नेप्सेका सीईओ भन्छन् – बोर्डले गलत विश्लेषण गरेर सूचना निकाल्यो, ५१ कम्पनी सबै खराब छैनन् (भिडियो)
काठमाडौं । नेपाल धितोपत्र वोर्डले केही दिनअगाडि बजारमा चलखेल गरेका भन्दै ५१ कम्पनीको सूची प्रकाशित गर्यो । बोर्डको सो कदमले धितोबजारमा ठुलै हलचल ल्याइदिएको छ ।
बोर्डले प्रकाशित गरेको सूचीप्रति नेप्सेका प्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले खुल्ला असन्तुष्टि व्यक्त गरेका थिए । यसले सरकारी निकायहरुबीच नै असमझदारी र समन्वय अभाव देखियो । यता, अर्थमन्त्री विष्णु पोडेलले धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर बजारमा नकारात्मक हस्तक्षेप नगर्न सचेत गराएका छन् ।
के बोर्डले यसरी सूचना निकालेर लगानीकर्तालाई सचेत गराउनु नकारात्मक हस्तक्षेप नै हो त ? सरकारी निकायहरूबीच नै किन समन्वयको अभाव भयो ? यस विषयमा हामीले नेप्सेका अध्यक्ष चन्द्रसिंह साउदसँग कुराकानी गरेका छौं ।
– धितोपत्र बोर्डले ५१ कम्पनीको सूची प्रकाशित गर्दा नेप्सेका सीईओले त्यसको विरोध गरेको देखियो । नियामक निकाय धितोपत्र बोर्डलाई नेप्सेले चुनौति दिन खाजेको हो कि अन्तरसरकारी समन्वय कमजोर भएको हो ?
तपाईंले संकेत गर्न खोज्नुभएको जस्तो धितोपत्र बोर्ड र नेप्सेबीच कुनै पनि द्वन्द्व छैन । तपाईजस्ता मिडियाकर्मीले पनि बुझाइको कमी भएर गलत प्रचार गर्नुभयो कि जस्तो लाग्छ ।
– मैले भन्न खोजेको कुरा के हो भने जुन प्रक्रिया र ढङ्गबाट काम हुनुपथ्र्यो, त्यसरी भएन । यसमा धितोपत्र बोर्डको उद्देश्य ठिक हो, तर प्रस्तुति चाहीँ बिग्रियो । भएको यत्ति हो । नेप्सेमा २२० भन्दा बढी कम्पनीहरु लिस्टेड छन् । त्यसमध्ये ५१ कम्पनीको सूची प्रकाशित गरेर चाहीँ किन रोइलो गर्नुपर्ने हो ?
कम्पनीसम्वन्धी सम्पूर्ण जानकारी नेप्से तथा कम्पनीको वेबसाइटमा प्रकाशित छ । सेयर बजार घट्यो भनेर आन्दोलन हुने हाम्रो जस्तो मुलुकमा यस्ता खालका निर्णय गर्दा विचार पुर्याउनुपर्ने हुन्छ । ५१ कम्पनीको सेयर बेच्ने लगानीकर्तालाई त असर नगर्ला, तर सेयर किन्ने लगानीकर्तालाई असर गर्ने भएकाले मेरो चासो त्यसतर्फ हो ।
नेप्से घटोस् वा बढोस् मतलव नराखी आफूले लगानी गरेको सेयरले भोलिको दिनमा दिन सक्ने प्रतिफल हेर्नुपर्छ । लगानी गरेको कम्पनीले दिएको लाभांशले बैंकको व्याज तिर्न सक्छ वा सक्दैन भन्ने कुरालाई बढी महत्व दिनु पर्छ । यसरी लगानी गरियो भने नेपालको पूँजी बजारमा ‘विन-वीन’अवस्था रहन्छ । घाटा कसैले खाँदैन ।
नेपालको सेयर बजारमा नयाँ लगानीकर्ता आइरहेको अवस्थामा एकैपटक बजार धेरै तल भएर उनीहरु बाहिरिने अवस्था बन्यो भने नेपालको पुँजी बजारको विकासमा बाधा पुग्न सक्छ कि भन्नेतर्फ मेरो चिन्ता हो ।
– नेप्से फ्रन्टलाइन रेगुलेटर पनि हो । सूची प्रकाशन गर्ने समयमा तपाईहरुसँग छलफल भएन ?
नेपाल स्टक एक्चेन्जसँग बोर्डले यस बिषयमा कुनै पनि छलफल गरेन । उहाँहरुले आफै सूची प्रकाशन गर्नुभएको हो । यसमा नेप्सलाई कुनै जानकारी थिएन् ।
– धितोपत्र बोर्डले बजारमा चलखेल भइरहेको बताएको छ । ती कम्पनीहरुले सेयर कर्नरिङ, भित्री कारोबारजस्ता चलखेल गरी मूल्य ३ सय प्रतिशतसम्म बढाएको भन्ने बुझाइ धितोपत्र बोर्डको छ । बोर्डको निष्कर्ष यस्तो आइरहँदा नेप्सेले बोर्डलाई सहयोग किन नगरेको ?
एक हजारमा रहेको नेप्सेको इन्डेक्स बढेर ३ गुणाले बढेर ३ हजार पुगेको छ । ३ सय प्रतिशत त नेप्सेको इन्डेक्स नै बढेको छ नि । बोर्डले प्रकाशन गरेको सूची हेर्नुभयो भने सबै खराब कम्पनी छन् त ? त्यसैले बोर्डले सूचना निकाल्दा नै गलत व्याख्या बिश्लेषण गरेको देखिन्छ । फेरी सेयरको मूल्य बढेर यही नै पुग्छ वा यति हुन्छ भन्ने आधार के हो ?
गत बर्ष लकडाउनको समयमा भारतको मुम्बई स्टक एक्चेञ्ज करिब २३ हजारबाट बढेर ४५/४६ हजार पुग्यो नि । त्यसैले, हाम्रो देशमा मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा नै यही भइरहेको छ । मूल्य बढ्ने वा घट्ने संयन्त्रको मापन गर्ने सेयर बजारमा निश्चित विधि वा प्रक्रिया नभएकाले मूल्यलाई ठुलो विषयवस्तु बनाउन आवश्यक छैन ।
– बोर्डले चलखेल भएरै त भनेको होला नि ?
चलखेल रोक्नलाई त नेप्सेले अनलाइनबाट कारोबार गर्न मिल्ने प्रणाली ल्याएको हो । रियल टाइममा अहिले लगानीकर्ताले खरिद तथा विक्री आदेश अनलाइनमार्फत दिएर कारोबार गर्न सक्ने भएकाले कसैले चाहँदैमा बजारमा बढ्ने/घट्ने वा चलखेल हुने सम्भावना छैन ।
दोस्रो कुरा, अहिले दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको ७.५ लाख पुगेकाले कसैले चाहँदैमा बजार चलाउन सक्दैन । यति भन्दाभन्दै पनि यदाकदा हुने चलखेललाई शुन्य त बनाउन सकिदैन । नेप्सले यसलाई सुक्ष्मरुपमा हेरिरहेको छ । बजारलाई तलमाथि गराउने खालका गतिविधिहरु भएमा हामीले त्यस्ता जोकोहीलाई पनि वार्निङ गर्ने गरेका छौं ।
– अन्तर्राष्ट्रिय सेयरबजारमा यस्ता चलखेल रोक्न कस्ता उपाय लगाइन्छ ?
विश्वव्यापीरुपमा नियामक निकायहरुले कम्पनीले उपलव्ध गराएका सूचनाहरु लगानीकर्ताका लागि प्रकाशित गर्नेबाहेक अन्य काम गर्दैनन् । कानूनले बर्जित गरेका कामहरु भएमा त्यसमा बोर्डले कारवाही गर्न पाउँछ । जस्तै, कम्पनी ऐन बिपरित कुनै कम्पनीले आफ्नै सेयर खरिद गरेमा सम्बन्धित कम्पनीलाई कारबाही गर्नुपर्ने हुन्छ । तर ,कम्पनीको नाम नै तोकेर यो राम्रो वा नराम्रो भनेर मैले बुझेनुसार वोर्डले भन्न वा गर्न मिल्ने काम होइन ।
बोर्डको काम यस्ता-यस्ता कम्पनीको सेयर किन्नुहोस, यस्ता कम्पनीहरुको सेयरमा लगानी गर्नुभयो भने यस्ता जोखिम हुन्छ भन्ने कुराको साक्षरता बढाउने वा सूचना दिने र आवश्यक कानूनी व्यवस्थाको प्रवन्ध गर्ने हो जस्तो मलाई लाग्छ ।
धितोपत्र बोर्डको निर्णय पश्चात मैले बुझ्ने प्रयास गरेको थिएँ । अमेरिकाको नियामक निकायले कानूनअनुसार काम नगरेकाले केही कम्पनीहरुको सूची प्रकाशित गरेको रहेछ । तर, यो कम्पनी खराव वा असल भनेर सूची प्रकाशित गरेको पाइनँ ।
– नेपालको सेयर बजारमा इन्साइडर ट्रेडिङ त भएको छ नि । केही समय अगाडी अजोड इन्स्योरेन्स कम्पनीले राइट सेयरको सूचना लिक गरी बजार बढाउने काम गर्यो । सञ्चारमाध्यममा सो खबर आएपछी नेप्सेले पनि राइट सेयर सम्वन्धि सूचना प्रकाशित गरिदियो । यसले त कम्पनीहरुले बजारमा सूचना चुहाएर चलखेल गर्दा नेप्से नै चुप लागेर बसेको देखिदैन ?
कम्पनी ऐन सम्वन्धि व्यवस्था के छ ? सबैभन्दा पहिले सञ्चालक समितिले निर्णय गर्ने र उक्त निर्णय साधारण सभामा जाने व्यवस्था हो । त्यसपछी कम्पनी सञ्चालक समितिले दिएको सूचना नेप्सेले प्रकाशित गर्ने हो ।
– बीमा समितिले त उक्त निर्णयलाई खारेज गरिदियो नी ? बीमा समितिले कम्पनीको प्रस्तावलाई स्वीकृत गर्नुभन्दा अगाडी नै नेप्सेले सूचना प्रकाशित गरेर अजोडको संरक्षण गरेको होइन र ?
तपाईं कुरा बुझ्नु न । त्यो निर्णय त पहिले सञ्चालक समितिले गरेको हो नि । सञ्चालक समितिको निर्णयलाई नियामकले दियो वा दिएन भन्ने कुरा दोस्रो कुरा हो । त्यस सम्वन्धमा कस्तो कारोबार भएको छ वा छैन भन्ने कुरा त हामीले निकालेर बोर्डलाई पठाएको छौं । इन्साइडर ट्रेडिङ भयो भनेर तपाईले कसरी भन्न सक्नु हुन्छ ? बोर्डले छानविन गर्दै होला । भएको रहेछ भने कारवाही हुन्छ, होइन रहेछ भने कारवाही हुँदैन ।
– नेपालको सेयर बजार उल्टो दिशामा हिँड्छ भन्छन् नि । ०७२ सालको भुकम्प होस या अहिलेको लकडाउन, यस्तो संकटको बेलामा पूँजी बजार उच्चतम बिन्दुमा छ । अहिले त नेपाल मात्रै होइन, विश्व अर्थतन्त्र नै ऋणात्मक बनेको छ । तर नेपालको सेयर बजार उच्च अंकमा छ । अर्थतन्त्र राम्रो भएको समयमा सेयर बजार किन ऋणात्मक हुन्छ ?
हाम्रो पूँजी बजार र कूल गार्हस्थ्य उत्पादन अन्य देशको तुलनामा भिन्न प्रकारको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र र ‘रियल सेक्टर’ को सबैभन्दा बढी योगदान छ । तर, ति क्षेत्रका कुनै पनि कम्पनी सेयर बजारमा आवद्ध छैनन् । अनि कसरी हाम्रो अर्थतन्त्रसँग पूँजी बजारको सम्बन्ध गाढा हुन्छ ? जबसम्म यस्ता क्षेत्रहरु पूँजी बजारमा आउने वातावरण बन्दैन, तबसम्म सेयर बजारमा यस्तो अवस्था कामय नै रहन्छ ।
अहिले तपाईंले हेर्नुभयो भने नेपालको पूँजीकरण कूल गार्हस्थ्य उत्पादन भन्दा बढी नै छ । तर, यसले खराव गर्छ भन्ने कुरा होइन । पछिल्लो समय कोभिड १९ कारण अर्थतन्त्र ठप्प हुँदा पूँजी बजारमा बढी ध्यान केन्द्रीत भयो । अनलाइन प्रणालीले गर्दा कारोबार गर्न सहज भयो । नेपालका मात्रै होइन, विदेशमा रहेका नेपालीले समेत लगानी गरे । यो समयमा नयाँ लगानीकर्ताहरु भित्रिएका छन् ।
मान्छेहरु अहिले फुर्सदको समयमा पहिला जस्तो तास खेल्ने वा अन्य कुरा गरेर समय बिताउदैनन् । अहिले कम्पनीको बारेमा जानकारी लिने, आधारभूत तथा प्राविधिक विश्लेषण गर्ने, कम्पनीको बारेमा जानकारी लिने काम गरिरहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थामा तरलता सहज भयो, व्याजदर घट्यो जसले गर्दा पनि बजारलाई बढ्न मद्दत गरेको छ ।
– लकडाउनमा सेयर बजार किन बन्द भएन ? यो अतिवाश्यक सेवाभित्र पर्छ र ?
यसमा नेप्सेको अफिसियल प्रस्ट धारणा छ । नेपालको संविधानअनुसार कुनै पनि व्यक्तिले सहजै सम्पत्ति खरिद-बिक्री गर्न पाउनु उसको मौलिक अधिकारभित्रको कुरा हो । अर्को तर्फ पूँजी बजारभित्र मात्रै कारोबार गर्ने लगानीकर्तालाई त खरिद बिक्री नै उसको आम्दानी हो नि त । उसको रोजीरोटी त्यहीँबाट चल्ने भएकाले नेपाल सरकार, धितोपत्र बोर्ड र नेप्सेको संयुक्त निर्णयमा सेयर कारोबार अतिआवश्यक सेवाभित्र नपरे पनि सञ्चालन गरिएको हो ।
– बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने कुरा चाँही किन अगाडी बढ्न सकेन?
हामीले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ नै भनेर निवेदन आव्हान गरेको अवस्था हो । त्यसपछी अर्थ समितिको एउटा उपसमितिमा फाइल केही समय अड्कियो । अहिले धितोपत्र बोर्ड पनि यस विषयमा सकारात्मक नै रहेको देखिन्छ ।
ब्रोकरहरुले एकलौटी कारोबार गरिरहेको समयमा बैंक तथा वित्तीय संस्था नआउन् भन्नु स्वभाविक नै हो । यसका लागि दुबैतर्फ हेर्नुपर्छ । भएका ब्रोकरलाई केही सुविधाहरु ‘प्रोपाइटरसिप’, ‘एडभाइजेरी स्टकिस्ट’ जस्ता कामहरु गर्न पाउने सुविधा दिन सकिन्छ । ब्रोकरहरुको संस्थागत क्षमता बढाउन जरुरी छ ।
नेपालको सेयर बजारमा नयाँ लगानीकर्ता आइरहेको अवस्थामा एकैपटक बजार धेरै तल भएर उनीहरु बाहिरिने अवस्था बन्यो भने नेपालको पुँजी बजारको विकासमा बाधा पुग्न सक्छ कि भन्नेतर्फ मेरो चिन्ता हो ।
नेपालको पूँजी बजारको सही ढङ्गले बिकास गर्ने गरेर यसलाई व्यवस्थित बनाउने हो भने संस्थागत ब्रोकरको एकदमै धेरै खाँचो छ । अहिलेको बजारलाई ब्रोकरले थेगिदिएका छन्, तर आगामी दिनमा यतिले मात्रै पुग्दैन ।
– ब्रोकर क्षमता बढाउने कुरा गरिरहँदा नेप्से, धितोपत्र बोर्ड र सीडीएसीको पनि क्षमता बढाउनु पर्ला नी ?
क्षमता बढाउनै पर्छ नी । हामीले नेप्सेको अनलाइन प्रणालीमा वर्षमा ५० हजार लगानीकर्ताहरु बढ्लान् भन्ने अपेक्षा गरेका थियौं । तर, त्यो हाम्रो अनुमान गलत भयो र एकैपटक ७ लाखले लगानीकर्ता बढे । हामीले उक्त भार पनि थाम्यौ र अहिले हाम्रो क्षमता बढेर एकपटक १५ लाख आए पनि थेग्न सक्छौं । हामी अहिले एकैपटक १ करोड पुर्याउदैनौ । नीति तथा कार्यक्रम तथा वजेटमा भएको व्यवस्थालाई मध्यनजर गर्दै ८० प्रतिशत क्षमताको उपयोग भएपछी हामी आफ्नो क्षमता बढाउँछौं । सूचना प्रणालीमा भइरहेको तीव्र वर्तनलाई मध्यनजर गर्दै प्रणाली तथा हार्डवेयरमा धेरै खर्च गर्न सक्ने अवस्था पनि रहँदैन ।
– ‘टी प्लस टू’ ब्रोकरहरुले प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याएनन् भन्ने गुनासो छ नि ?
लगानीकर्ता तथा सेयर कारोबार समेत बढ्यो तर साधन स्रोत र ब्रोकरको संख्या त बढ्न सकेको छैन । अहिले निषेधाज्ञाको समयमा त हामीले नै उहाँहरुलाई सिमित कर्मचारी र क्षमतामा कारोबार सञ्चालन गर्न निर्देशन दिएका छौं । सिमित जनशक्तिमा ब्रोकरले सेवा दिन सकेनन् भन्नु उचित देखिदैन ।
– प्राइभेट नेप्से खोल्ने बिषयलाई कसरी लिनुहुन्छ ?
यस बिषयमा नेप्सेको सीइओले बोल्नुपर्ने आवश्यकता देख्दिन । यसका लागि नेपालको अर्थतन्त्र, सूचीकृत कम्पनी, यसको आवश्यकता र औचित्यताका आधारमा धितोपत्र बोर्ड र सरकारले निर्णय गर्ने कुरा हो ।
हामी सरकारी संस्था हौ । हाम्रो नियामक निकायले प्राइभेट नेप्सेको परिकल्पना गर्नु स्वाभाविक नै हो । सरकारी कम्पनीको संरचना नै यस्तै भएकाले अर्को प्राइभेट संस्था आयो भने नियामकलाई बजार सञ्चालन गर्न सहज हुन्छ भन्ने सोच राख्नु स्वाभाविक नै हो ।
– अन्त्यमा सेयर बजारमा एकै पटकमा लगानी दोब्बर हुन्छ भनेर सोच राख्ने लगानीकर्तालाई के भन्न चाहनुहुन्छ ?
बजारमा आवद्ध भएका लगानीकर्ता र नवप्रवेशीले के ख्याल गर्नुपर्छ भने आफ्नो लगानीको संरक्षण स्वयम् लगानीकर्ताले नै गर्नुपर्छ । यसका लागि राम्रो कम्पनी छनौट वा पर्याप्त जानकारी लिएर मात्रै लगानी गर्नुपर्छ । जुन कम्पनीमा लगानी गर्ने हो त्यसको लागत र लाभ मूल्याङ्कन गरेर लगानी गर्न आग्रह गर्छु । कुरा सबैको सुन्नुहोस, निर्णय चाहीँ आफ्नो गर्नुहोस । निर्णय गर्न नसक्दा बिशेष गरी पोर्टफोलियो व्यवस्थापन गर्ने कम्पनीहरु र केही जानकारी ब्रोकरबाट समेत लिन सकिन्छ ।
दोस्रो बजारमा जाने भनेको आइपीओ मार्फत हो । पहिला आइपीओ मार्फत सेयर बजारमा प्रवेश गर्नुहोस । म्युचल फण्डहरुमा लगानी गर्दा जोखिम कम हुन्छ । थोरै लगानीबाट सिकेर अगाडी बढेर राम्रोसँग लगानी गर्न सकिन्छ । त्यसका लागि लगानीकर्ताले बैंकको चल्ती खातामा दिने ब्याजदर भन्दा बढी कमाउने उद्देश्य राख्नुपर्छ ।
नेप्से घटोस् वा बढोस् मतलव नराखी आफूले लगानी गरेको सेयरले भोलिको दिनमा दिन सक्ने प्रतिफल हेर्नुपर्छ । लगानी गरेको कम्पनीले दिएको लाभांशले बैंकको व्याज तिर्न सक्छ वा सक्दैन भन्ने कुरालाई बढी महत्व दिनु पर्छ । यसरी लगानी गरियो भने नेपालको पूँजी बजारमा ‘विन-वीन’अवस्था रहन्छ । घाटा कसैले खाँदैन ।
ऋण लिएर मात्रै लगानी गर्नुहुदैन । बजार बढ्यो र नाफा भयो भन्दैमा बजारमा हामफाल्न हुँदैन । बढेको बजार घट्न पनि सक्छ, यसको ख्याल गर्नुपर्छ । त्यसैले पूँजी निर्माण गर्न ऋण र आफ्नो लगानी ५०/५० प्रतिशत राख्दा उचित हुने देखिन्छ ।