गभर्नर ‘सर्च कमिटी’ मा पुग्यो ६ जनाको नाम, कांग्रेस र एमालेको राडारमा को-को छन् ? – Nepal Press

गभर्नर ‘सर्च कमिटी’ मा पुग्यो ६ जनाको नाम, कांग्रेस र एमालेको राडारमा को-को छन् ?

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको पदावधि सकिनै लाग्दा आकांक्षीहरूले दौडधूप बढाएका छन् । मन्त्रिपरिषदले अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठन गरेको सर्च कमिटीले सम्भावित गभर्नरको सूची बनाइरहेको छ ।

कांग्रेस र एमालेको शीर्ष नेतृत्वबीचको सहमतिपछि छनौट समितिले तीनजनाको नाम सिफारिस गर्ने देखिन्छ । पछिल्लो एक महिनादेखि दर्जन बढीले लबिङ गरिरहेका थिए । तर, त्यो संख्या बिस्तारै छाँटिएको छ । त्यसमध्ये पनि बालुवाटार र बूढानीलकण्ठको सूचीमा आधा दर्जन परेका छन् ।

देउवा निवास बूढानीलकण्ठले नेपाली कांग्रेसनिकट चारजना र बालुवाटारले एमालेनिकट दुईजनाको नाममात्रै सम्भावित गभर्नरको सूचीमा पारेको स्रोतले बतायो । ती नाम गभर्नर नियुक्त गर्न गठित सिफारिस समितिमा पठाइएको छ ।

कांग्रेसनिकटका आकांक्षीले कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामार्फत लबिङ गरिरहेका छन् । कांग्रेसको अरु ‘नेटवर्क’ मार्फत् आएकाहरूको च्याप्टर क्लोज भइसकेको बताइन्छ ।

कांग्रेसबाट केही पाका उमेरका पनि सिफारिसमा परेकाले तीनै व्यक्तिलाई गभर्नर बनाउन मनोनयनसम्बन्धी मापदण्डमा उमेर हद हटाइएको स्रोतको दाबी छ ।

अर्थ मन्त्रालयले भर्खरै मात्र संशोधन गरेको सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्डमा जुनसुकै उमेरको व्यक्तिलाई पनि नियुक्तिको बाटो खोलिएको छ ।

यसअघि ३०-६५ वर्षको उमेर हदको व्यवस्था थियो ।

कसको राडारमा को ?

सत्ता साझेदार दल एमाले र नेपाली कांग्रेसबीच गभर्नरको भागबारे टुंगिसकेको छैन । देउवा-ओलीबीचको छलफलबाट यो टुंगिने छ ।

कांग्रेसको कोटाको सूचीमा रवीन्द्र पाण्डे, ज्ञानेन्द्र ढुंगाना, गुणाकार भट्ट र राजेन्द्र क्षेत्रीको नाम अगाडि सारिएको छ । यीमध्ये पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री बलियो दाबेदार देखिएका छन् । क्षेत्रीकै लागि उमेर हद हटाइएको चर्चा छ । उनी ५८ वर्षे उमेर हदका कारण ७ वर्षअघि (२०७४) सालमै अवकाश पाएका थिए ।

राष्ट्र बैंकका सञ्चालक रवीन्द्रनाथ पाण्डे पनि २०६८ सालमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन् । मापदण्ड संशोधनले उनलाई पनि ग्रीन सिग्नल दिएको छ । ज्ञानेन्द्र ढुंगाना विनोद  चौधरीमार्फत लबिङमा लागेको चर्चा छ । ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम पनि देउवाको हातमा नाम पुगेको छ ।

एमालेनिकटका भने राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगाना र योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठको चर्चा छ । नीलमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत् नै लबिङ गरिरहेकी छन् ।

पहिलो महिला गभर्नरको इतिहास रच्ने अवसरका रूपमा पनि ओली ढुंगानासँग सकारात्मक रहेको बताइन्छ । प्रकाश श्रेष्ठ पनि एमालेको क्याडर पृष्ठभूमिकै विज्ञ हुन् । राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिएका श्रेष्ठसँग अर्थ मन्त्रालयको सल्लाहकार,लुम्बिनी प्रदेशकोको अनुभव समेत छ ।

गभर्नर सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषद् लैजान्छ र मन्त्रिपरिषद्ले एकजना गभर्नर नियुक्त गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर