जासुसी आरोपमा चीनमा एक क्यानेडेली व्यापारीलाई ११ वर्षको जेल सजाय, दुई मुलुकबीच सम्बन्ध तनावपूर्ण बन्ने संकेत
बेइजिङ । एक चिनियाँ अदालतले जासुसीको आरोपमा क्यानडाका एक व्यापारीलाई ११ वर्ष जेल सजायको फैसला सुनाएको छ । बीबीसीका अनुसार सन् २०१८ देखि हिरासतमा रहेका माइकल स्पाभोरलाई अदालतले उक्त फैसला सुनाएको हो । उनी क्यानाडेली नागरिक माइकल कोभ्रिगसँगै पक्राउ परेका थिए ।
यो फैसलापछि क्यानडा र चीनबीचको सम्बन्ध थप कठिन बन्न सक्ने अपेक्षा गरिएको छ । चीनले अमेरिकाले सुपुर्दगी चाहेको ह्वावेईकी कार्यकारी प्रमुख मङ वान्जूलाई क्यानडाबाट छुटाउने प्रयत्न गरिरहेको छ।
तर, आलोचकहरु चाहिँ चीनले स्पाभोर र कोभ्रिगलाई अपराधका लागि नभई मङलाई छुटाउने प्रयत्नका लागि गिरफ्तार गरेको दाबी गर्छन्।
बुधवार प्रकाशित एउटा विज्ञप्तिमा डान्डोङ अदालतले जासुसी र राज्यका गोप्य कुरा विदेश पुर्याएको अपराधका लागि स्पाभोरलाई ११ वर्षको जेल, ५०,००० युआन बराबरको निजी सम्पत्ति जफत र देशनिकालाको सजाय तोकेको जनाएको छ ।
तर, स्पाभोरलाई कहिले देशनिकाला गरिन्छ भनेर उल्लेख छैन । प्रायः चीनले विदेशीलाई जेल सजाय पूरा गरेपछि मात्रै देशनिकाला गर्छ। चीनका लागि क्यानडाका राजदूत डोमिनिक बार्टनले अदालती फैसलाको भत्र्सना गरेका छन् । आफूहरु पुनरावेदनमा जाने तयारीमा रहेको उनले समाचार संस्था एपीलाई जनाएका छन् । क्यानडामा मङ गिरफ्तार भएको केही दिनपछि सन् २०१८ मा स्पाभोरलाई जासुसीको आरोपमा गिरफ्तार गरिएको थियो।