निषेधाज्ञाको फाइदा उठाउँदै चोरी गर्नेहरु कपनबाट पक्राउ
काठमाडौं । काठमाडौंको कपनमा मोवाइल र स्कुटर चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग कपन र महानगरीय प्रहरी वृत महाराजगंजको सादा पोसाकको संयुक्त टोलीले उनीहरुलाई कपनबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ४ थान मोवाइल र बा ८३ प ३४३६ नम्बरको स्कुटरसमेत बरामद गरेको छ ।
चोरीको स्कुटर प्रयोग गरी कपनमा मोवाइल पसलबाट चार्जमा राखेको मोवाइल चोरी गर्ने गरेको महानगरीय प्रहरी प्रभाग कपनका इन्चार्ज प्रमुख भगवती तिमिल्सेनाले नेपालप्रेसलाई बताइन् ।
उनले भनिन्,‘ उनीहरुको ३ जनाको ग्याङ रहेछ । तीन जनै स्कुटरमा चढेर मोवाइल पसलमा जाने मोवाइल किन्ने बाहनामा चार्जमा राखेको मोवाइल चोरी गर्ने, बाटोमा फोनमा कुरा गर्दै हिडिरहेकाहरुको पनि मोवाइल चोरेर भाग्ने गरेका थिए । ’ एक जना भने फरार रहेका छन् ।
उनका अनुसार प्रहरीले लामो समयदेखि निगरानी गरिरहेको थियो । उनीहरुले निषेधाज्ञामा पनि चोरी गर्ने गरेको पाइएको उनले बताइन् । उनीहरुले प्रयोग गरेको स्कुटर गत चैतमा हराएको उजुरी परेको थियो । थप कारबाहीका लागि प्रभागले महाराजगंज वृतमा पठाएको छ ।