राजावादी समर्थकको आगजनी र तोडफोडबाट सन्चो कम्पनीमा २८ करोड बराबरको क्षति (भिडिओ)


काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिव २८ करोड बराबरको क्षति भएको जनाएको छ ।
चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिव २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ ।
कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन् । आगजनी र तोडफोडका कारण केहिदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अन्य शाखाहरुबाट नियमित रुपमा सन्चो उत्पादन गर्ने योजना बनाएको उल्लेख गरिन्। आगजनीका कारण सवै जलेर खरानी भएको भन्दै सरकारलगाएत सवैको सहयोगमा अझै शक्तिशाली भएर उठ्ने उनको भनाइ छ ।
२०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड निरन्तर शाखा बिस्तारमा समेत केन्द्रीत रहेको थियो । आगजनी र तोडफोडका कारण शाखा बिस्तारको काम केहि समयलाई रोकिने महाप्रवन्धक यादवले बताए । त्यस्तै कम्पनीले सन्चो मह र सन्चो टिमुर ल्याउने तयारी समेत गरेको जनाएको छ ।