नगर प्रहरीलाई कर्मचारीसँग भिडाएर बालेन ‘अदृष्य’, उपमेयर डंगोल छलफलमा
बालेनलाई उपमेयरको सुझाव- एक्लै कोठाभित्र बसेर होइन, छलफलमा आएर समाधान खोजौँ


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ तीन महिना १४ दिनपछि आज कार्यालय फर्केका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै पत्र पठाएको ठ्याक्कै एक महिनापछि उनी महानगरपालिका पुगेका हुन् ।
गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरु र कर्मचारीले उनलाई स्वागत गरेका थिए । मेयर बालेन साहले भने गुरागाईंलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरे । तर, नगरप्रहरीको अवरोध छिचोल्दै कर्मचारीले जनप्रतिनिधिले कार्यालय प्रवेश गराएका हुन् ।
कार्यालय प्रवेश गरेपछि पनि गुरागाईं आफ्नो कार्यकक्षमा बस्न सकेनन् । मेयर साहले उनको कार्यकक्ष लक गरिदिएका थिए । कर्मचारी र नगरप्रहरीबीच नै मुठभेड गराएर उनी आफू अदृष्य बनेका छन् । कर्मचारीले ताला फोड्ने प्रयास गरेका थिए । यसक्रममा ढोकाको सिसा फुटेको छ । केहीबेर प्रयास गर्दा पनि ढोका नखुले पनि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु बैठक बसे ।
अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको आलोचना गरेकी छन् ।
‘कसैको व्यक्तिगत मनमुटाव होला, तर जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लिन हुनुपर्छ,’ उनले भनिन् ।
डंगोलले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिइन् ।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईँ हुनु पनि राम्रो होइन ।’
प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको भन्दै डंगोलले अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन् ।
‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानविन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन’, उपमेयर डंगोलले भनिन् ।
उनले थपिन्, ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि वोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’
प्रवक्ता नविन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको विरोध गरेका थिए ।
नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा मेयरको मौखिक आदेशमा लगाएको बताएका थिए ।
Jeleski. Kejariwal. Rabi. Balen. Rsute MP. Common charecter k vane. Bolyo vane bidwan vainxa. Hurn bajaya jam jhulxa. Vanne mentality vaka jinis hun. Result afai hernos.