निषेधाज्ञासँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार – Nepal Press

निषेधाज्ञासँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

काठमाडौं । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७७ अनुसार गत चैतको तुलनामा वैशाखमा मात्र कारोबार रकममा साढे दुई अर्बभन्दा बढीले कमी आएको छ ।

निषेधाज्ञा सुरु हुनुअघि डिजिटल कारोबार लगातार बढिरहे पनि निषेधाज्ञा सुरु भएसँगै कारोबारको संख्या र परिमाण घटेको राष्ट्र बैंकको तथ्याङ्कमा छ । निषेधाज्ञा लागू भएसँगै कनेक्ट आइपिएस, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान मोबाइल वालेट र इकर्मसमार्फत हुने कारोबार रकममा कमी आएको हो ।

गत चैतमा डिजिटल भुक्तानीमार्फत एक खर्ब ६६ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएकामा वैशाखमा उक्त कारोबार रकममा कमी आई एक खर्ब ६४ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । गत वर्षकोे निषेधाज्ञासँगै कारोबार रकममा वृद्धि हुँदै आएकामा निषेधाज्ञा लागू भएसँगै कारोबार रकममा कमी आएको हो ।

कुनको कति रकम घट्यो ?

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत चैतकोे तुलनामा कनेक्ट आइपिएसमार्फत हुने कारोबार रकममा ९३ करोड २० लाखले कमी आएकोे छ । वैशाखमा कनेक्ट आइपिएसमार्फत एक खर्ब ४१ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । गत चैतमा एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख बराबरको कारोबार भएको थियो भने फागुनमा एक खर्ब १० अर्ब ५७ करोड २० लाख बराबरको कारोबार भएको थियो ।

चैतमा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आइपिएसको प्रयोग भएकामा वैशाखमा १८ लाख ४३ हजार ५५१ पटक मात्र कारोबार भएको छ । यस्तै गत चैतकोे तुलनामा इन्टरनेट बैंकिङमार्फत हुने कारोबार रकममा समेत कमी आएको छ । वैशाखमा दश अर्ब ८० करोड बराबरको कारोबार भएकामा गत चैतमा दश अर्ब २१ करोड पाँच लाख बराबरको कारोबार भएको थियो ।

गत चैतमा वालेटमार्फत ११ अर्ब २१ लाख बराबरको कारोबार भएकामा वैशाखमा १० अर्ब १० लाख बराबरको कारोबार भएको छ । क्युआरमा आधारित भुक्तानीमार्फत गत चैतमा दुई अर्ब ७२ करोड २२ लाख बराबरको कारोबार भएकामा वैशाखमा दुई अर्ब ५२ करोड ९० लाख रुपैयाँ कारोबार भएको छ ।

यस्तै गत चैतमा अनलाइन (इ-कमर्स) का माध्यमबाट दश अर्ब ५८ करोड बराबरको कारोबार भएकामा वैशाखमा कारोबार रकममा कमी आई ७६ करोड ८० लाख बराबरको कारोबार भएको छ । अन्य डिजिटल माध्यमबाट गत चैतको तुलनामा वैशाखमा कारोबार रकममा कमी आए तापनि मोबाइल बैङ्किङमार्फत हुने कारोबार रकममा केही वृद्धि भएको छ ।

गत चैतमा मोबाइल बैङ्किङमार्फत ४८ अर्ब ६५ करोड २० लाख बराबरको कारोबार भएकामा वैशाखमा ४८ अर्ब ८८ करोड ७० लाख बराबरको कारोबार भएको छ । गत चैतको तुलनामा वैशाखमा २३ करोड ५० लाख रुपैयाँ बराबरले वृद्धि भएको छ ।
-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर