प्रदेश १ को बजेट : पोहोरको भन्दा आकार घट्ने – Nepal Press

प्रदेश १ को बजेट : पोहोरको भन्दा आकार घट्ने

इटहरी । प्रदेश १ सरकारको चौथो बजेट भोली आउँदैछ । बजेटको आकार गत बर्ष भन्दा सानो हुने भएको छ ।

बजेटको आकारका विषयमा आर्थिक मामिला तथा योजना मन्त्रीले सार्वजनिक रुपमा बोल्न चाहेका छैनन् । तर, बजेट निर्माणमा सक्रिय उच्च कर्मचारी श्रोतका अनुसार बजेट गत बर्षभन्दा घटेर आउने भएको छ ।

गत बर्षमा आर्थिक बर्ष २०७७/७८ को लागी ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश सरकारले ल्याएको थियो । यो बर्ष बजेट गत बर्ष भन्दा ८ अर्ब सम्म कम हुनसक्ने श्रोतले बताएको छ ।

‘गत बर्ष गलत आर्थिक प्रक्षेपण गरेर पुर्व अर्थमन्त्रीले प्रदेश सरकारको क्षमता भन्दा धेरै बजेट ल्याउनु भयो’, श्रोत भन्छ, ‘यस्तो समस्या भयो कि बजेट सार्वजनिक भएपछि मन्त्रालयले पत्र काटेर आधा मात्रै खर्च गर भन्नुपर्ने भयो ।’
२० अर्ब हाराहारीको मात्रै श्रोत हुँदा ४१ अर्ब हाराहारीको बजेट ल्याएर सरकारका योजनाहरु डामाडोल भएको प्रदेश सरकारका मन्त्रीहरुनै बताउँछन ।

आर्थिक बर्ष २०७८/७९ को बजेटले कोभिड-१९ सँग जुध्ने पुर्वाधारदेखि जनशक्तिको क्षेत्रमा बढि ध्यान दिने श्रोतले बताएको छ । प्रदेश सरकारले संचालन गरेका सडक, पक्की पुल लगायतका पुर्वाधारहरुका काममा बजेटको केन्द्रित हुने श्रोतको भनाइ छ ।

प्रदेशसभा सदस्य नरहेका मन्त्रीबाट बजेट आउँदै

गत वर्ष माओवादी केन्द्रका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बजेट ल्याएका थिए भने यो आर्थिक बर्षको बजेट भने माओवादी केन्द्रबाट एमालेमा आएर अर्थमन्त्री बनेका टंक आङ्बुहाङ्ले ल्याउने भएका छन् । आङ्बुहाङ गत चैत १३ गते आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।

एमाले माओवादी एकता अगाडिसम्म उनी प्रदेश १ को माओवादीको संसदीय दलको नेता रहेका थिए । एमाले छिरेर मन्त्री बनेको ताप्लेजुङ ‘ख’का प्रदेश सांसद आङ्बुहाङ्लाई दश दिनपछि चैत २३ मा माओवादी केन्द्रले संसदबाट हटाएको थियो । उनलाइ मुख्यमन्त्री शेरधन राईले पुनः मन्त्रीको सपथ खुवाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर