अवकाशको दुई दिनअघि गोरखापत्रका प्रधानसम्पादक हटाइए
काठमाडौं । गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक श्रीधर आचार्यलाई अवकाशको एक दिन अगाडि अपमानपूर्वक वर्खास्त गरिएको छ । आचार्य सेवा अवधि पूरा गरेर शनिवार अवकाश पाउँदै थिए ।
कार्यदिनका हिसाबले आज उनको अन्तिम दिन थियो । तर गोरखापत्र संस्थानका कामचलाउ महाप्रबन्धक शिवकुमार भट्टराईले विहीवार आचार्यलाई निमित्त प्रधानसम्पादकबाट हटाएको पत्र बनाएर आफैंलाई सो पदमा नियुक्त गरेका छन् ।
सञ्चार मन्त्रालय र गोरखापत्र संस्थानको सन्चालक समितिलाई समेत थाहा नदिई निमित्त प्रधानसम्पादक आचार्यलाई अवकाशको अघिल्लो दिन कारवाही गरेर निकालेको भन्दै गोरखापत्रमा विरोध शुरु भएको छ ।
केपी ओली नेतृत्वको सरकार अदालतको परमादेशबाट हटेपछि गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजीनामा दिएका थिए । भण्डारीले राजिनामा दिएपछि तत्काल संस्थानको दैनिक प्रशासनिक काम चलाउन मन्त्रालयले शिवकुमार भट्टराईलाई निमित्त महाप्रबन्धको जिम्मा दिएको थियो ।
भट्टराईले निमित्त महाप्रबन्ध भए लगत्तै निमित्त प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतलाई हटाएका थिए । गोरखापत्रको निमित्त प्रबन्ध सम्पादकबाट मुनाको सम्पादकमा सरुवा गरेपछि बस्नेत अहिले बिदामा छन् ।