६० फिट लामो आफ्नो पोस्टर देखेर छक्क परे हमाल, भने- यति ठूलो पोस्टर कहिले देखेको थिइन्


काठमाडौं । चलचित्र ‘नरसिंहाः अवतार’ बाट अभिनेता राजेश हमालले आठ वर्षपछि सिने क्षेत्रमा कमब्याक गर्दैछन्। यो आठ वर्षको समयमा उनले कुनै चलचित्र गरेनन् ।
बरु फाट्टफुट्ट केही कार्यक्रमहरुमा सहभागी भने भए। उनले यो आठ वर्ष अफर नआएर चलचित्र गरेनन् वा अफर आएर पनि चलचित्र गरेनन्, त्यो उनैलाई थाहा होला। जे होस, लामै समयपछि भएपनि उनी दिवाकर निर्देशित चलचित्रबाट पुन चलचित्र क्षेत्रमा फर्किएका छन। यो उनी र उनको फ्यान अनि शुभचिन्तकको लागि खुसीको कुरा हो।
उनको कमब्याक चलचित्रको केही दिन अघि मात्र दुइटा पोस्टर सार्वजनिक गरिएको थियो। एउटा पोस्टरमा उनी सिंगल फिर्चड थिए भने अर्को पोस्टरमा नायक राज कटुवाल। पोस्टर काठ्माडौंको ग्लोबल कलेजमा एक कार्यक्रममाबीच पाँच सय विद्यार्थीहरुको उपस्थितिमा सार्वजनिक गरिएको थियो।
पोस्टर सार्वजनिक भएपछि उनी आफै छक्क परे। कार्यक्रममा निर्माणपक्षले ग्लोबल कलेजको अग्लो भवनबाट उनको ६० फिट लामो पोस्टर सार्वजनिक गरेको थियो। आफू फिर्चड चलचित्रको त्यति लामो पोस्टर देखेर नायक हमाल आफै चकित बने। उनको ६० फिट लामो पोस्टर एक हुल विद्यार्थी मिलेर तल ग्राउन्डमा पनि फिजारेर बोकिरहेका थिए।
उनले कार्यक्रममै आफ्नो फिल्मी करिअरमा यति लामो पोस्टर अहिलेसम्म नदेखेको बताए । उनले भने,’मैले चलचित्र खेलेको कति वर्ष भयो त्यो मलाई थाहा भएन, तर जति सुकै वर्ष भएपनी यति ठुलो पोस्टर मैले कहिले देखेको थिइन् ।’
केही वर्षको अन्तरालमा चलचित्र गरेकोले आफ्नो लागि ‘नरसिंहाः अवतार’ विशेष रहेको पनि उनले कार्यक्रममा सुनाए। ‘मैले दिवाकरजी जस्तो निर्देशक पाए। उहाँले निर्देशन गरेको चलचित्रमा खेल्ने पाए। त्यसमा म एकदमै खुसी छु।’
निर्माणपक्षका अनुसार नायक हमालको ८ वर्षपछिको कमब्याक चलचित्र भएकाले पनि केही नयाँ तरिकाले पोस्टर सार्वजनिक गरिएको हो।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, निर शाह, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
चलचित्रमा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ ।