प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनमा भैरहवामा आज शोक बिदा – Nepal Press

प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनमा भैरहवामा आज शोक बिदा

रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री दीपक बोहराको निधनमा उनको गृहनगर सिद्धार्थनगर नगरपालिकाले आज चैत २० गते बुधवार शोक बिदा दिएको छ ।

नगर कार्यपालिकाको मङ्गलवार बसेको बैठकले बुधवार एक दिन बिदा दिने निर्णय गरेको नगरप्रमुख श्तियाक अहमद खाँले बताएका छन् ।

‘बुधवार शोक मनाउने कार्यक्रम रहेको हुँदा सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सो मातहतको वडा कार्यालयहरू, आधारभूत स्वास्थ्य केन्द्रहरू, सामुदायिक तथा संस्थागत विद्यालयहरू सो दिन सेवा प्रवाह र पठनपाठन स्थगित गर्ने तथा पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरू यथावत् सञ्चालन हुनेछ,’ नगरप्रमुख खाँले भने ।

राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री बोहराको निधनले सिद्धार्थनगर नगरपालिका परिवार अत्यन्तै स्तब्ध मर्माहत र दुःखित भएको उनले बताए । ‘उहाँको असामयिक निधनले राष्ट्रले एक समर्पित जनप्रतिनिधि गुमाएको छ,’नगरप्रमुख खाँले भने ‘उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन, आफन्तजन तथा शुभचिन्तकहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौँ, शोकाकुल परिवारजनलाई यो कठिन घडीमा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछौँ ।’

पञ्चातकालदेखि नै सत्ता र शक्ति केन्द्रमा रहँदै आएका बोहराको भैरहवालगायत रूपन्देहीको विकासमा पनि महत्त्वपूर्ण योगदान रहेको छ । लामो समयदेखि बिरामी रहेका बोहोराको मङ्गलवार काठमाडौंमा निधन भएको हो ।

मङ्गलवार दिउँसो हेलिकप्टरबाट भैरहवामा श्रद्धाञ्जलीका लागि उनको शव ल्याएर साँझ पुनः काठमाडौं लगिएको छ । आज राप्रपाको कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिएपछि पशुपतिमा अन्त्येष्टि गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *