फुजिमोरीलाई हराउने वामपन्थी कास्टिलो : जो खेत जोत्दाजोत्दै राष्ट्रपति भए
इटहरी । ल्याटिन अमेरिकी देश पेरुमा स्थानीय समयअनुसार बुधबार मध्यान्ह वापमन्थी नेता पेद्रो कास्टिलो (स्पेनिस उच्चारणमा कास्टियो) ले राष्ट्रपतिको सपथ लिए । पेरुको स्वतन्त्रता भएको ठीक २ सयौं वर्षगाँठमा राष्ट्रपति भएका कास्टिलो देशको सर्वोच्च पदमा पुग्ने पेरुकै पहिलो किसान हुन् । उनी प्राथमिक विद्यालयमा पढाउँथे पनि ।
राष्ट्रपतिको चुनाव सकिएपछि पनि उनी आफ्नै खेतबारीको काममा केही समय व्यस्त बने । राष्ट्रपतिको सपथ खाएपछि मात्रै उनी राजधानी लिमामा स्थायी बसोबास गर्न आए । काखामार्का क्षेत्रबाट उनी बुधबारमात्रै शिक्षिका श्रीमती लिलिया पारेदेश र दुई सन्तानसँगै राजधानी बसाईं सरेका हुन् । लिमाको पावर सेन्टरसँग कुनै साइनो नभएका फरक भूगोलका पहिलो राष्ट्रपति भनेर उनको चित्रण हुँदै आएको छ ।
१९ वर्षअगाडि मेयरमा पराजित
स्पेनिस अखबार एल पाइसका अनुसार सन् २००२ मा कास्टिलोले मेयर पदमा चुनाव लडे । आन्गुइआको मेयरमा पेरु पोसिबल पार्टीबाट चुनाव लडेका उनी पराजित भएका थिए । तर, १९ बर्षपछि उनी अर्को पार्टी फ्रि पेरु पार्टीबाट राष्ट्रपति बन्न सफल भएका छन् ।
दि गार्जियनका अनुसार उनले आफ्ना प्रतिद्वन्द्वीलाई ४४,२६३ भोटले पराजित गरे । एक करोड ८८ लाख बढी मतदाताले भोट हालेको पेरुमा यो ठूलो अन्तर भने हैन ।
कास्टिलोले चुनाव अवधिभरि आफ्नो क्षेत्रको मौलिक छाते टोपी लाए । त्यही टोपीमै उनले सपथग्रहण गरे । उनका चुनावी मुद्दाहरूमा देशका तमाम खानीको विदेशी लगानीलाई कम गर्ने, राष्ट्रियकरण गर्ने, नयाँ संविधानसभाबाट संविधान बनाउने र पेरुको गरिबी अनि असमानता घटाउने थियो ।
उनको सबैभन्दा लोकप्रिय चुनावी नारा हो- ‘धनी मुलुकमा अब पनि गरिब नागरिक हुनुहुन्न ।’ यो नाराले धेरैलाई तान्यो । स्पेनिस अखबार एल पाइसका अनुसार उनी चुनावी दौडमा देशभरि खटिए । उनको लोकप्रियता देशका दूरदराजमा पुग्यो । उनका बारेमा एकै महिनामा ३२ गीतहरू बने । उनलाई धेरैको साथ रह्यो ।
बुधबार राष्ट्रपतिको सपथ खाएका कास्टिलोको राष्ट्रिय पहिचान भने ट्रेड युनियन आन्दोलनबाट कायम भएको हो । सन् २०१७ मा भएको राष्ट्रिय शिक्षक आन्दोलनको अग्र मोर्चामा उनी खटिए । शिक्षकको तलब बढाउनुपर्नेदेखि शैक्षिक सुधारका मागहरू राखेर उनीहरुले आन्दोलन चर्काएका थिए । आन्दोलनकारीको तर्फबाट सत्तासँग वार्ता गर्न उनी सक्रिय भएका थिए । २५ वर्ष गाउँमा शिक्षक भएका उनलाई यही आन्दोलनले राष्ट्रपतिसम्म पुर्यायो । राष्ट्रपति चुनावमा शिक्षकहरुको धेरै सहयोग उनले पाए ।
शिक्षण पेशासँग उनी कति धेरै लगाव राख्छन् भन्ने बुझ्न उनको सपथ अगाडिको सार्वजनिक मन्तव्य काफी छ । उनले आफू ‘पैसा कमाउन राष्ट्रपति’ नभएको बताएका छन् र, आफूले शिक्षक हुँदा पाउनेजति मात्रै तलब लिने घोषणा गरेको टेलेसुरइङ्लिस डट नेटले उल्लेख गरेको छ ।
नतिजामा ढिलाइ
गत जुन ६ (जेठ १३) मा पेरुको राष्ट्रपतिका लागि दोश्रो चरणको चुनाव भएको थियो । अप्रिल ११ (चैत २९ )मा भएको पहिलो चुनावमा कसैले ५० प्रतिशत नकटाएपछि १८ उमेद्वारको चुनाव दुई उमेद्वारमा खुम्चिएर दोश्रो चरणमा पुग्यो । उम्मेदवार वामपन्थी पेद्रो कास्टिलो र दक्षिणपन्थी केइको फुजिमोरी (स्पेनी भाषामा फुखिमेरी) को प्रतिष्पर्धा भयो ।
पेरुका मध्यमार्गीहरूले त ‘दुई अतिवादी’ बीचको चुनाव भनेर व्याख्या गरेको विभिन्न मिडियाहरूले उल्लेख गरेका छन् । चुनावलाई ‘लेसर अफ टू इभिल’ अर्थात ‘दुई खत्तममध्येको एक उत्तम’ छान्नुपर्ने बाध्यताको रूपमा व्याख्या गरियो । ‘खत्तममध्येको उत्तम’ शब्दावली लोकप्रिय पार्ने पेरुका नोबेल पुरस्कारप्राप्त लेखक मारियो भर्गास ल्होसाले हुन् । उनले स्पेनको एक अखबारमा लेख लेख्दै केइको फुजिमोरीलाई खत्तममध्येको उत्तम भन्ने तर्क दिएका थिए । उनको यो तर्कको गार्जियन लगायतका विभिन्न विश्व मिडियामा व्यापक चर्चा भयो ।
चर्चाको अर्को कारण हो सन्, १९९० मा केइको फुजिमोरीका पिता अल्बर्टो फुजिमोरीसँग उनले चुनाव हारोका थिए । आफैंलाई हराउने उम्मेदवारकी छोरीलाई सहयोग गरेको भनेर व्यापक चर्चा पायो ।
पेरुका तानाशाह अल्बर्टो (स्पेनिस उच्चारणमा आल्बेर्तो) फुजिमोरीकी छोरी हुन् केइको । अल्बर्टो ती हुन् जसले ‘साइनिङ पाथ’ नामक पेरुको माओवादी आन्दोलन ध्वस्त पारेका थिए । जसका मुख्य नेता गोन्जालो सन् १९९२ सेप्टेबरमा पक्राउ परेर अहिलेसम्म जेलमा छन् । रोचक कुरा भ्रष्टाचारको सजायमा जापानी मुलका अल्बर्टो पनि सन् २०१७ डिसेम्बरबाट जेलमा छन् ।
उनै अल्बर्टोकी छोरी कइकोसँग कास्टियोले चुनाव लडे । ४६ बर्षे केइको सन् २०११ र २०१६ मा भएको राष्ट्रपति चुनावमा उपविजेता भएकी थिइन् भने ५१ बर्षे कास्टियो राजनीतिमा नयाँ थिए । पपुलर फोर्स पार्टीकी उम्मेदवार केइको फुजिमोरीले धेरै लफडा गरिन् । चुनावमा धाँधली भएको, नक्कली मतदान भएको जस्ता आरोप लगाइन् । २ लाख मत बदर हुनुपर्ने उनले पटकपटक माग गरिन् । कम्युनिष्टले पेरु कब्जा गर्न लागेको भन्दै पत्रकार सम्मेलन नै गरिन् । कम्युनिष्टलाई सेनाले सत्तामा आउन नदिने जस्ता हल्ला उनका समर्थकहरूले लाए ।
यूरोप तथा अमेरिकी पर्यवेक्षकहरूले भने धाँधली नभएको बताए । पेरुको सेनाले विज्ञप्ति निकालेर जो निर्वाचित भएर आए पनि सहयोग हुने धारण सार्वजनिक गर्यो । निर्वाचनमा धाँधली भएको दावी गरेकी फुजिमोरीको दावीमा प्रमाण पुगेन । अन्ततः चुनाव भएको करिब झन्डै दुई महिनापछि जुलाई २० (सावन ५) मा कास्टियो विजयी भएको घोषणा भयो । विजयी भएको आठौँ दिनमा बुधबार उनको सपथ भयो । अन्तिम आधिकारिक नतिजाअनुसार कास्टियोले ५०.१२६ प्रतिशत मत ल्याएर ४९.८७४ प्रतिशत ल्याएका फुजिमोरीलाई हराए । मतान्तर ४४,२६३ भएको बेलायती अखबार दि गार्जियनले उल्लेख गरेको छ ।
सबैभन्दा लामो समयपछि भएको चुनावी नजितामात्रै हैन, कोभिड-१९ को कारण पनि पेरुको यो वर्षको राष्ट्रपतीय चुनाव धेरै चर्चामा आयो । पेरु विश्वको सबैभन्दा धेरै प्रतिव्यक्ति कोभिड-१९ मृत्युदर भएको देश भएको अलजजिराले उल्लेख गरेको छ । ३ करोड २० लाख हाराहारी जनसंख्या भएको पेरुमा कोभिड-१९ बाट विहीबार बिहानसम्म १ लाख ९६ हजार बढीको ज्यान गएको तथ्यांक संकलन गर्ने पोर्टल वल्डोमिटर्स डट इन्फोले लेखेको छ ।
कास्टिलोका चुनौतीः सदनको अल्पमतदेखि वैदेशिक लगानीसम्म
थोरै मतान्तरले बहुमत ल्याएर राष्ट्रपति हुने मौका पाएका कास्टियो पेरुको सदनमा भने अल्पमतमा छन् । बुधबार सपथग्रहणपछि उनको मुख्य चुनौती सदनको अल्पमत नै भएको विभिन्न विश्व मिडियाहरूले लेखेका छन् ।
सदनमा अल्पमत भएपछि उनले चुनावी मुद्दामा उठाएका संविधानसभाको चुनावदेखि विभिन्न ऐन-कानून बनाउन धेरै गाह्रो हुनेछ । दि गार्जियनका अनुसार १३० सदस्य पेरुको सदनमा कास्टियोको दलको ३७ सदस्य मात्रै छन् । सदनमा बहुमत पुर्याउन उनले गठबन्धन बनाउन अनिवार्य भएको दि गार्जियनले लेखेको छ ।
सदनमामात्रै हैन पार्टीका हार्डलाइरलाई मिलाउन पनि कास्टियोलाई उत्तिकै जोखिम भएको जर्मनीको सरकारी समाचार पोर्टल डिडब्लुले लेखेको छ । डिडब्लुका अनुसार उनको मार्क्सवादी लेनिनवादी फ्रि पेरु पार्टीका उग्रवामपन्थी नेता न्यूरोसर्जन भ्यादिमिर सेरोनलाई मनाउन गाह्रो हुनेछ । वापमन्थी उमेद्वार भए पनि कतिपय कन्जरभेटिभ मुद्दामा कास्टियो समर्थक छन् । गर्भपतनदेखि तेस्रो लिंगीमा मुद्दामा उनी अनुदार भएको अन्तराष्ट्रिय मिडियाहरूले लेखेका छन् । यस्तै उनी पेरुमा मृत्युदण्डको कानून बनाउनुपर्ने पक्षमा छन । देशका अन्य कम्युनिष्ट पार्टीले भेनेजवेलाका निकोलस मदुरोलाई समर्थन नगरे पनि उनले भने गर्दै आएका छन् ।
विदेशी लगानीका तामाखानीलाई राष्ट्रियकरणको मुद्दा पनि फलामको चिउराजस्तै छ उनलाई । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार पेरु विश्वको दोश्रो ठूलो तामा उत्पादक हो । पेरुको कुल ग्राहस्थ उत्पादनको १० तथा निर्यातको ६० प्रतिशत हिस्सा तामाले ओगटेको एपीले उल्लेख गरेको छ ।
वैदेशिक लगानी र निजीकरणको तामाखानी क्षेत्रलाई राष्ट्रियकरण गर्न कास्टियोलाई धेरै जोखिम छ । यस्तै कोभिड-१९ ले गर्दा पेरुले पछिल्लो दशकमा पाएका सामाजिक उपलब्धीहरू जोखिममा भएकोले त्यसलाई व्यवस्थापन गर्नसमेत उनलाई चुनौती छ ।