गाउँपालिकामा बेथिति : गाउँलेलाई वितरण नगरी सडाइएको १५५ बोरा चामल खाल्डोमा पुरियो
सुर्खेत । २०७६ साल चैतमा कोरोना महामारी सुरु भएसँगै कर्णालीका हरेक पालिकामा राहतका नाममा करोडौंको खाद्यान्न वितरण भए । तर नौमुले गाउँपालिकाले भने आफैले खरिद गरेको चामल वितरण नगरी सडाएको पाइएको छ ।
एक सय ५५ वोरा चामल शनिबार मुचुल्का गरी गाडेपछि यसको खुलासा भएको हो । नौमुले पालिकाले होटल नमस्तेको पछाडिको हलमा चामल थुपारेर सडाइएको छ ।
पालिकामा २०७६ चैतमा खाद्य डिपो दैलेखबाट झण्डै १५६० बोरा चामल खरिद गरिएको थियो । भारतबाट आएकाहरु, गाउँमा खाद्यान्न कम भएका र असिना पिडितलाई वितरण गर्ने भनेर खरिद गरिएको चामल गोदाममै थन्किएको थियो ।
‘उतिबेला हामीले सबैलाई चामल वितरण गरौं भनेका थियौं । यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत गणेश कोइराला र पालिकाका पदाधिकारीले मानेनन्,’ पालिकाका एक कर्मचराीले नेपालप्रेससँग भने, ‘चामल वितरणमा पनि राजनीति गरियो । यसरी लाखौंको चामल सडाउनु भन्दा गरिब किसानलाई दिएको भए खान पाउँथे ।’
गाउँपालिकाले आफुसँग भएको चामलबारे समेत अनविज्ञता देखाएको छ ।
‘म केही समय पहिले मात्रै पालिकामा आएको हो । मलाई पहिलेका कार्यकारीले केही पनि बुरवुझारथ नै गरेनन् । कहाँ के छ मलाई केही जानकारी भएन,’ प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्रबहादुर शाहीले नेपाल प्रेससँग भने, ‘केही दिन पहिले मात्रै चामल सडेको भन्ने थाहा पाएपछि हामीले पत्रकार, नागरिक समाज, प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडेका छौं ।’
पालिकाका स्थानीयले चामल खरिद प्रक्रियाभन्दा पनि वितरण प्रक्रियामा मिलेमतो रहेको हुनसक्ने बताए ।
‘उहाँहरुले चामलको ढूवानीमा समेत भ्रष्टाचार गर्नुभएको छ । एक रुपैंया प्रतिकेजी ढुवानी गर्छु भनेर भन्ने ट्रकलाई तीन रुपैंया प्रतिकेजी भुक्तानी दिनुभएको पाइएको छ,’ स्थानीय नेता शशीराम विकले भने, ‘विश्व खाद्य कार्यक्रमबाट ल्याइएका चामल पनि विक्री गरेको पाइएको छ । तर त्यो पैसा कहाँ छ पालिकाले जानकारी पनि दिएको छैन ।’
राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा पालिकाका अध्यक्ष तथा पदाधिकारीले उतिबेला चामल वितरण गरेको उनको आरोप छ ।
‘पैक, द्वारी, कालिका लगायतका स्थानमा असिनापीडितलाई चामल वितरण गर्ने भनिएको थियो । मन परेकालाई चार बोरा, नपरेकालाई एक बोरा पनि नदिएको गुनासो आएको छ,’ उनी भन्छन्, ‘राजनीतिकरुपमा अध्यक्ष भदे बुढामगरले मनोमानी गर्नु भएको हो । यसको हिसाब हामीले मागिरहेका छौं, तर दिइएको छैन ।’
अर्का एक स्थानीयले पालिकामा बेथिती अति भएको गुनासो गरे । ‘हुनेखाने र पहुँच हुनेहरुले मात्रै उतिबेला राहत पाएका थिए । हामी दलित, त्यसमाथि कमजोर र पहुँच नभएका नागरिकका माग कसैले सुनुवाई गरेन,’ उनले भने ।
पालिकाले समस्या पार्न सक्ने भन्दै नाम उल्लेख गर्न नचाहेका ति व्यक्तिले भने, ‘दलको सदस्यता हेरेर राहत बाँडिनु दुखद हो । वास्तविक समस्यामा परेकालाई पालिकाले वास्ता नै गरेन ।’ पालिका अध्यक्ष भदे बुढा मगरसँग यसबारेमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।