माग बढेपछि प्रदेश २ मा छात्रालाई साइकल वितरण रोकियो
जनकपुरधाम । प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गतको साइकल वितरण कार्यक्रम स्थगित गरिएको छ ।
विद्यालयहरुबाट मागको निवेदन धेरै आएका कारण तत्कालका लागि साइकल वितरण कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत अमन कुमार कर्णले जानकारी दिए ।
प्राप्त फाइलहरु रुजु भएपछि पुनः साइकल वितरण कार्यक्रम सुचारु हुने उनले बताए । उनका अनुसार अहिले चालु आर्थिक वर्षमा दुई चरणमा साइकल वितरण हुनेछ ।
जसमध्ये पहिलो चरणको भइसक्यो । अहिले २ सय फाइल आएकाले केहि समयका लागि साइकल वितरण स्थगित गरिएको छ ।
विद्यालयमा छात्राको पहुँच बढाउन प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल बाँड्दै आएको छ । गत दुई आर्थिक वर्षमा साढे ३१ हजार साइकल वितरण भइसकेको छ ।