मालिका गाउँपालिकाले लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउने – Nepal Press

मालिका गाउँपालिकाले लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउने

रुपन्देही । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय रक्सीलाई ब्राण्ड बनाउनको लागि ऐन पारित गरेको छ ।

बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऐन (कोदो तथा खुर्पानीको रक्सी) उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो ।

स्थानीयस्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रुपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका बनेको छ ।

मदिरा ऐनअन्तर्गत मदिरा नियमावली २०३३ ले घरेलु मदिरालाई बिक्री वितरणलाई पूर्णरुपमा प्रतिबन्ध लगाएपनि पालिकाको आयश्रोत बढाउने नाममा घरेलु मदिराको उत्पादनलाई अनुमति दिइएको हो ।

सरकारले अवैध मान्दै आएको घरेलु मदिरालाई मालिकाले ब्राण्डिङ गर्ने नीति पारित गरेपछि यसले चर्चा पाएको छ । आन्तरिक राजश्व विभागले अवैध करार गर्दै उत्पादनमा प्रतिबन्ध लगाएको घरेलु मदिरालाई गुल्मीको मालिका गाउँपालिकाले ब्राण्डिङ गरी बिक्री गर्ने निर्णय गरेको हो ।

गाउँसभाले केन्दीय ऐनसँग बाझ्ने गरी स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको छ । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गर्न पाइने र स्थानीयतहको आयश्रोत वृद्धि हुने पालिकाको अनुमान छ ।

संघीय ऐनअनुसार मदिरा उत्पादन तथा बिक्रिबितरणको एकाधिकार आन्तरिक राजश्व विभागकोे छ । गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले भने देशका विभिन्न स्थानमा घरेलु मदिरा उत्पादन र बिक्री वितरणको अध्ययन गरेपछि यस्तो ऐन ल्याइएको बताएका छन् । स्थानीयस्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूल खेर गहिरहेकाले त्यसबाट गुणस्तरीय मदिरा उत्पादन गर्ने ऐन बनेको प्रवक्ता गिरीले बताए ।

गाउँमा अवैध ढंगले उत्पादन भएका मदिरा भट्टीले स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले गुणस्तर मापन गरी स्टीकर टाँस्ने र सिलबन्दी गर्ने गरी ऐन बनाइएको गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *