‘पिताम्बर’ निर्देशन गरेकी कृषा भन्छिन्- ‘मलाई एउटा यस्तो फिल्म बनाउनु थियो, जुन ‘वियोण्ड द इमाजिन’ होस्’ – Nepal Press

‘पिताम्बर’ निर्देशन गरेकी कृषा भन्छिन्- ‘मलाई एउटा यस्तो फिल्म बनाउनु थियो, जुन ‘वियोण्ड द इमाजिन’ होस्’

काठमाडौं । महिलाले पनि चलचित्र निर्देशन गर्न सक्छन् र? महिलाले बनाएको चलचित्रमा कसले काम गर्छ होला र? भन्ने आदि, इत्यादि प्रश्नका बीच केही महिला निर्देशकले निर्देशनमा हाम फाले।

सुरुवाती दिनमा महिलालाई चलचित्र निर्देशन गर्न सोचेजस्तो सहज थिएन । गाह्रो-साह्रो समस्या पार गर्दै कतिले निर्देशनलाई नै आफ्नो पेशा बनाए त कतिले एक, दुईवटा चलचित्र निर्देशन गरेपछि हात उठाए। महिलाले पनि चलचित्र निर्देशन गर्न सक्छन है भन्ने भएपछि सिने क्षेत्रमा बिस्तारै महिला निर्देशकको संख्या बढ्न थाल्यो।

संख्याको हिसाबले हेर्ने हो भने, सिने क्षेत्रमा अहिले पनि महिला निर्देशकको संख्या पुरुष जति छैन। हातको औंलामा महिला निर्देशकहरु अटाउँछन्। यहीँ लिस्टमा थपिएको अर्को एउटा नाम हो, कृषा चौलागाईं ।

 निर्देशक कृषा चौलागाईं निर्देशित चलचित्र ‘पिताम्बर’ यहीँ चैत्र २९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। चलचित्र ‘एैचो पैचो’ पछि उनले निर्देशन गरेको यो दोश्रो चलचित्र हो। यो उनले निर्देशन गरेको एक्सन जनराको चलचित्र हो जहाँ एक हैन, दुई हैन, मल्टिस्टार छन्।

कन्सेप्टको हिसाबले हेर्ने हो भने, कृषाले ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि सोचेकी थिइन् । तर, ‘पिताम्बर’ ठुलो प्रोजेक्ट बन्ने भएपछि उनले पहिला ‘एैचो पैचो’ निर्माण कार्य सुरु गरिन् । ‘पिताम्बर’ लार्ज स्केलको चलचित्र भएकाले पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ गर्छु भन्ने कृषालाई लाग्यो।

उनी भन्छिन् ,’पिताम्बर ठुलो प्रोजेक्ट थियो । त्यसैले, ‘एैचो पैचो’ सुरुमा गरे। पहिलो निर्देशकीय चलचित्र भएकाले दर्शक र फिल्मकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । तर सबैले प्रसंशा र साथ दिनुभयो । ‘एैचो पैचो’ राम्रो भएपछि मैले पिताम्बरका लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्टको डिजाइन गरेकी हो।’

कृषा ‘पिताम्बर’लाई भरपुर एक्सनले भरिएको चलचित्र भन्छिन् । आफ्नो चलचित्रमा दर्शकले केही फरक पाउने उनको भनाई छ । ‘एक्सन फिल्ममा खर्च र समय धेरै लाग्छ । यस्तो फिल्ममा मान्छेले रिस्क लिन चाहँदैन। यो फिल्म प्रदीप खड्काका लागि पनि नयाँ हो,’ उनी सुनाउँछिन,’ प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई पिताम्बरले पुरा गरिदिनेछ । किनकी प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको रहरलाई पिताम्बरले पूर्णता दिन्छ ।’

रिस्क भएको एक्सनलाई नै कृषाले किन प्राथमिकता दिइन् त ? यसबारे उनी भन्छिन् ,’ लामो समयदेखि फिल्महरु एउटा विशेष कुरामा मात्र केन्द्रित भइरहेका थिए । कतिपयले मौलिक कथा देखाउनुपर्छ भन्दै त्यता मात्र लागिरहनु भएको थियो। तर मलाई एउटा यस्तो फिल्म बनाउनुपर्छ भन्ने लाग्यो, जुन वियोण्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् ।’

कृषाकाे अनुसार यस्तो चलचित्रले मासलाई हलसम्म तान्न सक्छ र मासलाई हलमा तान्न सक्नु नै फिल्मकर्मीको जित हो । झण्डै डेढ वर्ष लगाएर कृषाले पिताम्बरको स्क्रिप्ट तयार पारेकी थिइन् । चलचित्र हेरेपछि दर्शकले सन्देशसँगै मज्जा बोकेर घर जाने उनको दाबी छ ।

‘पिताम्बर’ पूर्ण रुपमा इन्टरटेनिङ फिल्म भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने उनी ठोकुवा गर्छिन् । उनी भन्छिन् ,‘दर्शकले एउटा टिकटमा ३,४ जना हिरोले अभिनय गरेको फिल्म हेर्न पाउनुहुन्छ। नेपालमा पहिलोपटक तीनवटा क्यामराले खिचेको चलचित्र हो, पिताम्बर। धेरै प्राविधिक सामानहरु बाहिरबाट ल्याएका छौं । मेकिङका हिसाबले पनि चलचित्रमा कुनै कमी छोडेका छैनौं ।’

कृषाले ‘पिताम्बर’को अवधारणा दिमागमा खेलाइरहँदा नायक प्रदीप खड्का र थप दुई प्रमुख कलाकारहरु पहिलै निश्चित थिए । चलचित्र बन्दै गएपछि अन्य कलाकारहरु जोडिदै गएका हुन्।

आफ्नो दिमागमा सुरुमा नै प्रदीप आउनुको कारण खुलाउँदै कृषा भन्छिन्,‘प्रदीप अरु भन्दा फरक छ । कामलाई लिएर उसको डेडिकेसन धेरै छ । मेकरले एउटा कलाकारमा हेर्ने भनेको त्यही हो । परफर्मरका रुपमा प्रदीप धेरै जेन्टलमेन छ । उसको लुक्स छुट्टै किसिमको छ।’

कृषाले चलचित्रमा प्रदीपका लागि एक्सन कोचको व्यवस्था गराएकी थिइन् । संसारमा ‘ह्युमन इमोसन’ को कथाले कहीँ न कहीँ छुने भएकाले ‘पिताम्बर’मा पनि ह्युमन इमोसनकै कथा प्रस्तुत गरिएको कृषा बताउँछिन्।

कृषाको मनपर्ने जनरा पनि एक्सन नै हो । एक्सन चलचित्रको जस्तो जोस, जाँगर अनि क्यानभास अन्य चलचित्रमा कमै मात्र पाइने भएकाले एक्सनप्रति आफ्नो झुकाव रहेको कृषा खुलाउँछिन् । चलचित्रको सबै एक्सन सिक्वेन्समा कृषा आफैं उपस्थित थिईन् । कलाकारको समय मिलाउन भने उनलाई केहि गाह्रो भएको थियो।

कृषाको अनुभवमा ‘पिताम्बर’ उनका लागि एउटा चलचित्र मात्र नभई तपस्या हो । टिजर र गीतबाट प्राप्त प्रतिक्रियाले पुलकित कृषा अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर