बिहीबार २७ सय संक्रमित थपिए, थप ३३ जनाको मृत्यु
काठमाडौं उपत्यकामा थपिए ४१९ संक्रमित, भारत र बेलायतको अवस्था कस्तो छ ?
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २७६० जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८५ (पीसीआर ७१३० वटा) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
बिहीबार थप ३३ जनाको मृत्यु भएको छ । कूल मृत्यु संख्या ९१४५ पुगेको छ । मृत्युदर १.४३ प्रतिशत छ ।
थप ४०१७ जना कोभिड बिरामी निको भएका छन् । निको हुने दर ९३.७ प्रतिशत छ । सक्रिय संक्रमित संख्या बिहीबारसम्म ३१ हजार ३६८ छ । सक्रिय संक्रमित प्रतिशत ४.९० प्रतिशत छ ।
काठमाडौंमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ जना संक्रमित थपिएका छन् । उपत्यकामा बिहीबार ४१९ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५०११ जना सक्रिय संक्रमित छन् ।
कूल संक्रमित संख्या ६ लाख ४० हजार पीसीआर परीक्षण गर्दा भेटिएका छन् ।
भारतको अवस्था कस्तो छ ?
गत २४ घण्टामा कोरोनाभाइरसबाट भारतमा करिब ४९ हजार थप मानिस सङ्क्रमित भएका छन् । यसैसँगै त्यहाँ कोरोना शुरु भएदेखि हालसम्म कूल सङ्क्रमितको संख्या तीन करोड ४ लाख ११ हजार ६३४ पुगेको जनाइएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४८ हजार ७८६ जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा बिहीबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ९९१ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९९ हजार ४५९ पुगेको मन्त्रालयले जनाएको छ ।
बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए
बेलायतमा गएको जनवरी महिना पछिकै सबैभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित बुधबार भेटिएका बताइएको छ । बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधबार पाँच महिना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ ।
बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यहाँ यो भन्दाअघि गत जनवरी महिनामा यतिधेरै संक्रमित देखिएका थिए । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । यहाँ बुधबार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ ।
अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ ।