८० वर्षीय मोदनाथ प्रश्रितसँगै कोरोना जितेर फर्केका छोरा विजयका केही टिप्स
काठमाडाैं । साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रित ४ दिनअघि मात्र कोरोना जितेर घर फर्किए । ८० वर्षीय प्रसितले कोरोनालाई जित्नु चानचुने कुरा थिएन ।
छोरा विजय पौडेलले दुई दिनअघिमात्र डिस्चार्ज भएर घर फर्किएपछि एउटा पोष्ट लेखे, ‘मोदनाथ प्रसित बालाई आज शिक्षण अस्पताल महाराजगञ्जबाट घर ल्याइयो । बा आउने आषाढ ६ गते ८० वर्षमा पाइला टेक्दै हुनुहुन्छ । कोभिडसँग् बाले ठूलो संघर्ष गर्नुभयो र जित्नुभयो । मनमोहन अस्पताल, छाउनी र शिक्षण अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीका साथै सबै सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद !
उसो त उनको परिवारमा प्रश्रित मात्रै होइन, छोरा विजय स्वयम् संक्रमित थिए । करिब १७ दिनको अस्पताल बसाइमा बाबु छोरा डिस्चार्ज भएको उनले सुनाए ।
कोभिडविरुद्धको संघर्षमा छोरा विजयको अनुभव-
हुन त हामी कसरी संक्रमित भयौं भन्ने नै थाहा थिएन । म पनि अफिस आउँदा जाँदा स्वास्थ्य मापदण्ड पालना गरिरहेको थिएँ । वैशाख १० गते बाले किड्नी दुख्यो भन्नुभयो ।बालाई मेडिसिटीमा लिएर गएँ । फर्कँदाफर्कँदै बाटोमा ज्वँरो आयो । मलाई गाह्रो भएपछि छाउनीतिर दौडाइयो ।
अर्को दिन बुबालाई श्वास फर्न गाह्रो भयो, बोल्न नसक्ने हुनुभयो । त्यसपछि उहाँलाई १४ मनमोहन मेमोरियल अस्पताल लगियो । यो बीचमा पक्कै हस्पिटलबाट आउँदा जाँदा नै हामीलाई सरेको हुनुपर्छ । काठमाडौंका अस्पताल भरिभराउ थिए । बेड पाउन मुस्किल थियो । हामीलाई बेडको व्यवस्थापन गर्न पनि सहज थिएन । सुरुमा बेड पाइएकै थिएन ।
बुबालाई मनमोहनमा लगिएको थियो सुरुमा । तर उहाँ त डिप्रेस हुनुभएछ । आतिएर ‘ कहाँ आएँ’ भनेर कराउन थाल्नुभएछ । डाक्टरहरूले समस्या पर्यो के गर्ने भने । बुबा आतिनुभयो एक्लै भएर भन्ने ठान्यौं । त्यसमाथि बिर्सने रोग छ बालाई ।
त्यसपछि बालाई म भर्ना भएको अस्पतालमै ल्याइयो । बालाई मैले सम्झाएँ । मैले सबै कुरा बताएपछि बल्ल पो होसमा आउनुभयो । ‘अहो ! म के भएर सन्केछु’ भन्न थाल्नुभयो बाले ।
तै पनि बुबा आतिरहँदा बर्बराइरहनुहुन्थ्यो, ‘मलाई कहाँ ल्याए, के गरे । मार्छन् कि क्या हो ।’ बुबा आतिनेबित्तिकै म झक्झकाउँथे । त्यसपछि होसमा आउनुहुन्थ्यो ।
मैले के थाहा पाएँ भने स्याहार सुसार घरमै मान्छेले गर्यो भने छिटै निको हुँदो रहेछ । नत्र बीचमा सेन्सलेस भएर बुढा मान्छेलाई गाह्रो हुने रहेछ ।
हामीले शिक्षण अस्पताल महाराजगञ्जमा निवेदन हालेका थियौं । त्यो रोल क्रममा हाम्रो पालो आउन ७ दिन लाग्यो । १७ गतेतिर बाबु छोरा दुवै टिचिङ अस्पताल भर्ना भयौं ।
टिचिङ लगेको ६-७ दिन त निकै गाह्रो भयो । घोप्टो परेर सुतेपछि फोक्सोले राम्रो काम गर्दोरहेछ । अक्सिजन त हटाउनै नहुने मेरो पनि । अक्सिजन हटायो कि ८० भन्दा तल घटिहाल्ने । सातौं दिनपछि अक्सिजन सन्तुलित हुन थाल्यो ।
टिचिङमा निकै भयावह अवस्था रहेछ । कोही बाटैमा लडेका छन् । अक्सिजनको हाहाकार छन् । मान्छे मरेको सुन्दा देख्दा निकै तनाव हुने । तै पनि आत्मबल बलियो बनायौं । कोरोनाबाट बच्न सबैभन्दा पहिला आत्मबल बलियो बनाउनुपर्दो रहेछ ।
मनोबलचाहिँ मैले उच्च राखेँ । विभिन्न डाक्टरले आर्टिकल लेखेको पढिरहेको थिएँ । आफूले आफूलाई म ठीक हुन्छु भनिरहेको थिएँ । आफूले आफूलाई राम्रो भइरहेको छ भने ढाडस दिने गरेँ ।
अस्पतालमा हुँदा सामाजिक सञ्जाल हेरिनसक्नुको थियो । हेर्न सक्ने क्षमता थिएन । मोबाइल स्वीच अफ गरेर सुतेँ । सुरुको दिन कोभिड भयो भनेर हालेको थिएँ । बीचमा हालिनँ । मलाई मेरो भन्दा बढी चिन्ताका बुबाको थियो । उहाँ ८० वर्षको हुनुहुन्थ्यो । मलाई चाहिँ जनरल बेडमै राखेर अक्सिजन दिइयो । तर बालाई चाहिँ आइसियुमा राखियो ६ दिन । त्यतिबेला अलि डर लागेको थियो ।
विस्तारै बालाई पनि निको हुँदै गयो । म पनि तंग्रिँदै गएँ । मेरी छोरी डाक्टर छन् । छोर छोरी नै दौडिएर आइपुगे । परिवारले नै हामीलाई चौबिसै घण्टा ड्युटी गरे । उनीहरूको स्याहारले पनि बल प्राप्त भयो । अन्ततः दुवै निको भएर घर फर्कियौं ।
अहिले बुबाको अक्सिजन ९५ भन्दा माथि छ । श्वास फेर्न सकिरहनुभएको छ । बोल्न चाहिँ अझै सक्नुभएको छैन । म पनि धेरै निको भइसकेको छु ।
संक्रमण हुँदा आतिनु हुन्न भन्नेचाहिँ मैले बुझेँ । बेलैमा उपचार पायो भने कोरोना जित्नसकिने रहेछ । अहिले युवाहरूले ज्यान गुमाइरहेका छन् । यसको कारण बेलैमा उपचार नपाएर हो भन्ने लाग्छ ।
पहिलो कुरा त हामी कोभिड लाग्नै नदिऔं । लागिहालेमा पनि मनोबलचाहिँ उच्च राखौं । मेरो अनुभवमा संक्रमण हुँदा सकेसम्म घोप्टो सुतौं । प्रणायम गरौं र प्रोटिनयुक्त आहार खाऔं । कोभिड जित्छु भन्ने आत्मविश्वास बढाइराखौं ।
मननीय !!!