अब विद्यालय तहमै स्काउट शिक्षा : शिक्षकलाई तालिम, विद्यार्थीलाई स्वयंसेवी अभियान – Nepal Press

अब विद्यालय तहमै स्काउट शिक्षा : शिक्षकलाई तालिम, विद्यार्थीलाई स्वयंसेवी अभियान

काठमाडौं । नेपाल स्काउटका अध्यक्ष लोक बहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताएका छन् ।

शनिबार नेपाल स्काउटको ७०औं स्थापना दिवसको अवसरमा अध्यक्ष भण्डारीले बालबालिकाको व्यक्तित्व विकासको वृद्धि गर्दै सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता पर्ने कुरा विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउन आवश्यक रहेको बताए ।

उनले विद्यालय तहको पाठ्यपुस्तकमा समेत स्काउटको बारेमा राखिएको र बजेटमा पनि स्काउटलाई विद्यालयमा पुर्‍याउने कुरा आएको उल्लेख गर्दै शिक्षकहरूलाई तालिम दिएर विद्यार्थीहरूलाई स्वयम्‌सेवी भाव जगाउने पनि बताए । उनले भने, ‘स्काउटको संरचना स्थानीय तहसम्म गएको छ ।

विद्यालयमा स्काउट पुर्‍याउने काम बजेटमै छ । पाठ्यपुस्तकमै ६ कक्षमा आइसकेको छ । अब शिक्षकहरुलाई तालिम दिने र उनीहरूले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर स्वयम्‌सेवी भाव जगाउने, सबल व्यक्ति, सक्षम व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता तल्लो तहमा छ भन्ने बुझाउने, नैतिक शिक्षा दिन्छौं तल्लो तहमा । आदरभाव सिकाउँछौं ।’

अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको पनि बताए । समाजमा स्वयमसेवा गर्नेहरू घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयम्‌सेवी बनाउने गरेको उनले बताए ।

केही समय अघिसम्म निष्क्रिय देखिएको नेपाल स्काउटले पछिल्लो समय आफ्नो सक्रियता देखाएको छ । देशभरको स्थानीय तहसम्म आफ्नो संरचनालाई पुर्‍याउँदै हाल कोरोनाको महामारीमा पनि स्काउटले स्वयम्‌सेवी भूमिका खेलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *