सगरमाथामा क्षेत्रमा फेशन सोको तयारी, पर्वतीय पर्यटनमा आयाम थप्ने विश्वास
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा विश्वको सबैभन्दा उचाइमा ‘माउण्ट एभरेष्ट फेशन रनवे ’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । नेपालसहित विभिन्न देशका सेलिब्रेटी मोडल सहभागी हुने उक्त शो २०७८ असोज गते (६ सेप्टेम्बर २०२१) मा सगमाथा कालापत्थर क्षेत्रमा तय गरिएको छ ।
के फिल्मस र एमई टू फिल्मसको सहकार्यममा कार्यक्रम आयोजना हुने आयोजकले जानकारी दिएका छन् । फेशन रन वे को पहिलो संस्करण गत वर्ष २०७६ पुस-माघमा आयोजना भएको थियो । जुन कार्यक्रमले गिनिज बुक अफ वर्ल्ड रेकर्डबाट विश्व कीर्तिमानको उपाधि प्राप्त गरेको थियो ।
कार्यक्रमबारे जानकारी दिन सोमबार काठमाण्डौंमा आयोजना गरिएको पत्रकार भेटघाटमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको सन्दर्भमा यो कार्यक्रमले नेपालको पर्वतीय पर्यटनमा नयाँ आयाम थप्ने बताए ।
उनले विश्वसमुदायले नेपाललाई मौसमी (सिजनल) पर्यटकीय गन्त्वयका रूपमा बुझ्ने गरेको भन्दै असोजमा आयोजना गरिने यो कार्यक्रमले नेपाल सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्य हो भन्ने सन्देश समेत दिने बताए । उनले कोभिडका कारण पर्यटकीय गतिविधि हुन नसकिरहेको अवस्थामा बोर्डले अवस्था सहज हुनासाथ प्रवर्द्धनका अन्य कामलाई निरन्तरता दिने जानकारी दिए ।
ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्यले यस प्रकारका कार्यक्रमले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउन थप सहयोग पुग्ने बताए ।
के फिल्मसका प्रमुख कार्यकारी अधिकृत पङ्कज के गुप्ताले विश्वकै सबैभन्दा उचाइमा गरिने यो कार्यक्रमले दीगो पर्यटनको अवधारणालााई आत्मसात गरेको र यसले विश्वको ध्यान खिच्ने विचार व्यक्त गरे । कार्यक्रमको भारतका एमई टू फिल्म्सका सञ्चालक तथा रियालिटि शो निर्देशक श्रुति आनन्दिता वर्मा र अमिताभ एस वर्माले निर्देशन गर्नेछन् ।
कार्यक्रममा दुवैजनाले विश्वकै अग्लो सगरमाथा र त्यसको काखमा आयोजना हुने कार्यक्रमको निर्देशन गर्न पाउँदा खुसी लागेको बताउँदै यसले नेपालको शाहसिक पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने धारणा राखे ।
कम्पनीका सीईओ तथा फेशन डिजाएनर रमिला नेम्कुलले यो कार्यक्रम नेपालको गौरव भएको र यसमा नेपालका मौलिक पहिरनहरुलाई आवश्यक्ता अनुसार गरिने बताए । यस्तै कम्पनीका सीएफओ रिकेन महर्जनले दीगो पर्यटनका लागि आफूहरूले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए ।