स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठद्धारा वीर अस्पताल निरीक्षण, तेस्रो लहरको पूर्वतयारी गर्न निर्देशन – Nepal Press

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठद्धारा वीर अस्पताल निरीक्षण, तेस्रो लहरको पूर्वतयारी गर्न निर्देशन

काठमाडौं । स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको शनिवार अवलोकन गरेका छन् । सो क्रममा उनले अब आउन सक्ने तेस्रो वेबको गम्भीर भएर पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् ।

सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा.जागेश्वर गौतमसहितको चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।

अस्पतालले हाल सय बेडको आइसीयू सञ्चालन गरिरहेको छ । बाँकी सय बेड आइसीयूसहितको बेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम छ । त्यसको अघिल्लो दिन शनिबार निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गरे ।

उनले भने- अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पुरा गर्नूस। कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पूर्णरुपमा सञ्चालन गर्नूस । सरकारले देखिनेगरी सबै पुर्वाधार तयारी गरिसकेको छ ।’ अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्न मन्त्रीले निर्देशन दिए ।

स्वाथ्य सचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई सबै सहयोग गर्ने जानकारी गराए । उनले तेस्रो लहरलाई मध्यनगर गरी सबै तयारी थालेको बताए । कार्यकारी निर्देशक डा. गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए ।

मन्त्री श्रेष्ठले अब सबै बिरामीको निःशुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल संचालन गर्न निर्देशन दिए । मन्त्री श्रेष्ठले अस्पतालको आइसीयू वार्ड , अक्सिजन प्लान्ट लगायत सबै संरचना अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले २०७४ सालमा उद्घाटन गरेको सो भवन उनले नै उद्घाटन गर्न लागेका हुन् ।

फरक प्रसंगमा मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिए । उच्च प्राथमिकतामा रहेका विदेश जाने तयारी गरिरहेका श्रमिक, शिक्षक, सबै मन्त्रालयका कर्मचारी, यातायात मजदूर, फ्रन्टलाईनमा खटिने लगायतलाई उच्च प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने मन्त्री श्रेष्ठले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *