भारतीय नागरिकलाई नागरिकता दिने वडाध्यक्ष पक्राउ – Nepal Press

भारतीय नागरिकलाई नागरिकता दिने वडाध्यक्ष पक्राउ

रुपन्देही । भारतीय नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा गैंडाकोट नगरपालिका वडा नं ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ गरेका छन् ।

भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका वडा नं.६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै सिफारिस गरी नागरिकता बनाउन सघाएको आरोपमा वडाध्यक्ष सापकोटासहित सिफारिस गर्ने वडा सदस्य पवित्रा सापकोटा र साक्षी बस्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले आठै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको नेपाल प्रेसलाई बताइन् ।

पक्राउ पर्नेमा नागरिकता लिने ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, उनलाई नागरिकता दिन नक्कली बावु बनेका ५२ वर्षीय सफि अल्ला मिया, र चारजना साक्षीहरु रहेका छन् ।

वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचानबिनै वंशजका आधारमा नागरिकता बनाउनका लागि पेश गरिएको झुठो विवरणका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिक भन्दै सिफारिस बनाइदिएको प्रहरी निरीक्षक पाण्डेले बताइन् । ‘नागरिकता लिने र साक्षीलाई पहिले पक्राउ गरी आज वडाध्यक्ष र वडासदस्यलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक खनालले भनिन् ।

नागरिकता बनाइदिनका लागि बावु बनेका ५२ वर्षीय सफि अल्ला मियाको भने अर्घाखाँचीबाट नागरिकता बनेको देखिएकोले उनको समेत नागरिकताको सम्वन्धमा अनुसन्धान भइरहेको खनालले बताइन् ।

मियाले भारतीय नागरिक देवनलाई आफ्नै छोरा हो भन्दै आमा ममिता खातुनले सानैमा छोडेर गएको भनी झुठो विवरण पेश गरी नागरिकता बनाइदिएका थिए ।

वडाध्यक्ष सापकोटाको सहयोगमा नक्कली बुबाआमाको नाता कायम गरी जन्म दर्ताको प्रमाणपत्र समेतको सिफारिस लिई गएको चैत ०८ गते वंशजको आधारमा जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।

देवानले जन्मदर्ता प्रमाणपत्र लिएको १५ दिनभित्रै नागरिकता प्रमाणपत्र लिएका थिए । आरोपी देवनका जेठानले पनि उनी भारतीय नागरिक भएको स्वीकार गरेको प्रहरीले बताएको छ ।

गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले वडाध्यक्ष पक्राउ परेको जानकारी पाएको बताए । ‘गलत गर्नेलाई कानूनी कारबाही हुनुपर्छ, मैले पक्राउ परेको भर्खर सुनेको छु, हिजो वडाध्यक्षले सिफारिस दिँदा नबुझी दिइएछ भनेर सुनाउनुभएको थियो, पौडेलले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *