पोखरामा घरहरू डुबानमा पर्न थालेपछि बाढी प्रभाव नियन्त्रणका लागि छलफल
पोखरा । वर्षेनि वर्षात्को समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थित रूपमा आउने पानीले पोखरा महानगरपालिका-३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ ।
बर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न पोखरा-२६, २७, २९, ३० र ३२ का वडाध्यक्षसहित सरोकारवालाबीच पानीको निकासलाई व्यवस्थित गर्ने सहमति गरिएको हो ।
बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा-३२ का अध्यक्ष शिवजी लामिछानेका अनुसार विजयपुरदेखि आउने बगादी खोलाको पानी पोखरा-२६ डाँडाको नाकस्थित प्रहरी चौकीको दक्षिणतर्फ हुँदै सेती नदीमा कटाउने सहमति बनेको छ ।
त्यस्तै पोखरा-३० स्थित बाँधाको रह क्षेत्रबाट पनि पानी कटाउने गरी वडा कार्यालयसँग छलफल भइरहेको उनले जानकारी दिए ।
नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनि समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ ।
यस वर्ष केही दिनअघि मात्रै लगातारको वर्षासँगै नहरमा पानी बढेपछि यस क्षेत्रका टाँडी, कालिका चोकलगायत स्थानका घर डुबानमा परेका थिए ।
रासस