मलाई अमेरिका यही ! विदेशबाट फर्केका युवा कृषिकर्ममा रमाउँदै
विदेश जाने खर्च स्वदेशमै लगानी गर्दा चारगुणा बढी कमाइ
धनुषा ।
पैसाके खातिर लोक सात समुन्दर पार
जाईचियै मलेसिया दुबई, कतार
कथिले
जाईचियै मलेसिया दुबई, कतार ।
खरहोटा नै कहियौ घरमे उठेलियै
ओईके ठक्कर, फल हम विदेशमे पाबलियै
रौदे बर्साते काम करैत लाग्ने बुखार
दबाई दारु खेलाहा सब होईछियै बेकार
विजय चौधरी र प्रतिभा चौधरीले गाएको यो ‘थारु गीत’ तराईमा निकै चर्चित छ । गीतमा भनिए जस्तै तराईका युवा साथीभाइको जीवनशैली, लहैलहै, बाध्यताले अनि घुम्नकै लागि विदेश जानेहरु धेरै छन् ।
पछिल्लो समय विदेशबाट फर्किएर स्वदेशमै विभिन्न व्यापार व्यवसाय गर्नेहरु पनि धेरै छन् । विदेशबाट फर्केर र विदेश नै नगइ स्वदेशमै विभिन्न व्यवसाय गर्ने युवाहरुले यो पुष्टि गरेका छन् कि, विदेश जान लाग्ने रकम व्यवसायमा लगानी गर्ने हो भने यहीं मनग्ये कमाउन सकिन्छ । त्यसको एक उदाहरण हुन्, राजकुमार यादव ।
लहान नगरपालिका- १२ का राजकुमार यादव दश बर्ष साउदीमा बिताएर एक वर्षअघि नेपाल फर्किए । नेपालमै व्यवसाय गर्ने योजनामा नेपाल फर्किएका उनले धेरै विकल्पबारे साथीसँग छलफल गरे । र, निष्कर्षमा पुगे- गाउँमै पशुपालन गर्ने । उनले पल्लभी पशुपालन फार्म दर्ता गरे, अनि सुरु गरे भैंसी र माछापालन ।
अहिले यादवको फार्ममा १२ वटा भैंसी र तीनका पाडापाडी छन् । ७ वटा भैंसीले ४५ देखि ५० लिटर सम्म दूध दिन्छन् । बजारको चिन्ता छैन, मागपूर्ती गर्नै हम्मेहम्मे छ । दूध बेच्न बजार धाउनु पनि पर्दैन, घरमै फार्ममै आउँछन् ग्राहकहरु । ‘दूध मात्रै होइन, गोठबाटै गोबर र मल पनि बिक्री हुन्छ’ उत्साहित हुँदै उनी भन्छन्, ‘विदेश नगइ यतै दुःख गरेको भए आज धेरै राम्रो भइसक्ने रहेछ ।’
साउदीमा उनी एक कम्पनीमा मेसिन अपरेटरको काम गर्थे । मासिकि ५० हजार रुपैयाँ कमाउँथे । ‘विदेशमा पनि नराम्रो थिएन’, उनी भन्छन्, ‘तर विदेशभन्दा यतै राम्रो रहेछ । सुरुमा पशुपालनबाट यति कमाइ हुन्छ जस्तो लागेको थिएन, अहिले परिवारसँगै बसेर मासिक ७० देखि ८० हजार रुपैयाँ कमाइरहेको छु ।’
कमाइ ठिकै भए पनि विदेशका अनेक दुःखका अनुभव छन् उनीसँग । भन्छन्, ‘न भाषा बुझिने, हम्पीदप्की पनि सहनैपर्ने ! अहिले त विदेश गएकोप्रति पछुतो लागिरहेछ ।’
उनले अब भैंसी र माछापालनसँगै हाँस, कुखुरा र खसी पनि पाल्ने योजना बनाएका छन् ।
लहान नगरपालिका– १९ नौ डेगाका उमेश चोधरीले पनि विदेशमा ११ बर्ष बिताए । सय कडा पाँच रुपैयाँ ब्याजदरमा एक लाख दश हजार रुपैयाँ ऋण काडेर मलेसिया गएका उनले चार वर्ष श्रम गर्दा पनि ऋण तिर्न सकेनन् । स्वदेश फर्कँदा उल्टै ६० हजार ऋण थियो ।
उनी फेरि श्रमकै लागि थप ऋण लिएर साउदी गए । ड्राइभिङ सिकेर साउदी गएका उनले राम्रो काम पाएनन् । फेरि स्वदेश फर्किए । उनका चारै दाजुभाइ कामका लागि विदेश गए, तर कसैको राम्रो भएन ।
कुल ११ वर्ष विदेशी भूमीमा विताएर उनी कहिल्यै विदेश नजाने सोचमा नेपाल आए । अनि सुरु गरे कुखुरापालन व्यवसाय । ४० हजार लगानीमा सुरु गरेको कुखुरापालनबाट उनले मासिक १५ हजार कमाउन थाले । विदेशी भूमीमा पसिना बगाएकोप्रति पश्चाताप गर्दै उनी भन्छन्– सुरुदेखि नै नेपालमा व्यवसाय गर्न पाएको भए आज धेरै राम्रो भइसक्ने रहेछ ।’
अहिलेसम्म कमाइबाटै कुखुरा फार्ममा लगानी गरेका छन् । फार्मसँगै किराना पसल पनि सञ्चालन गरेका छन् । उनको अहिले मासिक कमाइ ५० हजार हाराहारीमा छ । ‘विदेशमा न विदा पाइन्थ्यो, न विरामी हुँदा उपचार, अहिले परिवारसँगै बसेर विदेशमा भन्दा बढी आम्दानी भइरहेको छ’ खुसी हुँदै उनी भन्छन्, ‘कोही विदेश जाने सोचमा हुनुहुन्छ भने विदेश जाने पैसाले स्वदेशमा आफ्नै काम गर्न सुझाव दिन्छु ।’
चौधरी र यादव मात्रै होइनन्, उनीहरु जस्ता थुप्रै युवाले विदेशबाट फर्किएर स्वदेशमै विभिन्न व्यापार व्यवसाय सञ्चालन गरेका छन् । लहानका उमेश ठाकुर, राजेन्द्र चौधरीले पनि विदेशबाट फर्किएर यहीं विभिन्न कृषि व्यवसाय गरेर मनग्ये कमाइरहेका छन् ।
व्यवसायमैत्री सरकारी नीति
उद्यम गर्न चाहने युवालाई सरकारले पनि विभिन्न कार्यक्रम ल्याएको र विदेशबाट फर्किएकालाई झन् धेरै अवसर भएको उनीहरुको अनुभव छ । सरकारले विदेशबाट फर्किएका युवाहरुलाई सहुलियत दरमा ऋण प्रदान गर्ने र उद्यम गर्न चाहाने युवाहरुलाई ३ देखि ६ प्रतिशत ब्याजदरमा ऋण दिँदै आएको छ ।
यो कार्यक्रम नेपाल राष्ट्र बैंकसँगको सम्झौतामा विभिन्न निजी तथा सरकारी बैकहरुले लागू गर्दैछन् । जसको कार्यान्वयनका लागि आफूहरुले समन्वयकारी भूमिका निर्बाह गरिरहेको बताउँछन्, घरेलु तथा साना उद्योग महासंघ सिरहाका अध्यक्ष राजदेव ठाकुर ।
राष्ट्र बैंकसँगको सझदारीअनुसार बिनाधितो ६ लाख रुपैयाँसम्म उद्योगीले ऋण पाउनेछन् । सरकारी नीतिले युवालाई व्यवसायप्रति आकर्षित गरेको ठाकुरको बुझाइ छ ।
जानेका लागि सीपसँगै स्वदेशमै उद्यमी बनाउने नीति
वैदेशिक रोजगारीमा जान नचाहने र स्वदेशमै सीप सिकेर केही गर्ने युवाका लागि सरकारले सामी परियोजना सञ्चालन गरेको छ । सिरहासहित ३९ जिल्लाका १ सय ५६ स्थानीय तहमा यो परियोजना सञ्चालित छ ।
सिरहाको लहान नगरपालिका, सिरहा नगरपालिका, सुखीपुर नगरपालिका, र अर्नामा गााउपालिकामा परियोजनाले काम गरिरहेको छ । परियोजनाले प्रत्येक पालिकाको चार–चारवटा वडामा समूह बनाएर वित्तीय कक्षा सञ्चालन गरिरहेको छ ।
मुक्ति नेपाल सिरहा सामी परियोजना संयोजक नथुनी मन्डलका अनुसार वित्तीय कक्षामा वैदेसिक रोजगारीबाट आएको रेमिट्यान्स कसरी खर्च गर्ने, बचत कसरी गर्ने, उत्पादनमूलक काममा कसरी लगाउने भन्ने सिकाइन्छ ।
सीप तथा क्षमता बिकास तालिम कार्यक्रमअन्तर्गत युवाका लागि मेसिन, कार्पेन्टर, प्लम्बर हाउस वेरिङलगायतको तालिम जनकपुरस्थित सामी हेल्बेटासले प्रदान गर्छ । त्यसैगरी वैदेसिक रोजगारीमा ठगीमा परेका युवाहरुलाई न्यायमा पहुँच, सूचनामा पहुँच अभीवृद्धि गर्ने कार्यक्रम र सामाजिक परामर्शको काम सामी परियोजनाले सिरहाका चार वटा पालिकामा भइरहेको मन्डलले बताए ।
आर्थिक बर्ष २०६६/०६७ देखि २०७६/०७७ सम्ममा सबभन्दा धेरै धनुषाबाट मात्रै एक लाख ८७ हजार ७८३ जना र दोस्रो सिरहाबाट एक लाख ५६ हजार २० जना वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका छन् । यो तथ्यांकमा रोजगारीका लागि भारत जाने समावेश गरिएको छैन ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार प्रत्येक दिन २ जना नेपालीको शव नेपाल आउँछ । जसमा एक जना मलेसियामा मृत्यु हुनेको शव आउँछ । गत वर्ष सिरहाबाट विदेश गएका २९ जना युवाको मृत्यु भएको थियो ।