थाले केपी शर्मा ओली प्रधानमन्त्री बन्दा कसरी असंवैधानिक ? प्रमुख प्रतिपक्ष दलको नेता ज्यूले अध्यादेश चोर बाटोबाट आयो भन्नुभयो, संविधान अध्ययन नगरेर कसरी बोल्नुभयो भनेर भन्न सकिदैन । काँग्रेसले हिजो अध्यादेशको बिरोध गर्यो अहिले किन गरेन् पनि भन्न थालियो ।
काँग्रेसले विषय र केन्द्रलाई राखेर मात्रै धारणा बनाउँछ । यस अघि संवैधानिक परिषद्को मर्म भत्काउनेगरी आएको अध्यादेशमा बिरोध जनाएको हो । प्रतिपक्षमा हुदाँ पनि सघाएको सम्झना छ । अध्यादेश आफुले ल्याउदाँ मुल बाटो तर अरुले ल्याउँदा चाहिँ चोर बाटो कसरी ? यसैले आएका अध्यादेश स्वीकृत गरेर जानुपर्छ ।
अघिल्लो सरकारले सामाजिक सञ्जाल निर्देशिका सल्लाह नै नगरेर ल्यायो । अहिलेको सरकारले पनि विधेयक सल्लाह नगरेरै ल्याएको छ । अभिव्यक्ति स्वतन्त्रता हनन हुनेगरी विधेयक पारित गर्ने विषयमा हामी कोहि कसैले स्विकार गर्दैन । अध्यादेश हुदैँमा गलत हुदैँन विधेयक हुदैँमा सही हुँदैन ।
सामाजिक सञ्जाललाई नियमन गरौ नियन्त्रण होइन । जातीय विभेद जस्तो गम्भिर विषय जुन बेला आउँछ, त्यो बेला सामाजिक सञ्जालको प्रस्तोता मात्रै होइन, समाजको कुनै कुनामा बसेको नागरिकलाई पनि राज्यले आवश्यकता अनुसार नियन्त्रणमा ल्याउ । म यो आग्रह गर्न चाहान्छु ।