बेपत्ता भनिएकी प्रदेश सांसद बिमला वली अस्पतालमा, अपहरणको आरोप झूठो – Nepal Press

बेपत्ता भनिएकी प्रदेश सांसद बिमला वली अस्पतालमा, अपहरणको आरोप झूठो

रूपन्देही । राजनीतिक अपहरणमा परेको भन्दै समाचार सार्वजनिक भएकी लुम्बिनी प्रदेश सभा सदस्य बिमला कुमारी खत्री (वली) उपचारमा रहेको खुलेको छ ।

प्रदेश सभामा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तिले प्रदेशसभा सदस्य वली उपचारमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको बताए ।

‘उहाँ हामीसँग हिजो बिहानदेखि सम्पर्कमा हुनु हुन्न तर परिवारले उपचारमा रहेको बताएका छन्,’ घर्तीमगरले भने । यसअघि बिहीबार साँझदेखि वलीसँग सम्पर्क गर्ने प्रयास असफल भएकोले उहाँ अपहरणमा परेको हुनसक्ने सचेतक घर्तीमगरले बताउँदै आएका थिए ।

दाङको क्षेत्र नं ३ (ख) बाट एमालेबाट निर्वाचित उनका पति उत्तरकुमार वलीको मृत्यु भएपछि सोही स्थानमा तत्कालीन नेकपाले उनलाई उपनिर्वाचनमार्फत प्रदेशसभा सदस्यमा पठाएको थियो । तत्कालीन नेकपाबाट निर्वाचित उनीमाथि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दाबी गर्दै आएका छन् ।

उनले पाटी विभाजनपछि भने माओवादी केन्द्र रोजेको नेकपा माओवादी केन्द्रले दाबी गरेको छ भने एमालेले उनी सूर्य चिन्हबाट लडेको र पार्टी विभाजनपछि पनि एमाले दाङको जिल्ला कमिटी बैठकमा समेत सहभागी भएको भन्दै उनलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो ।

यसअघि वैसाख ६ गते बिमला वलीलाई अपहरण गरेर माओवादी केन्द्रले लगेको आरोप नेकपा एमालेले लगाउदै आएको थियो भने यसपटक माओवादी केन्द्रले एमालेले सत्ता बचाउन सांसदहरूलाई लुकाउने प्रपन्च रचेको आरोप लगाउँदै आएको छ ।

केही दिनअघि जनता समाजवादीकी सांसद पुर्मती ढेगा मगर हराएको भन्दै जसपाले प्रहरीमा उजुरी दिएको थियो । तर, उनी केही घण्टामै सम्पर्कमा आएकी थिइन्।

लुम्बिनीमा सत्ता पक्ष र विपक्षी गठबन्धन आफ्नो बहुमत पुर्‍याउन केही सांसदलाई तान्ने योजनामा लागेका छन् । सरकारमा मन्त्री रहेका जसपाका तीन सांसदको पुन: निलम्बन भएपछि सरकार संकटमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर