धुर्कोट गाउँपालिका खरको छानामुक्त – Nepal Press

धुर्कोट गाउँपालिका खरको छानामुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका घोषणा गरिएको छ । १२ वटा स्थानीय तह रहेको जिल्लाका सबै पालिकामा नेतृत्वमा आउने धेरै राजनीतिक दलले आफ्नो घोषणापत्रमा छिटै खरको छानामुक्त बनाउने घोषणा गरेपनि ४ वर्षसम्म कसैले कार्यान्वयन गर्न सकेका छैनन् । धुर्कोट जिल्लाकै पहिलो खरको छानामुक्त पालिका भएको हो ।

‘आजभन्दा ४ वर्षअघि गाउँपालिकाका जनप्रनिधिहरुले पदभार ग्रहण गरेको दिन कार्यपालिकाको पहिलो बैठकले दुईवटा निर्णय गरेका थियो’ गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले भने, ‘एउटा निर्णय खरको छानामुक्त गाउँपालिका र अर्को एक घर, एक धारा धुर्कोट गाउँपालिका कार्यकाल अवधिमा घोषणा गर्ने भनेर । त्यसमध्ये एक घर एक धारा कार्यक्रम सम्पन्न हुने चरणमा छ भने घरको छानामुक्त घोषणा गरेका छौं ।’

जिल्लाका १२ वटा स्थानीय तहमध्ये सबैभन्दा पहिला खरको छानामुक्त पालिका घोषणा गर्ने धुर्कोट गाउँपालिका पहिलो पालिका बन्न सफल भएको छ । घोषणासभामा अध्यक्ष पोखरेलले खरको छानामुक्त पालिका धुर्कोट सम्भवतः जिल्लामा मात्रै नभएर प्रदेश तथा देशमै पहिलो हुनसक्ने दावी गरे ।

हालसम्म ५ सय ४ वटा खरका छाना विस्थापित गरी जस्तापाताले गरिब विपन्नहरुको घर छाएको बताइएको छ । नागरिक सुरक्षित आवास कार्यक्रममार्फत थप १ सय ५७ घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको अध्यक्ष पोखरेलले बताए ।

जनता आवास कार्यक्रम मार्फत विपन्न वर्गका लागि ३७ वटा घर निर्माण गरिएको र धुर्कोट गाउँपालिका ७, वाग्ला ज्यामिरेकोटमा पहिरोका कारण उच्च जोखिममा रहेको वस्तीलाई एकिकृत नमुना वस्तीमा सार्नका लागि १८ घर निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए । गाउँपालिकामा भूकम्पपछि गरिएका पुनर्निर्माण ५ सय २९ वटा घर निर्माण गरिएको उनले बताए ।

घोषणासभामा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको समन्वयमा गाउँपालिकालाई खरको छानामुक्त घोषणा भएको र अब अन्य बाँकी काममा लाग्न आग्रह गरेका थिए । यो योजना पूरा गर्नका लागि १९ करोड २९ लाख ९४ हजार १९ रुपैयाँ लगानी भएको पालिका अध्यक्ष पोखरेलले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *