झोरमा बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान, यस्तो छ नारायण पौडेलको पृष्ठभूमि – Nepal Press

झोरमा बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान, यस्तो छ नारायण पौडेलको पृष्ठभूमि

काठमाडौं । गत चैत ४ गते काठमाडौंको टोखा नगरपालिका झोरबाट ट्रकमा बरामद भएको करिब २५ करोड रूपैयाँ बराबरको विदेशी मुद्राको मालिक सिन्धुपाल्चोकका विवादास्पद व्यवसायी नारायण पौडेल रहेको खुलेको छ ।

प्रहरीले दुई साताको अनुसन्धानपछि २५ करोड बराबरको अमेरिकी डलर र युरोको मालिक पौडेल भएको खुलेको हो । यसअघि पनि पटक-पटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको छ ।

उनका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि यसअघि ३३ किलो सुन प्रकरणमा संलग्न मानिएका थिए । पौडेललाई २०७४ सालमा सिआइबीले सुन तस्करीमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए । उनलाई तत्कालीन गृहमन्त्री जनार्दन शर्माले जोगाएको आरोप समेत लागेको थियो । बरामदमध्ये १४ किलो टोखाबाटै भेटिएको थियो ।

राजकुमार २०७४ सालमा भोटेकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । २०७९ मा भने उनी कांग्रेससँग पराजित भए ।

नारायण पनि माओवादीमा आबद्ध छन् भने अर्का भाइ बच्चु पौडेल कांग्रेससँग छन् । जेठो ध्रुव पौडेल २०५४ सालमा एमालेबाट फुल्पिङकट्टी गाविस अध्यक्ष भएका थिए ।  बच्चु पौडेल बच्चु हिमालय सिमापार व्यापार संघको पूर्व अध्यक्ष हुन् । साइलो नारायण पौडेल माओवादीमा आबद्ध छन् ।

पौडेलकी पत्नीको केही समयअघि क्यान्सरबाट निधन भएको थियो । रक्तचन्दन तस्करीमा संलग्न नारायण भारतमा बसेर कारोबार गर्थे भने कान्छो राजकुमार पौडेल भने माओवादीको नेतृत्वमै छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई टोखा नगरपालिका-१० बस्ने उनै नारायण पौडेल २५ करोडको मालिक भएको प्रहरीले पुष्टि गरेको छ । उनको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ ।

पौडेल नेपाल इन्भेस्टमेन्ट बैंकमा नक्कली एलसी खोलेको अभियोगमा २ वर्ष जेल परेका व्यक्ति हुन् । २२ किलो र ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका पौडेलले माओवादी नेताहरुको पैसा चलाउने गरेको बताइन्छ । यो २५ करोडमा पनि राजश्व अनुसन्धान र प्रहरीले राजनीतिक कनेक्सन खोजिरहेको छ ।

गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । उनी पनि भोटेकोशी वडा नम्बर १ कै बासिन्दा हुन् ।


प्रतिक्रिया

2 thoughts on “झोरमा बरामद २५ करोड विदेशी मुद्राको मालिक पहिचान, यस्तो छ नारायण पौडेलको पृष्ठभूमि

  1. नारायण भन्ने माओवादीको मात्र होईन सिन्धुपाल्चोकका सबै माओवादी र सुप्रिमोसम्म छानबिन गर । रक्तचन्दन, सुन, अवैध विदेशी मुद्राका तस्कर नै माओवादी हुन् । त्यसै सत्ता छोडनुपरेकाले छट्पटाएको हो मिस्टर ? एक त आम्दानी सुक्ने भो दोश्रो अवैध धन्दामा पुलसले तान्ने भो ।

  2. कनेक्सन त कता मीन बहादुर भन्दै सन्सदमा फलाग लाउँदै थे त कम्रेटहरु ! अहिले त गतिलै झापड मिलेछ त ! अब निद हराम भयो होला ! फेरि के संग साटफेर गर्ने हुन ओली बा संग !! बडो विचित्र !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *