नियमनका नाममा अंकुश लगाउने सामाजिक सञ्जाल विधेयक स्वीकार्य हुँदैन : एनपी साउद (भिडिओ) – Nepal Press

नियमनका नाममा अंकुश लगाउने सामाजिक सञ्जाल विधेयक स्वीकार्य हुँदैन : एनपी साउद (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियनले मङ्गलवार आयोजना गरेको जिल्ला शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध उभिने बताएका हुन् ।

‘सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी छ । तर, नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन सक्दैन, पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने, ‘पत्रकारका आवाजहरू बन्द गर्ने कदमविरुद्ध हामी पत्रकारका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौँ । प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध हामी उभिनेछौँ ।’

नेता साउदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पत्रकारको भएको पनि बताए ।

‘जनताका मुद्दाहरूलाई राष्ट्रिय मुद्दा बनाउने दायित्व प्रेस हो । पत्रकारले आफ्नो दायित्वलाई बिर्सन हुँदैन,’ उनले भने, ‘पत्रकार र राजनीतिक दलहरूले पैसा लिएका हुँदैनन् । संयमता र विवेक अपनाउन जरुरी छ ।’

नेपाल प्रेस युनियन जिम्मेवार बनेर अन्य संगठनका पत्रकारले पनि सिक्ने अवसर पाउने नेता साउदको भनाइ थियो । ‘सत्ता र सरकारलाई सीमा देखाउन सक्छ,’ उनले भने, ‘समाजलाई मर्यादित बनाउन प्रेस पनि मर्यादित र उत्तरदायी हुन आवश्यक छ ।’

नेता साउदले संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए ।

‘कांग्रेस सरकारमा हुँदा पनि हामीले सात बुँदेको कार्यान्वयन गर्नेबारे र अध्यादेशको विषयमा पनि हामीले प्रश्न गरिरहेका छौँ,’ उनले भने, ‘संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न सक्दैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर