तीनकुनेमा जलेको घरसँग कसरी जोडिए रास्वपा खोटाङका दुई पूर्वसभापति ? – Nepal Press

तीनकुनेमा जलेको घरसँग कसरी जोडिए रास्वपा खोटाङका दुई पूर्वसभापति ?

कांग्रेस र एमाले छाडेर पालैपालो रास्वपा जिल्ला सभापति भए- एउटाको कार्यालय भवनमा आगो लाग्यो, अर्कालाई आगजनीकै अभियोग मुद्दा चल्यो

काठमाडौं । राजावादी आन्दोलनसँग जोडेर प्रहरीले पक्राउ गरेका ४१ जनामध्ये एकजना राष्ट्रिय स्वतन्त्र पार्टी सम्वद्ध नेता रहेको पाइएको छ । उनी रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसंयोजक डा. राजकुमार राई हुन् ।

प्रहरीले सार्वजनिक गरेको ४१ आन्दोलनकारीको सूचीमा ६३ वर्षीय राईको नाम १७ नम्बरमा छ । उनलाई तीनकुनेको निजी घरमा आगजनी गरिएको घटनासँग जोडेर पक्राउ गरिएको हो । पक्राउ परेका अरुसँगै उनको पनि सुरुमा ५ दिन र हिजो फेरि छ दिन म्याद थपेर अनुसन्धान भइरहेको छ ।

राईलाई भाटभटेनीको घटनाको सीसीटीभी फुटेज हेरेर पक्राउ गरिएको चर्चा भए पनि तीनकुनेको आगजनीसँग सम्वन्धित रहेको पाइएको हो । यसको पुष्टि स्वयं राईकै स्टाटसले गर्छ । त्यस दिन राईले ‘नेपाल र भावी पुस्ताको अस्तित्वको लागि जनआन्दोलन’ भन्दै आफू राजावादीको आन्दोलनमा संलग्न भएको फोटो हालेका थिए । लगत्तै उनले अर्को स्टाटस लेखे, तीनकुने बिल्डिङ जल्यो, सायद कुनै मारवाडी घरानाको हो कि ?’

राईको यी दुवै स्टाटसको स्क्रिनसट राखेर रास्वपा खोटाङका निवर्तमान सभापति रवीन्द्र ओझाले लेखे, ‘राजतन्त्रको खोटाङको नाइके विद्वान, यस्तैले हो आज घर जलाएको ।’

डा. राईले ‘मारवाडीको घर’ भनेर स्टाटस लेख्नु र ओझाले त्यसको प्रतिवाद गर्नुको पछाडि रास्वपा खोटाङमा चर्किएको पार्टीभित्रको अन्तरसंघर्ष हो । ओझालाई जबरजस्ती हटाएर केही समयअघि राई खोटाङको सभापति भएका थिए । तर, राई पनि गत पुस १३ गते भएको खोटाङ रास्वपाको अधिवेशनमा अध्यक्षमा लडेर पराजित भए । केन्द्रीय सदस्य तथा सांसद तोसिमा कार्कीको उपस्थितिमा दिक्तेलमा भएको सो भेलाबाट मुकुन्दकृष्ण थापा राप्रपाको जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् । थापाले ३० मत ल्याउँदा राईलाई ६ मतमात्रै आएको थियो ।

चुनाव हारेपछि राई रास्वपामा निस्क्रिय भए । त्यसपछि उनी राजावादी अभियानहरूमा देखिन थालेका थिए ।

तीनकुनेमा जलेको घरमै थियो ओझाको अफिस

ओझा व्यापारी समेत हुन् । उनको डिजिटल हस्ताक्षर (फिंगर प्रिन्ट) को व्यापार छ । तीनकुनेमा जलेको घरमै ओझाको अफिस थियो । तर, उग्र राजावादी समर्थकहरूले उक्त घर जलाइदिए । घरसँगै ओझाको अफिसमा पनि ठूलो क्षति पुग्यो ।

डा. राई र ओझालाई नजिकबाट चिन्नेहरूका अनुसार डा. राईलाई ओझाको अफिस त्यहाँ रहेको बारे थाहा थियो । अफिस नै जलेपछि डा. राईले ‘मारवाडीको हो कि’ भनेर कटाक्ष गरेको बुझिन्छ । उनलाई यही प्रकरणमा पक्राउ गरेर अहिले म्याद थप गरिएको छ ।

रास्वपा खोटाङभित्र अन्तरसंघर्ष गर्ने यी दुई नेता कुनै समय एमाले र कांग्रेसका कार्यकर्ता थिए । ओझा एमालेमा सक्रिय थिए उनी एमालेको खोटाङ-काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष थिए । यसपछि अध्यक्ष हुने मनसाय राखेका उनी अध्यक्ष बन्न पाएनन् । दिपक दाहाल अध्यक्ष बने । यही रनाहमा उनी रास्वपाको जिल्ला बनेर सभापति बनेका थिए ।

डा. राई चाहिँ डेढ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए । २०७४ र २०७९ मो स्थानीय निर्वाचनमा खोटाङको रावाबेँसी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न चाहेका उनले टिकट पाएनन् । पहिले पार्टीको महासमिति सदस्य रहेका उनी गत महाधिवेशमा थोरै मतान्तरले महाधिवेशन प्रतिनिधि हारेका थिए । त्यही हारको रनाहमा डा. राई पनि रास्वपा प्रवेश गरे । ओझालाई हटाए अनि अफू सभापति बने । पछि मुकुन्दकृष्ण थापासँग पराजित भए ।

रास्वपामा निष्किृय

चुनाव हारेपछि राई रास्वपामा निस्क्रिय भएर गएका छन् । त्यसपछि उनी राजावादी अभियानहरूमा देखिन थालेका थिए । यद्यपि, उनले रास्वपाको सदस्यता परित्याग गरेका छैनन् भने रास्वपाले पनि उनलाई कारवाही गरेको छैन ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले डा. राई अहिले पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको बताए ।

उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘उहाँ पहिले खोटाङको संयोजक हुनुहुन्थ्यो, तर अहिले कुनै पनि पदमा हुनुहुन्न । उहाँले विचार परिवर्तन गरेर अर्को धारमा लाग्नुभएको सूचना पाएका छौं ।’

रास्वपाका सांसद गणेश पराजुलीले पार्टी नीति विपरितका गतिविधिमा लागेको पाइएमा साधारण सदस्यता खारेज गरिने बताए ।

उनले भने, ‘उहाँले साधारण सदस्यता त्याग्नुभएको जस्तो लाग्दैन । यदि कुनै पनि अवाञ्छित गतिविधिमा लाग्नुभएको छ भने पार्टीले कारवाही गर्छ ।’

खोटाङ रावाबेँसी गाउँपालिका-१ घर भएका उनले अमेरिकाबाट पीएचडी गरेका हुन् । कांग्रेसमा हुँदादेखि नै उनको राजसंस्थाप्रति रुझान रहेको बताइन्छ ।

राजावादीको तीनकुने आन्दोलनअगाडि राईले फेसबुकबाट आन्दोलनमा सरिक हुन खोटाङबासीलाई अपिल गरेका थिए ।


प्रतिक्रिया

One thought on “तीनकुनेमा जलेको घरसँग कसरी जोडिए रास्वपा खोटाङका दुई पूर्वसभापति ?

  1. सांसद तोसिमा कार्कीको उपस्थितिमा दिक्तेलमा भएको सो भेलाबाट मुकुन्दकृष्ण थापा राप्रपाको जिल्ला… तोसिमा लाइ नै राप्रपा बनाइदिएपछि भए होलान् उनी पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर