ह्वीप उल्लंघन गर्ने एमाले सांसदलाई कांग्रेस र माओवादीले उपचुनाव जिताउने आश्वासन दिएको खुलासा – Nepal Press

ह्वीप उल्लंघन गर्ने एमाले सांसदलाई कांग्रेस र माओवादीले उपचुनाव जिताउने आश्वासन दिएको खुलासा

सुर्खेत । नेपाली कांग्रेस र माओवादी केन्द्रले उपचुनाव जिताउने बचन दिएपछि एमालेका तत्कालीन चारजना प्रदेशसभा सदस्यले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोरक्रस’ गरी विश्वासको मत दिएको खुलेको छ ।

सर्वोच्च अदालतले सोमबार गरेको फैसलापछि पदमुक्त भएका सांसदमध्येका एक कुर्मराज शाहीले उपचुनाव जिताउने कांग्रेस–माओवादीको प्रतिवद्धतापछि फ्लोरक्रस गरेको रहस्य खोलेका हुन् ।

‘हामीलाई अहिलेको स्थिति आउँछ भन्ने थाहा थियो’, शाहीले भने, ‘कांग्रेस र माओवादीले उपचुनाव जिताउने बचन दिएपछि फ्लोरक्रस गरेका हौं । एक हिसाबमा हामीले चुनावको तयारी थालिसक्यौं ।’

वैशाख ३ गते पार्टी ह्वीपविपरीत सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए । स्रोतका अनुसार एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निर्देशनमा चार सांसदले फ्लोसक्रस गरेका थिए ।

विश्वासको मत दिएका चारमध्ये तीन एमाले सांसदलाई मुख्यमन्त्री शाहीले मन्त्री बनाएका थिए ।

नेकपा एमालेको तर्फबाट कालिकोटबाट शाही, डोल्पाबाट नन्दसिंह बुढा, सल्यानबाट प्रकाश ज्वाला र दैलेखबाट अम्मरबहादुर थापा २०७४ सालको प्रदेशसभा निर्वाचन जितेका थिए ।

उपचुनावमा कांग्रेस र माओवादीले उम्मेदवार नै नउठाउने बचन दिएको शाहीको भनाइ छ । पदमुक्त चारै सांसद उपचुनाव जित्नेमा ढुक्क छन् । तर उनीहरु कुन पार्टीबाट उम्मेदवार बन्ने टुंगो छैन, किनकि उनीहरुलाई एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरिसकेको छ ।

चुनावको तयारी थाल्न प्रदेशसभाको निर्वाचन आयोगको आग्रह

कर्णाली प्रदेशसभामा सचिवालयले प्रत्यक्षतर्फ पाँच सिट रिक्त रहेको जानकारी गराउँदै चुनावको आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेखिसकेको छ । सरकारले चाहेको खण्डमा ढिलोमा तीन महिनापछि कर्णालीमा पाँच सिटका लागि चुनाव हुनसक्ने सभामुख राजबहादुर शाही बताउँछन् ।

‘पाँच सिट रिक्त रहेको सूचना हामीले निर्वाचन आयोगलाई दिइसकेका छौं’ उनी भन्छन्, ‘आयोगले चाहेको खण्डमा तीन महिनापछि उपचुनाव हुन सक्छ ।’

तत्कालीन अवस्थामा नेकपा माओवादीका मुख्यमन्त्री शाहीलाई सदनको विश्वास जित्न २१ मत आवश्यक थियो । एमालेका चार सांसदले मत दिएर २२ मत पुर्याएका थिए ।

अब कर्णाली प्रदेशसभामा एमाले १६ सिटसहित सबै भन्दा ठूलो दल छ भने माओवादीका १२ र कांग्रेसका ६ सांसदसहित १८ सिट भएको गठबन्धन सरकार बहुमतमा छ । राप्रपाको एक सिट छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर