धवलशमशेरलाई मत हालेका बाँकेका एमाले नेता भन्छन्- जनताले राजा ल्याउन जिताएका होइनन्, चुनावी प्रतिबद्धता पूरा गर


रुपन्देही । राप्रपाका महामन्त्री धवलशमशेर राणालाई प्रतिनिधिसभामा जिताएका बाँकेका एमाले नेताहरुले जनताले राजा ल्याउन नजिताएको स्मरण गराउँदै निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न सम्झाएका छन् ।
पछिल्लो निर्वाचनमा राणाले एमालेसँगको गठबन्धनमा बाँकेको क्षेत्र नं २ बाट जितेका थिए । अहिले उनी राजतन्त्र फर्काउने आन्दोलनमा लागेपछि उनलाई निर्वाचनमा जिताएका एमाले नेताहरुले जनताले राजा नचाहेको भन्दै आफ्नो निर्वाचनताका गरेको प्रतिबद्धतामा ध्यान दिन सुझाएका हुन् ।
राणासँगै सोही क्षेत्रबाट प्रदेशसभामा उम्मेदवार बनेका बाँके एमाले अध्यक्ष निरक गुरुङले राणालाई राजा ल्याउन आफूहरु र जनताले साथ नदिएको भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन् ।
राजतन्त्रका विषयमा कडा टिप्पणी गरेका गुरुङले मूर्ति चोरहरुले नेपाली जनताको भलो गर्न नसक्ने भन्दै लोकतन्त्रको विकल्प नभएको बताए ।
उनले राप्रपाका महामन्त्री धवलशमशेर राणालाई निर्वाचनको समयमा जनतासँग गरिएको प्रतिबद्धताअनुसार मल कारखाना स्थापनाका लागि पहल गर्न अनुरोध गर्दै बाँकेवासीलाई राजा नभई मल कारखाना ल्याउन सन्देश पठाए ।
‘हामीले गरेको सहयोग, जनताले गरेको मतदान राजा ल्याउन थिएन, सदनमा तपाईंलाई विकासका काम बढाउन पठाएका थियौं, तपाईंले मल कारखाना ल्याउने प्रतिबद्धता गर्नुभएको थियो, तर राजा ल्याउने अभियानमा किन लाग्नुभयो ? चुनावी प्रतिबद्धतालाई ध्यान दिनुस्, जनताले, मतदाताले राजा ल्याउन तपाईंलाई जिताएका होइनन्, हेक्का रहोस् ।’
यही सन्देश दिन नेकपा एमाले बाँकेको आयोजनामा बुधबार नेपालगञ्जमा मोटरसाइकल र्याली गरिएको छ । एमाले बाँकेको पार्टी कार्यालयबाट सुरु भएको र्याली नगरका विभिन्न भागको परिक्रमापछि बीपी चोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शान्ति ढकालले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको भन्दै भ्रममा नपर्न चेतावनी दिइन् ।
उनले केही स्वार्थी समूहहरुको भीडमा लागेर पुरानो र मृत अवस्थामा पुगेको व्यवस्था फर्काउने गलत बाटोमा नलाग्न सबैलाई सचेत बनाइन् ।
एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीले गणतन्त्रको पक्षमा र्याली आयोजना गरिएको बताए ।