नेपाल बार निर्वाचन- कांग्रेसबाहेकका वकिलहरूको भेला, अध्यक्षमा क-कसले गरे दाबी ? – Nepal Press

नेपाल बार निर्वाचन- कांग्रेसबाहेकका वकिलहरूको भेला, अध्यक्षमा क-कसले गरे दाबी ?

गैरकांग्रेस गठबन्धन बनाउन शम्भु थापा, कृष्णप्रसाद भण्डारी, शतिस खरेल, चण्डेश्वर श्रेष्ठलगायत सक्रिय- रास्वपा समर्थित कानून व्यवसायीसमेत सहमत

काठमाडौं । नेपाल बार एसोसियसनको अर्को महिना हुने निर्वाचनका लागि वामपन्थी पार्टी आवद्ध वकिलहरू एक ठाउँमा उभिएका छन् । हालै सम्पन्न बार काउन्सिल निर्वाचनमा मिलेर लडेका एमालेनिकट पीपीएलए र माओवादीनिकट आरपीएलएसहित अन्य समूहसमेत बार निर्वाचनमा मिलेर जाने भएका छन् ।

विहीबार नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, सय वर्ष उमेर टेक्न लागेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्वपदाधिकारी सतिशकृष्ण खरेलसहितले आयोजना गरेको बार निर्वाचन केन्द्रित भेलामा अध्यक्ष पदका आकांक्षीहरूले आफ्नो उम्मेदवारी समेत पेश गरेका थिए ।

सो भेलामा बार अध्यक्षका लागि पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव रमणकुमार श्रेष्ठ, ईश्वरी भट्टराई, महेश नेपाललगायतले अध्यक्ष पदमा आफने दाबी रहेको बताएका थिए । यीमध्ये श्रेष्ठ माओवादीनिकट हुन् भने अन्य दावेदार एमालेनिकट पीपीएलएमा आबद्ध छन् ।

भेलामा कांग्रेसनिकट डीएलएबाहेक सबै दल आबद्ध र स्वतन्त्र वकिलहरुको सहभागिता थियो । यो निर्वाचनमा सबै मिलेर विगतको गल्ति सच्याउनुपर्ने भेलामो निष्कर्ष रहेको शम्भु थापाले बताए । थापाले भेलामा अघिल्लो निर्वाचनमा गठबन्धन गरेर कांग्रेसलाई अध्यक्ष जिताएकोमा पश्चाताप समेत व्यक्त गर्दै अब उक्त गल्ती नगर्ने बताएका थिए ।

अघिल्लो निर्वाचनमा एमालेबाहेक अन्य दलको गठबन्धन बनेको थियो । जसलाई शम्भु थापालगायतले समर्थन जनाएका थिए । यसपटक वामपन्थीहरू मिलेर बार जित्नुपर्नेमा कसैको विमत्ति नरहेको भेलाका सहभागीले बताए । सो भेलामा रास्वपा समर्थित स्वतन्त्र कानून व्यवसायी संगठनका अध्यक्ष यज्ञमणि न्यौपानेले समेत ऐक्यबद्धता जनाएका थिए ।

नेपाल बारको कार्य समिति निर्वाचनका लागि चैत २१ गते निर्वाचन हुँदैछ । वाम गठबन्धनबाट एमालेले अध्यक्ष र माओवादीले महासचिव लिएर जाने सम्भावना रहेको बताइएको छ । बाँकी पदमा रास्वपा,नेकपा एस,मधेशवादीलगायत सबैलाई समेट्ने तयारी छ ।

नेकपा एसको एसपीएलएका अध्यक्ष डेकेन्द्र सुवेदीबाहेक एउटा पक्ष भने कांग्रेससँग मिलेर जाने पक्षमा छ । यसबीचमा भएका उच्च बार पाटन,सर्बोच्च बार,बार काउन्सिललगायत निर्वाचनमा कांग्रेस र नेकपा एसबीच तालमेल हुँदै आएको छ भने एमाले र माओवादी मिलेर लडेका छन् ।

बार काउन्सिलमा सबैभन्दा धेरै मतदाता रहेको बागमतीबाट एमाले माओवादी गठबन्धनले जितेपछि उनीहरु बारको निर्वाचनका लागि मिलेर जान थप उत्साहित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर