एक शताब्दी पुरानो परीक्षा विधिबाट बाहिर निस्कौं – Nepal Press
एसईई बहस

एक शताब्दी पुरानो परीक्षा विधिबाट बाहिर निस्कौं

‘परीक्षाविनाको सिकाइ हुँदै हुँदैन,’ नेपालको शिक्षा प्रणालीमा यो सोच ठूलो समस्याको रुपमा विकास भएको छ । यसकारण सिकाइ र मूल्यांकनलाई छुट्याएर हेर्ने चलन छ । यो कमजोर शैक्षिक चेतनाका उपज हो । यो समस्या आधुनिक शिक्षाको नाममा एसएलसी बोर्डको स्थापना गरेदेखि सुरु भयो ।

एसएलसी बोर्डको परिकल्पना तत्कालीन अवस्थामा इस्ट इण्डिया कम्पनीले चलाएको शिक्षा प्रणालीसँग मिल्दो थियो । त्यही शिक्षा प्रणालीको नक्कलमा यो परीक्षा बोर्ड स्थापना भयो । त्यसले मूल्यांकनलाई अत्यन्तै साँघुरो रुपमा लियो । बोर्डले ‘तीन घण्टा परीक्षा लिए पुग्छ’ भन्ने मान्यता राख्यो ।

यसैको निरन्तरता हो एसईई पनि । दुर्भाग्य त विसं १९९० मा परीक्षा लिने विधि जुन छ, अहिले पनि त्यही छ । यदि महामारी नहुने हो भने यसपाली पनि एसईई त्यसरी नै लिइन्थ्यो । प्रश्नहरूमा १९९० र अहिलेको अवस्थामा ठूलो फरक छैन । परीक्षा बोर्डको क्षमता पनि रेस्टिक्टेड भयो । त्यहाँ भएका मान्छे, ब्यूरोक्रेसी र उनीहरूले सल्लाह दिने सबै क्षेत्रमा परीक्षा सर्वेसर्वा भइदियो ।

विसं २०२८ सालपछि राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रको विकास भयो । त्यसपछि सरकारका दुई काम देखिए । एउटा पाठ्यक्रम र पाठ्यपुस्तक बनाएर पठाउने र अर्कोचाहिँ परीक्षा लिनुपर्छ भन्नेमा जोड दिने । यो मान्यताले विद्यालयलाई सिकाइ गर्ने थलो भन्दा पनि पढाएर कोर्स सिध्याउने, सूचना दिने र जाँच लिने ठाउँको रुपमा स्थापित ग¥यो । यही सोचाइबाट सञ्चालित विद्यालयमा सिकाइमा विविधीकरण भएन ।

विविधीकरणको अर्थ सिकाइलाई विभिन्न ढंगमा बाँड्न सकिन्थ्यो । निश्चित उमेर समूहपछि विदेशमा वर्किङ स्टडी टिम हुन्छ । हाम्रोमा
वर्क र स्टडी छुट्याइयो ।

विद्यार्थीले शारीरिक कामको परिश्रम गर्नुहुँदैन, हातै चलाउनुहुँदैन । बढी भन्दा बढी कलम, किताब, कपी, कलम सिकाइको दायरा यही मात्र हो भन्ने बुझाइयो ।

यस्तो बुझाइ तीन घण्टे जाँचबाट भयो ।

अहिले हामी जुन अवस्थामा आइपुगेका छौं, यो बेलामा पश्चाताप भएको हुनुपर्छ । यतिका वर्षसम्म हामी यति रेस्टेक्डड भएका रहेछौं, यति गाह्रो भएको रहेछ । आफूले चिनेजानेको विद्यार्थीलाई पनि मूल्यांकन गर्न सक्ने परिपाटी रहेनछ । यो परिपाटीमा न हामी शिक्षकलाई विश्वास गर्छौं । न त राष्ट्रिय परीक्षा बोर्डलाई नै । यतिका वर्षसम्म परीक्षा चलाउँदै आइयो, क्षमता बढाउन सकिएन ।

मूल्यांकनका विधि

दास्रो लहरको महामारी आउनुअघि हामी एउटा स्कुल भ्रमण गर्न गयौं । त्यहाँको गणित शिक्षकले एउटा प्रश्न उठाउनुभयो, ‘सर, बच्चाहरूले कोठा नाप्न जानेका छन् । तर त्यसलाई भनेर कसरी मूल्यांकन गर्ने ?

‘जाने भन्ने कुरा कसरी थाहा भयो तपाईंलाई,’ मैले सोधेँ । ‘उनीहरूले कोठाको लम्बाइ चौडाई नापेर देखाए,’ उहाँले भन्नुभयो । मैले सुझाएँ, ‘त्यसोभए त्यही लेख्नुस् न । एउटा फाराम बनाउनुस् । डायरी बनाउनुस् र नोट गर्नुस् । यो दिनमा यो विद्यार्थीले यति नाप्यो भनेर । तपाईंसँग मोबाइल छ उसले नाप्दै गरेको फोटो खिच्नुस् । त्यो भन्दा ठूलो उसको सिकाइको प्रमाण अरु के हुन्छ ? उसलाई प्रस्तुत गर्न लगाउनुस् । मैले कसरी नाप्न सिकेँ भनेर लेख्न लगाउनुस् । चित्र कोर्न लगाउनुस्, त्यसलाई पनि स्केच बनाएर रेकर्डमा राख्नुस् ।’

मूल्यांकनमा आफ्नै विधिहरू हुन्छन् । यो विधिले मुल्यांकन गर्नु अथेन्टिक एससमेन्ट हो । यो कुरामा प्रणाली लैजाने हो भने सिकाइ र मूल्यांकन सँगसँगै हुन्छ ।

तर हाम्रो चिन्तन, मेसिनरी लगायत सारा कुराले जाँच नै बुझेको छ । केही दिनअघि एकजना साथीले भन्नुभयो, ‘त्यो एसईईकोचाहिँ अनलाइन भए पनि परीक्षा नै गर्नुपर्छ ।’

बालचन्द्र लुइँटेल

परीक्षाप्रतिको यो बुझाइमा १९९० कै लिगेसी छ । यो लिगेसी छाडिएन भने खतरनाक हुन्छ । शिक्षाले खराब लिगेसीहरूलाई छाड्न सिकाउनुपर्ने, झन्झन् बोकेर हिँड्न सिकाउने हो कि ! त्यसैले हाम्रो शिक्षा बढी भन्दा बढी ट्रान्जेक्सनल भयो । जे चाहिएको छ त्यति दिने, तर ट्रान्सफर्मेन्नल भएन ।

एसईईप्रतिको तर्क पनि परीक्षा नहुँदा विद्यार्थीले पढ्दैनन् भन्ने छ । पढ्न त हिजो पनि कहाँ पढ्थे र ! उनीहरूले सर्टिफिकेट प्राप्त गर्नलाई कण्ठ गर्थे । फर्मुलाहरू दुई चार ओटा कण्ठ गर्थे । यस्तो शिक्षा प्रणाली त बनाउनु भन्दा नबनाइकै बेस लाग्छ ।

मेमोरीको क्रियटिभ युज गर्ने र कण्ठ गर्ने कुरा फरक हो । मेमोरी सबैलाई चाहिन्छ । सम्झनु कण्ठ गर्नु फरक कुरा हो । अब यो परिस्थितिमा तर्क कस्ता उठ्न सक्छन् भने एसईई भएन, विद्यार्थीले पढ्दैनन् भन्ने कुराचाहिँ तीन घण्टे जाँचसँग जोडिने हो भने त्यो समाजको जमात, त्यो शिक्षा प्रणाली बन्द गरे हुन्छ ।

हामीले शिक्षालाई इनोभसनतिर पौ लैजानुपर्ने हो । तर यो नगरिकन विद्यार्थीलाई रटाएर, थर्काएर पढाउनु राम्रो होइन । त्यसरी गर्ने हो भने कस्तो समाज बनिरहेछ त ?

सर्टिफिकेटको लागि १२ मा परीक्षा लिँदा हुन्छ । १२ कक्षाअघि आफूले पढाएको विद्यार्थीलाई राम्रोसँग आफूले नै मूल्यांकन गर्नुपर्छ । मूल्यांकन गर्नु भनेको के त ? एउटा विद्यार्थीले वर्षभरि पढ्यो भने ऊ कहाँ छ भनेर ग्रेड दिने आधारहरू प्रस्तुत गर्नुपर्‍यो । जस्तो उसले यो यो काम गरेको छ, यो-यो प्रोजेक्ट गरेको छ । एउटा एभिडेन्स हुनुपर्छ ।

मेरो कम्प्युटरमा मैले पढाउने विद्यार्थीहरूको कमसेकम उनीहरूले एउटा सेमेस्टरमा ६ महिना उनीहरूले गरेको कामको फेहरिस्त छ । उनीहरूलाई पठाउँछु कि तिमीहरूको यति ग्रेड आयो, फाइनल ग्रेड यति हुन्छ भनेर । सबै जोडेर यति आयो भनेर भन्छौं । यो प्रक्रियाबाट नै हो हामीले मूल्यांकन गर्ने ।

परीक्षा खारेज गरौं

अहिले स्थानीय निकायमा पनि एउटा लहर आएको देख्छु- परीक्षा लिने । उनीहरूले केवल जानेकै त्यतिमात्र छ । सिकाइकेन्द्रित सोच भएन । मैले पटक-पटक भनिरहेको छु कि अब परीक्षा बन्द गरौं । सिकाइ र मूल्यांकनमा जोड दिऔं ।

बरु राम्रो गरिरहेका देशका शिक्षा प्रणालीबाट सिकौं । नयाँ-नयाँ मुलुकले जसरी शिक्षामा ग्रोथ गरिरहेका छन्, त्यो ग्रोथ परीक्षा लिएर भएको छैन । धेरै भन्दा धेरै बच्चालाई सिकाइमा जोडेर, धेरैभन्दा धेरै खुला सिकाइमा लगेर भएको छ ।

फाइल तस्बिर

राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा होइन, बरु शिक्षकलाई तालिम दिने सिकाइलाई जतिसक्दो राम्रो बनाउने काम गर्र्नुपर्‍यो । खाली प्रश्नपत्र मात्र बनाउने काम गर्ने होइन । एउटा विद्यार्थीले प्रस्तुति दियो, प्रस्तुति दिएको कुराको मूल्यांकन कसरी गर्ने त ? त्यसबारे केही गरेको छ बोर्डले ? एउटा विद्यार्थीले राम्रो प्रोजेक्ट वर्क गर्‍यो, त्यसको मूल्यांकन कसरी गर्ने ? त्यो कसले दिन्छ त ? त्यो म्यानुअल कसले बनाइदिन्छ ? कार्यविधि पनि प्रश्न गर्नुपर्ने भएको छ ।

सिकाइउन्मुख बनाउने हो भने मूल्यांकन कसरी व्यवस्थित पार्ने, छलफल गर्न भन्ने बारेमा छलफल चलाउनुपर्छ । शिक्षकहरूलाई सहकार्य गर्दै विद्यालयलाई नै बढी भन्दा बढी उत्तरदायी बनाउँदै जानुपर्छ । अहिले बजेटमा जुन परिणाममुखी भनिएको छ, त्यो दिनका लागि पनि विद्यालयलाई सिकाइनेन्द्रित गराउनैपर्छ । सिकाइकेन्द्रित विद्यालयको मात्रै भविष्य छ ।

अभिभावकले पनि यसमा ख्याल गर्नुपर्ने कुरा छ । शिक्षकहरूको अभिभावकप्रति पनि गुनासो छ, ‘सधैं ग्रेड खोज्ने । आफ्ना सन्तानलाई टर्चर दिने ।’

भोलि इन्जिनियर डाक्टर भएर मात्रै भविष्य बन्ने होइन ।

यसरी दबाब दियो भने पनि शिक्षा प्रणाली राम्रोसँग बन्दैन । हामीले १५ वर्षयता हेरौं । एसएलसीको ग्रेड र हाइयर एजुकेशनको फेल पास हेरौं । कति कम छ । पहिल्यैदेखि नै पास प्रतिशत न्यून छ ।

किन यस्तो भयो त ? सिकाइलाई प्राथमिकता दिएको थियो भने विद्यार्थी सफल हुन्थे । सिकाइलाई प्राथमिकता दिएनौं, जाँचमा लेख्ने कुरालाई प्राथमिकता दियौं । जेमा प्राथमिकता दियौं यसले गर्दा विद्यार्थीको करिअर बिग्रियो ।

एसएलसी र र १२ मा राम्रा गरेका विद्यार्थीको १५ वर्षयता डाटा हेर्ने हो भने उनीहरूको स्नातक लेभलमा राम्रो छैन । यो विषयमा घोत्लिएर हेर्नुपर्ने हुन्छ ।

हामी हाम्रै छिमेकीको अगाडि पनि ७० वर्ष पछाडि परिसकेका छौं । यो सन्दर्भमा परीक्षा, एसइई जस्ता साना तिना स्वार्थले विद्यार्थीको भविष्य अन्योल नपारौं ।

( प्रा.डा. लुइँटेलसँग नेपाल प्रेसका लागि समर्पण श्रीले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *