बहुआयामिक लाभका लागि ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’
नेपालको भूबनोट हिमाल, उच्च पहाड, मध्य पहाड, उपत्यका, भित्री मधेस, चुरे पहाड र तराईको समथर भाग गरी उत्तरदेखि दक्षिणतर्फ ढल्किएको छ । संसारकै सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमशृंखला पूर्वदेखि पश्चिमसम्म फैलिएका छन् र ती चुचुरा बाह्रै महिना हिउँले ढाकिएका हुन्छन् ।
हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रमा धेरै चिसोका कारण मानिसको बसोबास पातलो भए पनि त्यहाँ धेरै महत्वपूर्ण दुर्लभ वनस्पती, जडीबुटी र खनिजहरु रहेका छन् । हिमालदेखि अबिरल बग्ने असंख्य खोलाहरू मिसिँदै ठूला नदीहरूको रुपमा भारतको गंगा नदी भएर बंगालको खाडी हिन्द महासागरमा पुग्छन् ।
मध्यपहाडमा बाह्रै महिना न धेरै चिसो न धेरै गर्मी, राम्रो हावापानी, उर्वर खेतीयोग्य जमिन (खेतबारी) भएकोले मानिसको घना बसोबास छ । यहाँको पूर्वदेखि पश्चिमसम्म फैलिएको महाभारत पर्वत शृंखलामा प्रशस्त खनिज छ । उपत्यका र भित्री मधेस उर्वर खाद्यान्नका भण्डार हुन्, प्राचीन सभ्यताका धरोहर हुन्, अहिले आधुनिक सहरमा रुपान्तरण हुँदैछन् ।
महाभारत पर्वतबाट दक्षिणतर्फ तराईमा आएर सकिने होचा पहाडलाई चुरे पहाड भनिन्छ । चुरे पहाड बलौटे माटो र कच्चा ढुंगा भएको, सुख्खा, भिरालो रुखो (कम उर्वर), घना जंगलले ढाकिएको, धेरै गर्मी हुने कच्चा पहाड हो ।
भिरालो जमिन, धेरै गर्मी र भूस्खलन भैरहने, असुरक्षित भएकोले पनि यहाँ बसोबास न्यून छ । उत्तरबाट बगेर आउने खोलाहरू र चुरेबाटै उत्पत्ति हुने खोला खोल्सीहरूले बर्सादको समयमा चुरेलाई क्षतिग्रस्त बनाउँदै आएका छन् । चुरेबाट बगेर आउने गेग्रेटोले तराईको समथर जमिन पुरेर बगरमा परिणत हुने र बाढीले जमिन कटान हुने ठूलो समस्या छ ।
तराई सुगम र उर्वर छ, घना आवादी छ, सबैतिरबाट बसाई सरेर आउने क्रम तीव्र भएकोले जनसंख्याको चाप अत्यधिक छ । बर्सादमा बाढीले जमिन कटान र डुबान, हिउँदमा सुख्खा तराईको मुख्य समस्या हो । चुरे संरक्षण र व्यस्थित गर्ने, हिउँदमा सिंचाई सुविधाको व्यवस्था गर्ने र आधुनिक व्यवसायिक कृषितर्फ लाग्ने हो भने हाम्रो तराईले आत्मनिर्भर मात्र होइन कृषि उपज निर्यात गर्न सक्ने सम्भावना छ । एकातिर पानी बगेर खेर गइरहेको छ, अर्कोतर्फ अन्नको भण्डार तराई सुख्खाग्रस्त छ । प्रकृतिले दिएर मात्र के गर्ने ? सदुपयोग गर्न नजानेपछि दुःख पाइँदो रहेछ ।
पूर्वाधार विकासका लागि ढुंगा, गिट्टी, बालुवा, माटो अत्यधिक मात्रामा आवश्यक पर्दछ । यसको आपूर्ति चुरे भावर क्षेत्रमा खोलाहरुको जथाभावी उत्खनन गरेर गरिएको छ, जसले गर्दा चुरेमा झन् धेरै पहिरो जाने, तराईमा जमिन कटान र बगर बन्ने स्थिति बनेको छ ।
तराईबाट उत्तरतर्फ जाने सडकहरू चुरे क्षेत्र भएर जानुको अर्को विकल्प छैन । चुरेमा पहिरो गएर हरेक वर्ष धेरै धनजनको क्षति भइरहेको छ । चुरेलाई संरक्षण नगर्ने हो भने भविष्यमा झन् ठूला विपत्तिहरू निम्तिन सक्छन् । यसमा दुई मत छैन ।
चुरेको संरक्षणका निम्ति ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ मार्फत् सरकारले ठूलो धनराशी खर्च गर्दै पनि आएको छ । राष्ट्रको आवश्यकता र जनताको जिउधनको सुरक्षा र पूर्वाधार विकासका लागि आफ्नो प्राकृतिक स्रोत माटो, बालुवा, गिट्टी, ढुंगा आदिको माग आपूर्तिसँगै जोडेर एकीकृत रुपमा संरक्षण गर्ने नीति र कार्यक्रम नहुँदा जथाभावी दोहन भइरहेको छ, विनाश पनि जारी छ । अवैध कारोबार फस्टाएको छ, सीमित व्यक्तिले फाइदा लिएका छन्, जनता महंगोमा खरिद गर्न बाध्य छन्, राज्यकोषमा न्यून आम्दानी जम्मा भएको छ, समाजमा विकृति ल्याएको छ ।
लुम्बिनी प्रदेश सरकारले बुटवल उपमहानगरपालिकाको उत्तरतर्फ ४ किलोमिटर सिद्धार्थ सडकखण्ड पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा पर्ने ऐतिहासिक सिद्धबाबाको पहिरो (कुहिरे भिर) क्षेत्रमा पर्दछ । त्यहाँ बाह्रै महिना पहिरो जाने, ठूलाठूला ढुंगा खसेर धनजनको क्षति र सडक अवरुद्ध भइरहने हुँदा जोखिम मोलेर आऊजाऊ गर्नुपर्ने बाध्यता छ ।
पहिरो नियन्त्रण गर्न अहिलेसम्म गरिएका प्रयत्नहरु सफल हुन सकेका छैनन् । धेरै खर्च भयो, पहिरो जाने क्रम यथावत् छ । धेरै अध्ययन गरेर यसको विकल्पमा बेल्बास–झुम्सा र चरंगे–झुम्सा २ वटा वैकल्पिक सडक निर्माण भइरहेका छन् । संघीय सरकारले सुरुङमार्ग निर्माण गर्ने कार्यक्रम अघि बढाएको छ ।
लुम्बिनी प्रदेश योजना आयोगले अध्ययन गरेर सिद्धबाबा क्षेत्रको चुरे संरक्षणको एउटा नयाँ अवधारणा ल्याएको छ । जोखिमयुक्त पहिरो गइरहने भिरालो २१४ हेक्टर जमिनलाई काँटछाट गरेर प्राकृतिक विपत्ति, जिउधनको रक्षा र वातावरणको विनाशलाई रोक्नका निम्ति ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’ राम्रो प्रस्ताव हो । यसलाई कार्यान्वयन गर्दा अहिलेसम्म अभिशाप भएको कुहिरे भिर बरदानमा बदलिने, वन वातावरणको संरक्षणका साथै अन्य धेरै फाइदा हुने देखिएको छ, त्यो पनि शून्य लागतमा ।
सिद्धबाबा कृत्रिम पठार परियोजना अहिलेको सिद्धबाबा मन्दिर र त्यसको परिसर क्षेत्रलाई कुनै असर नगरी मन्दिरको १०० मिटर माथिबाट सुरु गरेर ५ वटा समथर मुख्य सुर्कामा काँटछाट गरिनेछ । यी मुख्य ५ तहलाई वन क्षेत्र, मनोरञ्जन क्षेत्र, शैक्षिक क्षेत्र, व्यवसायिक क्षेत्र र आवास क्षेत्रमा उपयोग हुने गरी वर्गीकरण गरिएको छ ।
एकदेखि अर्को सुर्काको बीचमा अनेकौँ खुट्किलाहरू निर्माण गरिनेछ, जसले गर्दा भविष्यमा कहिल्यै पहिरो जाने अवस्था आउने छैन । सुरु देखिनै ५ वटा मुख्य सुर्कालाई जोड्ने एउटा सडक निर्माण गरिने छ । यो सडकबाट निर्माण अवधिमा काँटछाट गर्दा निस्केको ‘माल’ ढुवानी गर्न सहयोग हुनेछ । पछि मुख्य सडकको रुपमा प्रयोग हुनेछ । यस प्रस्तावको अर्को सुन्दर पक्ष वर्षादको पानी संकलन गरेर लिफ्टमार्फत् पानीको आपूर्ति गर्ने योजना छ ।
मुख्य पाँच तहमध्ये सबैभन्दा माथि २ तह ७८.१ हेक्टर समथर जमिन खुला वन क्षेत्र रहनेछ । यो शितल हावापानी भएको प्राकृतिक मनोरम वन र वन्यजन्तु चरण क्षेत्र हुनेछ, जुन पर्यटकको आकर्षणको केन्द्र हुनेछ । यसले यस क्षेत्रको पर्यटन विकासमा ठूलो सहयोग गर्नेछ । सबैभन्दा तलको भागमा ११.३९ हेक्टर समथर जमिन आमोद प्रमोद क्षेत्र रहनेछ ।
यो क्षेत्रमा राम्रो पार्क विकास गरेर सिद्धबाबा मन्दिरमा आउने दर्शनार्थीहरू, बिहान घुम्ने, योगा ध्यान गर्नेहरूका लागि उपयुक्त स्थल र घुम्न आउने अन्य सबैलाई मनोरञ्जन स्थल हुनेछ । यसले व्यवसायिक, आवास र शैक्षिक क्षेत्रको बीचको सीमाको काम गर्नेछ । त्यसपछिको व्यवसायिक क्षेत्र १५.९८ हेक्टर समथर जमिन सिद्धार्थ राजमार्ग नजिक रहेकोले ज्यादै उपयोगी हुनेछ ।
५८.०१ हेक्टर समथर जमिन भविष्यमा शैक्षिक संस्था अनुसन्धान केन्द्र आदि खोल्नका लागि ज्यादै उपयोगी हुनेछ । आवास क्षेत्र २२.६५ हेक्टर समथर जमिन स्तरीय सुविधा सम्पन्न होटल, आवासीय कम्प्लेक्स वा अन्य व्यक्तिगत आवासीय घरहरुको रुपमा विकास गर्न सकिने प्रस्ताव गरिएको छ ।
यो परियोजना सम्पन्न गर्न पहिरो काँटछाट गर्न लागत ८३ अर्ब २ करोड, सरकारलाई रोयल्टी १३ अर्ब ३२ करोड गरी जम्मा ९६ अर्ब ३४ करोड रुपैयाँ र १० वर्ष समय लाग्ने अनुमान गरिएको छ । यो रकम पहिरो काँटछाट गर्दा निस्कने ‘माल’ बिक्री गरेर व्यवस्था हुनेछ ।
सरकारले यसका यस कामका लागि अतिरिक्त कुनै बजेट व्यवस्था गर्नुपर्ने छैन । सरकारले टेन्डर गरेर प्रतिस्पर्धामा प्राइभेट कम्पनीलाई दिए १ खर्ब १५ अर्ब रुपैयाँ प्राप्त हुनेछ । लागत खर्च घटाउँदा १८ अर्ब ८७ करोड ग्रास मार्जिन बचत हुने अनुमान गरिएको छ ।
यसरी लगानी नगरीकन सिद्धबाबाको पहिरोको स्थायी समाधान हुने, निर्माण सामग्रीको अभाव घटाउने, चुरे पहाडको संरक्षण हुने, पूर्वाधार विकास भएको नयाँ जमिन प्राप्त हुने, हाम्रो ऐतिहासिक पुरातात्विक र धार्मिक सम्पदा रामापिथेकस पार्क र सिद्धबाबा मन्दिर राम्रो बन्ने, अतिरिक्त पानी उपलब्ध हुने, पर्यटनको विकास र नयाँ मनोरञ्जन क्षेत्र प्राप्त हुने आदि फाइदै फाइदा भएको यो ‘सिद्धबाबा कृत्रिम पठार परियोजना’ छिटो सुरु होस् भन्ने कामना गर्दछु ।