दाङको एक विद्यालयमा समिति गठन विवाद : प्रअ र वडाध्यक्षबीच कुटपिटको आरोप प्रत्यारोप, केही घाइते


रुपन्देही । दाङको घोराही उपमहानगरपालिका वडा नं १४ स्थित शुभ प्रभात माविमा विद्यालय व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदा वडाध्यक्ष र प्रधानध्यापकबीच हात हालाहाल भएको छ ।
दुवै पक्षले एक अर्कामा आरोप प्रत्यारोप लगाएका छन् । प्रअ रुद्र बुढाले वडाध्यक्ष भानसिंह बुढाले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् वडाध्यक्षले प्रअले नै विद्यालयमा गुण्डा बोलाएर आतंक मच्चाएको आरोप लगाएका छन् ।
विद्यालय व्यवस्थापन समितिको गठन गर्न बसेको बैठकमा वडाध्यक्ष बुढाले सुरुमा हात हालेर आफूलाई भुईँमा ढालेर निर्घात कुटपिट गरेको दाबी प्रअले दाबी गरेका छन् । वडाध्यक्षपछि प्रेम बुढा, सुजन बुढा लगायत दश बाह्र जनाले मुक्का र लात्तीले निर्घात कुटपिट गरेको प्रअ बुढाले बताए।
तर वडाध्यक्ष बुढाले प्रधानाध्यापक बुढाले गलत प्रचार गरेको बताएका छन् । ‘विद्यालय व्यवस्थापन समिति गठन गर्दा सबै अभिभावको सहमति भएपछिको निर्णय लेख्न प्रअले मान्नुभएन, मैले लेख्दैन भन्नुभयो, तर त्यहाँ विद्यालयसँग कुनै सम्बन्ध नभएका गुन्डाहरू बोलाइएका रहेछन्, त्यो उहाँले नै बोलाएको हो, मैले कसैलाई छोएकै छैन, विद्यालयमा जाने अभिभावकलाई सोधे हुन्छ, भिडियो पनि होलान् सुरक्षित, अनाहकमा गलत प्रचार भयो’ उनले भने ।
वडाध्यक्ष एमालेबाट निर्वाचित भएका हुन् भने प्रअ पनि एमाले समर्थक नै हुन् । यो विषयलाई लिएर अभिभावहरू पनि बाझिएका छन् । एक पक्षले अर्को पक्षलाई अस्वीकार गरेकाले यस्तो भएको बुझाई उनीहरूको छ ।
यसैबीच अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष गोविन्द मल्ल, अखिल (क्रान्तिकारी) दाङका इन्चार्ज सोमपाल कामी, अखिल (क्रान्तिकारी) दाङका संयोजक इन्दु वली, अखिल छैटौँ ९दाङ० का अध्यक्ष सेवक भट्टराईले संयुक्त वक्तव्य जारी गर्दै कुटपिट घटनाको निन्दा गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी चक्रबहादुर शाहले प्रहरीमा कुनै उजुरी नआएको तर विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद भएको जनाए । ‘हामीकहाँ कुनै उजुरी आएको छैन, विद्यालय व्यवस्थापन समिति गठन गर्दा विवाद भएको रहेछ, आन्तरिक विषय भएकोले उतै मिल्यो कि’ उनले भने ।