थाहानगरमा हावाहुरीको वितण्डा : तरकारी बारी, घर र विद्युतीय पोलमा क्षति – Nepal Press

थाहानगरमा हावाहुरीको वितण्डा : तरकारी बारी, घर र विद्युतीय पोलमा क्षति

हेटौँडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा बिहीबार राती आएको हावाहुरी तथा असिना पानीको कारण दर्जनौँ घरमा क्षति भएको छ भने तरकारी खेतीको लागि निर्माण गरिएको टर्नेल र तथा विद्युतीय पोलमा समेत क्षति पुगेको छ ।

बिहीबारको असिना पानीले तरकारीको बेर्नामा क्षति पुग्दा किसानहरूले उत्पादनको लागि तयारी अवस्थामा राखेका लाखौँ रुपैयाँ बराबरको तरकारीको बेर्ना नष्ट भएको छ । लाखौँको लगानीमा निर्माण गरिएको टर्नेललाई हावाहुरीले उडाएका छन् भने दर्जनौँ मानिसहरूको घरको छाना उडाएको बताइएको छ ।

हावाहुरीले थाहा-२ को फाँटबजार क्षेत्रमा रहेको विद्युतीय ट्रास्फर्मर, वडा नम्बर ३ मा रहेको ट्रास्फर्मर, थाहा-३ मा रहेको बायोखेला, गोरखनाथ एरिया, दम्की डाँडा क्षेत्रको ट्रास्फर्मर, अन्य वडाहरूको ट्रास्फर्मर, विद्युतीय पोलहरूमा समेत क्षति भएको पालुङ वितरण केन्द्रले बताएका छन् ।

तरकारी खेतीको जोनको रूपमा रहेको उत्तरी क्षेत्रमा असिना पानीले उत्पादनको लागि तयार पारिएको काउली, बन्दा, भिडे खुर्सानी, अकबरे खुर्सानीको बेर्नाहरू नस्ट हुँदा लाखौँको क्षति भएको स्थानीय पत्रकार शम्भु अधिकारीले जानकारी दिए ।

हावाहुरीले विद्युतीय ट्रास्फर्मर र पोलमा क्षति हुँदा थाहाको अधिकांश क्षेत्रमा आज विद्युत् अवरोध भएको उनको भनाई छ ।

प्राधिकरणले विद्युतलाई सुचारु गराउनको लागि आज बिहानैबाट क्षति भएको स्थानमा पुनः जडानको कामहरू सुरु गरिसकिएको जनाएको छ । भने स्थानीय पालीकाले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरिसकेको जनाएको छ ।

वडा नम्बर ३ र ४ मा सबैभन्दा धेरै घरहरूमा क्षति भएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले बताए । हालसम्म वडा नम्बर ४ मा ४० घर जतिमा क्षति भएको सूचना आएको छ । अन्य वडाहरूको पनि तथ्याङ्क संकलनको काम भइरहेको र दिउँसोसम्म अन्य जानकारी आइसक्ने उनले बताए ।

तरकारीको पकेट क्षेत्रको रूपमा रहेको थाहा नगरका एक्कासि आएको असिना पानी सहितको हावा हुरीको कारण किसानहरू मारमा परेको भन्दै भुजेलले कहाँ कति क्षति भयो भन्ने विवरण संकलनको काम सुरु भैसकेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *