अरु क्यारेक्टर धेरै गरेँ, अब एक्सन चलचित्रबाट अफर आओस् भन्नेछ : उपास्ना सिंह ठकुरी


काठमाडौं । यहीँ चैत २९ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र हो, ‘कर्मा’ । ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रमा नायक विपिन कार्कीसँगै नायिका उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन।
उपासना अहिलेकी डिमान्डेड नायिका मध्येमा पर्दछिन्। अहिलेको चल्तीको नायिकाको लिस्टमा उनी पनि गनिन्छिन् । एकपछि अर्को चलचित्रमा व्यस्त नायिका उपासनाले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्माको एक्सन सिन हेरेर आफू लोभिएको उनको भनाई छ ।
‘म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, म निकै नै प्रभावित भएकी छु, ‘उनले भनिन्, ‘कर्मामा एक्सनको काम देखेर मलाई एक्सनमा काम गर्न रहर लागेको छ ।’
उनी चलचित्रमा एक्सन गर्ने नायकको अपोजिटमा छिन । एक्सन चलचित्रमा काम गरिरहँदा आफूलाई पनि एक्सन चलचित्रमा काम गर्ने रहर भएकाले, सोही जनराको चलचित्रबाट अफरको अपेक्षा रहेको उपास्नाले सुनाइन् ।
‘अरू क्यारेक्टर धेरै गरेँ । तर, अब एक्सन सिनेमाबाट अफर आओस् भन्नेछ। म एक्सन चलचित्रको अफरको पर्खाइमा छु,’ उनले जोडिन।
एक्सन चलचित्रमा काम गर्न आफू जस्तो सुकै तयारी गर्न पनि तयार रहेको उनले बताइन्। ‘कर्मा’मा उपासना विपिन कार्कीको अपोजिटमा छिन् । विपिन र उपासनासँगै ‘कर्मा’का सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ यहीँ चैत २९ गतेबाट रिलिज हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय वश्यालको पब्लिसिटी डिजाइन छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।