वडा कार्यालयले पशु बिमा गरिदिएपछि कृषक खुसी – Nepal Press

वडा कार्यालयले पशु बिमा गरिदिएपछि कृषक खुसी

अर्घाखाँची । वडा कार्यालयले व्यावसायिक पशुपालन गरिरहेका अर्घाखाँचीस्थित शिवसताक्षी गाउँपालिका– ६ मा पशु बिमा गरिदिएपछि कृषक खुसी भएका छन् ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीले पशुपालनमा प्रोत्साहन र वडाका बासिन्दाको आयआर्जन बृद्धि गराउन राहतका कार्यक्रम ल्याएपछि किसान पशुपालनमा आकर्षित भएको बताए । वडामा ‘एक घर एक पशु बिमा’ कार्यक्रम लागू भएको छ ।

यो कार्यक्रम जिल्लामा संभवत पहिलो हो । किसान भन्छन् , ‘वडाले चौपायाको बिमा गरेपछि अब गोठैभरी पशु पालेर आयआर्जन बढाइन्छ ।’
वडाले सार्वजनिक सूचना प्रकाशित गरेर ‘एक घर एक पशु बिमा’ कार्यक्रममा सहभागी हुन वडाका बासिन्दालाई आह्वान गरको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाको यो कार्यक्रममा १६० घर परिवारका सदस्य सहभागी भएका छन् ।

सहभागी किसानले गाई, भैसी, बाख्रा, बंगुरलगायतका पशुको बिमा गरेको वडा अध्यक्ष खुलालले बताए । पशुको बिमा गरेबापतको लाग्ने शुल्क वडा कार्यलयले बिम कम्पनीलाई भुक्तानी दिन्छ ।

‘वडाले पशुको बिमा गरिदिएपछि पशुपालन गर्न निकै हिम्मत बढेको छ’, डेढ लाखमा किनेको भैंसीको एक लाख रुपैयाँ बिमा भएपछि खुसी हुँदै कृषक शर्मिला विकले भनिन्, ‘वडाको यो कार्यक्रमले हामी जस्ता किसानलाई निकै उत्साहित बनाएको छ ।’

भानुभक्त निरौलाका घरमा होलिस्टेन क्रस जातको गाई छ । बजारमा ९५ हजारसम्म मूल्य पर्न जान्छ । शनिबार वडा कार्यलयबाट खटिएको टोलीले गाईको ७५ हजारको बिमा गर्यो । भानुभक्तले भने, ‘बिमा गरेबापतको लाग्ने शुल्क वडाले तिरिदिएपछि किसानको दुवै हातमा जस्तो भएको छ । न त बिमा रकम तिर्नु पर्यो न त कुनै जोखिम मोल्नु पर्यो ।’

निरौलालाई गाईको बिमा गर्नुहोस् भन्दै पहिला धेरै विमा कम्पनी आएका थिए । कुरा नबुझिएपछि किसानले बिमा गरेनन् । निरौलाले भने, ‘वडाले कुरा बुझाएर आफैं बिमा गरिदिएपछि वडाको योजना हाम्रा लागि निकै फलदायी बन्यो ।’

वडाका किसानले पालेका पशुको बिमा एनएलजी कम्पनीले गरिरहेको छ । कम्पनीका अभीकर्ता लक्ष्मीप्रसाद नेपालले भने, ‘वडाका १६० पशुको विमा भएको छ ।’ पशुको स्वास्थ्य परीक्षण स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरेको वडा कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *