जनार्दन गौतमद्वारा ओखलढुंगाको लिखुका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग


ओखलढुंगा । स्विटजरल्याण्ड निवासी गैरआवासीय नेपाली जनार्दन गौतमको जेजी फाउन्डेसनमार्फत लिखु गाउँपालिकामा तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, खेलकुद सामग्री र पोसाक वितरण वितरण गरिएको छ ।
कालिका आधारभूत विद्यालय मजुवा, बडडाँडा आधारभूत विद्यालय घुर्बिसे र गणेश आधारभूत विद्यालयका विद्यार्थीलाई फाउन्डेसनले शैक्षिक सामग्रीहरु वितरण गरेको हो । सोही गाउँपालिका वडा नम्बर ९ पोकलीमा जन्मिएका गौतम उक्त संस्थाका संस्थापक हुन्।
विकट गाउँको विद्यालयको अवस्था देखेर सानो भए पनि आफूले सक्दो सहयोग गरिरहेको उनले बताए । दुर्गम तथा पहुँच नभएका ठाउँहरूमा सामाजिक कार्य गर्ने उद्देश्यले आफ्नो व्यक्तिगत खर्च कटौती गरेर तथा साथीहरूले दिएको रकमबाट उनले यस्ता कार्य गर्दै आएका छन्।
जेजी फाउन्डेसनले यसअघि स्वास्थ्य शिविर, विद्यालय भवन निर्माण, सामाजिक सचेतनालगायतका कार्यक्रमहरू पनि गरेको छ।विगत दुई दशकदेखि स्वीट्जरल्याण्डलाई कर्मभूमि बनाएका जनार्दन गौतमले वर्षेनी सहयोग जुटाइरहेका छन् ।उनले भुकम्पको बेला पनि राहत पठाएका थिए ।
यो फाउन्डेसनलाई आफू र आफ्नो परिवारले कमाइको निश्चित प्रतिशत रकम छुट्याउने गरेको उनले बताए ।