अमेरिकाबाट ल्याइएको खोप ५० देखि ५४ वर्षकालाई लगाइने, ओलीले दिए बाइडेनलाई धन्यवाद
फाइजर खोप आपूर्तिमा समन्वय गर्न अमेरिकालाई आग्रह
काठमाडौं । अमेरिकाले आज नेपाललाई १५ लाख ३४ हजार ८५० हजार डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा राजदूत र्यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।
बालुवाटारमा आयोजित अर्को एक कार्यक्रममा राजदूत बेरीले प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण गरे । अमेरिकी राष्ट्रपति बाइडेनले जी–सेभेन सम्मेलनमा घोषणा गरेको खोप योजनाकै हिस्सा अन्तर्गत रहेर नेपालले १५ लाख डोज खोप पाएको हो ।
कोभ्याक्स संयन्त्रअन्तर्गत रहेर अमेरिकाले खोप उपलब्ध गराएको हो । खोप हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत बेरीले नेपालको कोभिड-१९ महामारीविरुद्ध अमेरिका सँगै नेपालको साथमा रहेको बताए ।
स्वास्थ्यमन्त्री श्रेष्ठले अर्को अमेरिकी खोप फाइजर आपूर्तिका लागि समन्वय गरिदिन राजदूत बेरीलाई आग्रह गरे । एक डोज लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष र अन्य प्राथमिकता वर्गलाई लगाइने जानकारी स्वास्थ्यमन्त्रीले उक्त अवसरमा दिए ।
बालुवाटारमा आयोजित कार्यक्रममा खोप ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कोभ्याक्स र राष्ट्रपति बाइडेनलाई धन्यवाद दिए ।