उद्योगको नवीकरण गर्न उद्योगीको माग – Nepal Press

उद्योगको नवीकरण गर्न उद्योगीको माग

ऐन संशोधन गरेर अघि बढ्ने उद्योगमन्त्रीको प्रतिवद्धता

रुपन्देही । कोरोना महामारीका कारण लामो समयदेखि नवीकरण रोकिएका उद्योगहरुलाई नवीकरणको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश सरकारलाई उद्योगीहरुले ध्यानाकर्षण गराएका छन् ।

कोभिडको प्रभाव र विभिन्न कारण नवीकरण रोकिएका रोकिएका उद्योगहरुलाई तत्काल नवीकरण गर्न पाउने व्यवस्था मिलाउन उद्योगीहरुले लुम्बिनी प्रदेशका उ्रद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेलाई आग्रह गरेका हुन् ।

उद्योग नवीकरण गर्न नपाउँदा उद्योगीहरुले बैंक कर्जा नवीकरण, सिफारिस, उत्पादन वितरणलगायतका विभिन्न खालका समस्याहरु झेल्नुपरेको र उद्योगहरु संचालनमा समेत कठिनाइ भएको उद्योगी माधवप्रसाद पौडेलले बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले संघले विगत लामो समयदेखि उद्योग नवीकरण सुचारु गर्न पटकपटक आग्रह गर्दा पनि मागको सम्वोधन हुन नसक्दा उद्योगीहरु निराश बनेको बताउँदै तत्काल उद्योग नवीकरण गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारलाई फेरी आग्रह गरेको बताए ।

धेरैजसो साना उद्योगहरु घरेलुमा दर्ता भएको र उनीहरुको नवीकरण अवधि समयमा ख्याल नगरेका कारण बन्दाबन्दीमा समस्या आएको उद्योगीको भनाइ छ । बोहोराका अनुसार यसको व्यवस्थापन अन्य प्रदेश सरकारले कानुन बनाएर गरिसकेपनि लुम्बिनीमा बाँकी रहेको छ ।

उद्योगीको मागप्रति लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले उद्योगहरु नवीकरण गर्न पाउने गरी कानूनी व्यवस्था मिलाउन प्रदेश सरकारले ऐन संशोधन गर्ने तयारीमा रहेको बताइन् ।

उद्योगको माग जायज भएका कारण तत्काल सम्बोधन हुने गरी कानूनी व्यवस्था मिलाउन पहल गर्ने प्रतिवद्धता मन्त्री पाण्डेको थियो । उनले प्रदेशको औद्योगिक विकास, उत्पादन वृद्धि, रोजगारी श्रृजना र स्वरोजगारी अभिवृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर