रुपन्देहीमा एकीकृत नागरिक सेवा केन्द्र संचालन
रुपन्देही । डिजिटल प्रणालीसहित सबै प्रकारका सेवाहरुलाई एकीकृतरुपमा प्रवाह गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकीकृत नागरिक सेवा केन्द्र संचालनमा ल्याएको छ । सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यस्तो सेवा केन्द्र संचालनमा ल्याएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार सेवाकेन्द्रको शुभारम्भ गर्दै डिजिटल प्रविधिमा आधारित टोकन सिस्टमसहितको सेवा केन्द्र नेपालमै पहिलो भएको जनाएका छन् ।
प्रहरी नायब महानिरीक्षक आचार्यले नागरिकको सुनुवाइ भएन भन्ने गुनासो र कुन कामको लागि कहाँ जाने भन्नेबारे सेवाग्राहीलाई ज्ञान नभएकोले कार्यालयबाट प्रदान हुने सेवा सहज बनाउनको लागि प्रविधियुक्त सेवा शुरु गरिएको बताए ।
एकीकृत सेवा संचालनपश्चात सेवाग्राहीले प्रहरी गेटबाटै सेवा प्राप्त गर्ने र सेवाग्राही सम्बन्धित शाखामा पुग्नुअगावै शाखामा रहेका प्रहरी कर्मचारीले सेवाबारे जानकारी लिन सक्नेछन् ।
सेवाकेन्द्रमा राखिएको डिजिटल प्रणालीमार्फत सेवाग्राहीले कति समयमा सेवा प्राप्त ग¥यो भन्ने अभिलेखीकरण रहने र सेवाग्राहीको प्रतिकृयासमेत अनलाइनमार्फत प्राप्त गर्न सकिने भएकोले यसबाट नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तरमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले नागरिक सेवा केन्द्रलाई प्रविधिमैत्री बनाइएको बताए । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको काम र सम्बन्धित शाखा उल्लेख गरी गेटमै रहेको नागरिक सेवा केन्द्रबाट कम्प्युटरमा निवेदन दर्ता गरिने उनले बताए ।
गेटबाटै निवेदन दर्ता भएपछि पहिले जुन सेवाग्राही कार्यालयमा उपस्थित भएको हो उसैले सेवा प्राप्त गर्नसक्ने उनले दावी गरे । गेटबाटै निवेदन दर्ता भएपछि टोकन उपलब्ध भएपछि पहुँचको आधारमा पछि आउनेले पहिले सेवा लिने र पहिले आउनेले ढिलो सेवा लिने समस्या अन्त्य हुने उनको भनाइ छ ।
यस्तै रुपन्देही प्रहरीले आफ्नो मातहत रहेको बेलहियामा चेक प्वाइन्ट शुरु गरेको छ । बेलहिया बाइपासमा स्थापना गरिएको चेक प्वाइन्टबाट आइतबारदेखि नै सेवा शुरु गरिएको हो । उक्त चेक प्वाइन्टको पनि प्रहरी नायब महानिरीक्षक आचार्यले शुभारम्भ गरेका हुन् ।