नयाँ क्रिकेट प्रशिक्षक कहिले आइपुग्छन् नेपाल ? हङकङ टुरमा उपलब्ध नहुने – Nepal Press

नयाँ क्रिकेट प्रशिक्षक कहिले आइपुग्छन् नेपाल ? हङकङ टुरमा उपलब्ध नहुने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुग्न केही दिन लाग्ने भएको छ । आउँदो ९ अप्रिलबाट हङकङमा सुरु हुने चार देश सम्मिलित शृङ्खलामा उनी उपलब्ध हुने छैनन् ।

नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासले नयाँ प्रशिक्षकलाई नेपाल ल्याउनका निम्ति आवश्यक प्रक्रियाहरू भइरहेको बताए । ‘मन्त्रालयबाट लिनुपर्ने श्रम स्वीकृति, खेलकुद परिषदबाट लिनुपर्ने क्लीयरेन्सका कामहरू भइरहेका छन् । त्यसपछि उहाँ आउनुहुन्छ,’ उनले भने ।

क्यान स्रोतका अनुसार अप्रिलको दोस्रो साता नयाँ प्रशिक्षक नेपाल आउन सक्ने सम्भावना रहेको छ । उनले अब लिग २ का लागि नेपाली टिमलाई तयार पार्नेछन् ।

प्रशिक्षक ललाई गत शुक्रवार भैरहवामा बसेको क्यानको कार्यसमिति बैठकले ५६ वर्षीय ललाई प्रमुख प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो पदका लागि ७० जना विदेशी प्रशिक्षकले आवेदन दिएकोमा १० जना सर्टलिस्टमा परेका थिए । उनीहरूको अन्तरवार्तापश्चात् स्टुअर्ट ल छनोटमा परेका हुन् । क्यान स्रोतका अनुसार लले भर्चुअल माध्यमबाट अन्तरवार्ता दिएका थिए ।

ललाई यही अप्रिलबाट लागू हुने गरी दुई वर्षका लागि क्यानले प्रमुख प्रशिक्षक बनाएको हो । उनले प्राप्त गर्ने सेवा सुविधाको विषयमा क्यानले जानकारी दिएको छैन । ल अष्ट्रेलियाका पूर्वराष्ट्रिय खेलाडी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *