दिनेशकुमारको बयान- बहिनी रगतपच्छे भएर ढलिन्, मैले आफूलाई गोली लागेको बिर्सिएँ (भिडिओ) – Nepal Press

दिनेशकुमारको बयान- बहिनी रगतपच्छे भएर ढलिन्, मैले आफूलाई गोली लागेको बिर्सिएँ (भिडिओ)

काठमाडौं । गत १५ गते तीनकुनेबाट फैलिएको राजावादीको आन्दोलन आलोकनगर, कोटेश्वर हुँदै जडिबुटी पुग्यो । आन्दोलन हिंसात्मक बनेर गयो । आन्दोलनकारीहरुले ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट मच्याए । सुरक्षाकर्मीले लाठी चार्ज, अश्रुग्याँस प्रहार र राइफल नै पड्कायो ।

हेर्दाहेर्दै निमेषभरमा आन्दोलन झडपमा परिणत भयो । उक्त भडपको मार भने आमनगारिकहरु परे । कतिसम्म भने आन्दोलनसँग कुनै साइनो नै नभएका विद्यार्थी रेविका खत्रीले गोली थाप्नुपर्यो । रेविकाको दाइ दिनेशकुमार खत्रीले पनि गोली थाप्नुपर्यो । अहिले रेविका सिभिल अस्पताल, बानेश्वरमा एमआईसीयुमा छिन् भने दिनेशकुमार हिजो साँझ मात्रै डिस्चार्ज भएका छन् ।

रेविका र दिनेशकुमार निहत्था नागरिक आन्दोलनकारी र राज्य पक्षको द्वन्द्वमा कसरी पिसिन्छन् भन्ने पछिल्लो उदाहरण बनेका छन् । उनीहरूसँगै थप आधा दर्जन सर्वसाधारण घाइते भएको खबर आइरहेको छ । स–सानो व्यवसाय गरेर जीवन निर्वाह गरिरहेका आमनागरिकदेखि त्यस क्षेत्रमा रहेका कर्पोरेट हाउससम्म आन्दोलनको चपेटामा परे ।

भिडिओ हेर्न याे लिंकमा क्लिक गर्नुस् ।

त्यस दिन अपराह्न सवा चार बजे घटेको उक्त घटनाले दिनेशकुमार र रेविकाको जीवनको कोर्स नै बदलेको छ । निमेषभरमा घटेको घटनाले उनीहरुका परिवारलाई समेत मानसिक तनाव र चिन्ताको भूमरीमा फँसाएका छ । ग्रोसरीमा काम गर्दै बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेविका र अस्ट्रेलियाको भिसाको प्रोसेसमा रहेका दिनेशकुमार शारीरिक पीडासँगै मानसिक तनावहरुबाट गुज्रिरहेका छन् ।

हिजो मात्रै डिस्चार्ज भएका उनै दिनेशकुमारले त्यस दिन भएको घटना, घटनापछि उत्पन्न परिस्थिति र मानसिक तनावहरुबारे नेपालप्रेसलाई विस्तारमा सुनाएका छन्ः–

म हिजो साँझ डिस्चार्ज भएँ । सरकारले खर्च व्यहोर्ने भन्ने सुने पनि हामीले नै खर्च व्यहोर्यौं । अस्पताल बसाई राम्रै भयो । मान्छेहरु अलि बढी आए, आराम चाहिएको वेला अलि डिस्टर्ब भयो ।

म अष्ट्रेलिया जाने तयारीमा थिएँ । आउँदो हप्ता अस्ट्रेलियाको भिसाका लागि निवेदन हाल्ने योजना थियो । अब के गर्ने, द्वीविधामा छु ।

त्यस दिन तीनकुनेमा आन्दोलन हुन्छ भनेर त थाहा पाएको थिएँ । तीनकुनेमा घर जलाए भनेर पनि न्युजमा देखेको थिएँ । तर, त्यसको असर हाम्रै सडक गल्लीसम्म आइपुग्छ भनेर कल्पना समेत गरेको थिइनँ ।

म कोठामै थिएँ । रेविकाले फोन गरेकी रहिछ, मैले थाहा पाइनँ । दोस्रो कल चाहिँ उठाएँ । उसले आत्तिँदै लिन बोलाई । बाटोमा आउँदै गर्दा ठूलो संख्यामा पुलिस देखेर डराइछे । अनि मैले पुल क्रस गरेर भित्र गल्लीको बाटो आउनु भनेँ । म पनि कोठाबाट बहिनीलाई लिन आधा बाटोसम्म गएँ ।

म बहिनी लिन जाँदा आन्दोलनकारीले भाटभटेनीमा लुटपाट गरिरहेका थिए । म त भाटभटेनीको ठिक पारी बस्छु । म बसेको ठाउँमा एउटा पनि पुलिस थिएन । सबै घटना पारी भाटभटेनीमा भइरहेको थियो ।

हाम्रोतिर सबै सामान्य थियो । मान्छेहरु हिँडिरहेका थिए । पहिलेभन्दा अलि बढी भिड चाहिँ थियो । तर बच्चाहरु खेलिरहेका थिए । बाआमाले बच्चाहरु बोकेर हिँडिरहेका थिए । स्थानीयहरुले पारी भाटभटेनीमा भएको लुटपाट हेरिरहेका थिए । एकजना पुलिस पनि थिएन । यस्तो भएपछि आत्तिने कुरा पनि भएन । मान्छेहरु तर्सिएको, सुनसान भएको भए पो डराउनू !

रेविका भित्री बाटो आइन् । म पनि भित्री बाटो नै गएँ । अलि पर सेल्सबेरीमा भेट भयो । अनि बहिनीलाई लिएर कोठातिर आएँ । मैले पनि खाजा खाएको थिइनँ । उसले पनि खाजा खाएकी थिइन । भोक लाग्यो भन्दै थिई । हामीले कोठामै गएर खाने सल्लाह गर्यौं । कोठातिर लाग्यौं ।

कोठा छिर्ने गल्लीमा हामी छिरिसकेका मात्रै के थियौं, अचानक गोलीले मेरो तिघ्रा छेड्यो । मेरो तिघ्रा छेडेर गोली गएर अगाडिको पसलको सटरमा ठोक्कियो । सटरबाट सायद त्यही गोली फर्केर बहिनीको तिघ्रामा छेडियो । मेरो देब्रे तिघ्रामा लागेको छ, बहिनीको दाहिने तिघ्रामा लागेको छ । भिडियोमा एउटा मात्रै गोली पड्किएको सुनिन्छ ।

गोली लागेपछि बहिनी त्यहीँ ढलिन् । उसको तिघ्राको नशामै लागेछ । मासु नै पर्लक्कै पल्टाएर गोली निस्किएछ । बहिनीलाई त्यस्तो हालतमा देखेपछि आफूलाई गोली लागेको पनि बिर्सिएँ मैले । बहिनीलाई तानेर एक मिटर पर सारेँ ।

बहिनी ढलिन् । रगतपाच्छे भइन् । मासु फक्लक्कै निस्किएको थियो । मैले टाँसिदिएँ । सुरुमा त मैले हातले भलभल्ती बगेको रगतलाई छोपेँ । रगत रोकिएन । अनि प्लास्टिकले छोपेँ । र पनि रगत रोकिएन । कसैले घरमाथिबाट लुगा फालिदिनुभयो । एउटा लुगाले रगत छोपेँ, अर्कोले बाँधे ।

अनि दुईजना अरु मान्छेको सहयोगमा पर मेडिकल पुर्याएँ । त्यहाँ सामान्य ब्याण्डेज भयो ।

यसपछि मैले त्यहाँ वरिपरि भएको कति मान्छेलाई अस्पतालसम्म गाडीमा पुर्याइदिनु भनेर भनेँ । तर, कसैले पनि मान्नुभएन । सायद बाहिर त्यस्तो माहौल भएकाले होला । अनि एम्बुलेन्सलाई कल गरेँ । डेढ घण्टापछि एम्बुलेन्स आयो ।

मेरो चाहिँ गोलीले हड्डी र नशालाई छोएन । बहिनीको त नशा नै उडाइदियो ।

पछि प्रहरीहरुले पारी भाटभटेनीबाटै गाली हानेको हो भनेर अरुले भने । तर, त्यहाँ हामीलाई गोली लागेको ठाउँ पारीबाट राम्रोसँगै देखिँदैन । सानो छिँडी मात्रै बन्छ । पारीबाटै गोली लाग्नु असम्भव जस्तै देखिन्छ । तर त्यो राइफल हो रे ! अब प्रहरीको हतियारबारे हामीलाई थाहा हुने कुरा पनि भएन ।

त्यस दिन आन्दोलन छ भनेर थाहा त थियो । तर, शान्तिपूर्ण हुन्छ भनेर सुनेको थिएँ । आन्दोलन पनि तीनकुनेमा हुन्छ भन्ने थियो । हाम्रो क्षेत्र त शान्त नै थियो । बिहान मात्रै सातदोबाटोसम्म गाडीमै गएर आएको थिएँ ।

मैले त तीनकुनेमा पनि मान्छेहरु भेला मात्रै हुने होला भनेर सोचेको थिएँ । खै पछि त के भयो भयो….. । त्यो आन्दोलन राजावादीले गरेको भए, राजाकै सपोर्ट गर्न आएको भए त्यसरी भाटभटेनी त नलुट्नुपर्ने हो । अब भाटभटेनी सरकारकै मान्छेको भएर पो हो कि ! मलाई त केही थाहा छैन । तर, प्रहरीले भाटभटेनीतिरको लफडा मिलाउन छाडेर गल्लीतिर गोली हान्यो । यो अन्यायपूर्ण भयो ।

प्रहरीले गोली हान्ने अथोरिटी कसरी लिनुभयो, मलाई थाहा छैन । अब ठूलै ठाउँबाट आदेश आएर त हान्नुभएको होला नि त ! अस्पताल गएदेखि अहिलेसम्म प्रहरीले मलाई सहयोग नै गर्नुभएको छ ।

म अस्ट्रेलिया जाने तयारीमा थिएँ । तर, आफ्नो देश प्यारो हुन्छ नै । देशभित्र सरकारले काम पनि गरिरहेकै होला । म विदेश गएर नेपाल नै फिर्छु । तर, सरकारले यसरी जनतालाई गोली हान्नुको साटो कलकारखाना खोलिदेओस् । ठाउँ ठाउँमा आफ्नो मान्छे नराखेर क्षमता भएको मान्छेलाई राखोस् । पढाइ अनुसारको जागिर मिलोस् ।

रेविका र मलाई राज्यले क्षतिपूर्ति दिने आशा छ । हामीलाई त त्यस्तो आपत् आइलाग्यो, अरुलाई अबका दिनमा यस्तो नपरोस । मेरी बहिनीको भविष्य सरकारले हेरिदेओस् । मेरो पनि हेरिदेओस् । हामीले सरकारी पक्षकै गोली खाएको हो, हामीसँग गोली पनि छ । सरकारले नै जिम्मेवारी लिनुपर्यो ।

अस्पतालमा रेविकाको होस आएपछि उसले ‘मेरो जिन्दगी सकियो’ भनेर सोचेकी रैछन् । होस आएपछि ‘म त विरामी भएँ, अब ह्वीलचेयरमा पो जिन्दगी बित्ने हो कि’ भनेर सोचेकी रैछन् । यही कारण पल्स रेट बढेको थियो । ज्वरो पनि १०४ डिग्रीसम्म पुगेको थियो । मानसिक रुपमा एकदमै विछिप्त थिइ । कसरी गरिखाने हो अब भनेर सोच्न सकिरहेकी थिइन । अहिले त अलिअलि बोल्नसक्ने बनेकी छन् । अब रेविकालाई सरकारले हेर्ने आशा छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *