गणतन्त्र, तिमीलाई स्वागत छ !
गणतन्त्र तिमीलाई स्वागत छ !
तिमीलाई शुभकामना र आशिर्वादले चुम्नु छ।
तर नियती कस्तो !
फक्रन नपाउँदै कोपिलामै टुसुक्क बस्नुको पीडा छ,
ओहो, कसले सुन्ने, कसले बुझ्ने
मैले तिमी आएको बाटो टुँढिखेलबाट हेर्दा
कति सुनगाभा फुलेका थिए
बाटोरि ढकमक्क गुलाबका फुलहरू स्वागत गर्दै थिए
तिमी आयौ वसन्तसँगै, शिशिरको न्यानो बोकेर
मेरो घरसम्म तिम्रो पाइला चलेन
तिमी कति स्वार्थी र निष्ठुर
यति धेरै माया दिँदा,
महलको रंगिन सपनामै हरायौ तिमी
‘ म’ बाट शासित हुनुको मज्जा,
तिमीले अनुभव गर्नै सकेनौ।
अझै सुँघेर अनुभव गर त
मेरो पाखुरीको पसिनाको सुगन्ध
तिमीभित्र महक बनेर बसेको छ
तिमी ‘जिम्मा’मा थियौ रंगहरू भर्न
विचित्रको ‘क्यानभास’ मा धाँजा फाटेको छ
कमजोर जग भएको महल जस्तो
हरेक चोटी परीभाषा र व्याख्या खोज्दा
म मेरा छिमेकीसँग लज्जित हुनु परेको छ
तिमी आयौ
मैले तिम्रो स्वागतमा पटका पडकाइनँ कि
रंगिन बत्तीहरूका दियो सजाइनँ कि
नाचगानले सडक तताइनँ कि
वस्ती वस्तीमा मीठो पकवान पकाइनँ कि
तर खोई,
तिमी गरिबको वस्ती वस्तीमा छाएनौ
हो
क्यानभासमा तिमीलाई उतार्ने अनुहारहरू
तिमीसँगै अदालतको कठघरामा छन्
आफ्नै लेखाइको, आफैं व्याख्या खोज्दैछन्
आ-आफ्नो तर्कले आफूतिर तान्दैछन्
गरिबको झुपडीबाट उठेको आवाज
गणतन्त्र ! तिमी न्यायको कठघरामा छौ
तिमी ईर्श्या र जुगांको लडाइँबाट जोगिनुपर्छ
अहंकार र आडम्बरको भासबाट निस्कनुपर्छ
तिमी स्वतन्त्रता र समानताले विभुषित हुनुपर्छ
अधिकार र कर्तव्यले सुशोभित बन्नुपर्छ
न्यायले निष्कलंकित तराजु बन्नुपर्छ
गणतन्त्र,
तिमी आऊ गरिबको वस्तीमा छाउ
न्याय र समानताको देवता बनेर आऊ
गणतन्त्र तिमीलाई स्वागत छ
महाराजगन्ज नर्सिङ क्याम्पस, स्ववियु कोषाध्यक्ष