होटल पौवाको चैत २५ देखि २९ गतेसम्म सबै शाखामा ‘स्वाद उत्सव’


रुपन्देही । होटल पौवाले नवौँ वार्षिकोत्सवको अवसर पारेर देशैभरका शाखाहरूमा स्वाद उत्सव कार्यक्रम आयोजना गर्न लागेको छ ।
चैत २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने ब्रान्ड म्यानेजर विष्णु भण्डारीले बताए ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको उनको भनाइ छ । मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पुर्याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्ने, पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा क्षमता अभिवृद्धि पुग्ने र स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन गर्ने उत्सवको मुख्य योजना रहेको भण्डारी बताउँछन् ।
उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाहुनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणा पत्र दिइएको उनको भनाइ छ ।
पौवाले ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर शाखा विस्तार गरिरहेको जनाएको छ । नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको पौवाले सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई विशेष कार्यक्रम गर्दै आएको छ ।
९ वर्षअघि लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । अहिले १८ वटा शाखा पुगेका छन् । यी शाखाबाट ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ ।
अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापनाको तयारी भइरहेको छ । केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट तयारी भइरहेको छ ।
पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको छ ।
नेपाली पहिचान संरक्षण र नेपाली उत्पादनलाई प्रोत्साहन दिएकै कारण धेरै नेपालीको मन जित्न सकेको यसका लगानीकर्ताको भनाइ छ ।